रामपुरमा पहिलो पटक एकै ठाउँमा कक्षा ८ को वार्षिक उत्तरपुस्तिका परिक्षण

0
167

सुशीला रेग्मी
चैत १८,२०७९ पाल्पाः रामपुरमा पहिलो पटक कक्षा ८ को वार्षिक परिक्षाको उत्तरपुस्तिका एकै ठाउँमा बसेर परिक्षण कार्य भइरहेको छ ।

रामपुर नगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालय अन्तर्गत कक्षा ८ को नगरस्तरिय वार्षिक परिक्षाको उत्तरपुस्तिका नगरपालिकाको सभाहलमा एकै ठाउँमा बसेर परिक्षण गर्ने कार्य चलिरहेको छ । गत चैत १३ गते देखि उत्तरपुस्तिका परिक्षण कार्य सुरु गरिएको हो । विषयगत शिक्षकलाई नगरपालिका कार्यालयमा दैनिक बोलाएर उत्तरपुस्तिका परिक्षण भइरहेको नगर शिक्षा अधिकृत विकल काफ्लेले बताउनुभयो ।

“एकै ठाउँमा बसेर उत्तरपुस्तिका परिक्षण गर्ने कार्यको नयाँ अभ्यासको थालनी गरिएको छ” उहाँले भन्नुभयो,–“उत्तरपुस्तिकामा शिक्षा शाखाका कर्मचारीले मात्रै बुझ्ने गरी सङ्केत (कोड नम्बर) राखिएको छ, शिक्षा शाखाबाट विषयगत शिक्षकलाई खटाएर फरक–फरक विद्यालयको उत्तरपुस्तिका परिक्षण गर्न लगाइएको छ” ।

उत्तरपुस्तिका परिक्षण कार्य सम्पन्न गर्न अझै एक हप्ताको समय लाग्ने शिक्षा शाखाका कर्मचारी अनिता कुँवरले जानकारी दिनुभएको छ । परिक्षालाई पारदर्शी, मर्यादित र व्यवस्थित बनाउँदै शैक्षिक गुणस्तर बृद्धि गर्न नगरपालिका कार्यालयमा सामुदायिक तथा संस्थागत विद्यालय अन्तर्गत कक्षा ८ को वार्षिक परिक्षाको उत्तरपुस्तिका सङ्कलन गरेर परिक्षण कार्यको नयाँ थालनी गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपाने बताउनुहुन्छ ।

“एकै ठाउँमा बसेर उत्तरपुस्तिका जाँच गरिरहदा आफुलाई कुन विद्यालय, विद्यार्थीको परिक्षण गरे भन्ने जानकारी नहुदा अङ्क दिने क्रममा व्यक्तिगत प्रभाव नहुने र माथिल्ला कक्षाहरु जस्तैः माध्यमिक शिक्षा परिक्षा (एसईई), उच्च शिक्षा तहका परिक्षामा विद्यार्थीमा परिक्षाको भय, डर र त्रास कम हुनेछ” प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले भन्नुभयो ।

रामपुर नगरपालिकाका प्रमुख तथा शिक्षा समिति संयोजक रमणबहादुर थापाले यस्तो अभ्यासले विद्यार्थीहरुको वास्तविक नतिजा विश्लेषण गर्न सहज हुने र कमजोर विद्यार्थीहरुलाई पृष्ठपोषण प्रदान गरी माध्यमिक तहका परिक्षाहरुमा उत्कृष्ट बनाउन सघाउ पुग्ने बताउनुभएको छ ।

विहान ७ वजेदेखि साँझ ७ वजेसम्म विषयगत शिक्षकबाट परिक्षण कार्य भइरहेको छ । यसवर्षको वार्षिक परिक्षामा सामुदायिक तथा संस्थागततर्फ कक्षा ८ मा ८१५ विद्यार्थी परिक्षामा सम्मिलित रहेको बुझिएको छ ।

 

SHARE