माघे सङ्क्रान्तिलाई पाल्पाबाट साढे तीन सय क्वीण्टल तरुल निर्यात

0
530

बेझाड (पाल्पा), १ माघ ( माघे सङ्क्रान्ति पर्वलाई लक्षित गरेर यसवर्ष पाल्पाबाट करिव साढे तीन सय क्वीण्टल तरुल निर्यात भएको छ । जिल्लाको निस्दी गाउँपालिकामा करिव दुई सय क्वीण्टल, पूर्वखोला गाउँपालिकामा एक सय क्वीण्टल र अन्य स्थानमा उत्पादन भएको तरुल बजारमा निर्यात भएको कृषि ज्ञानकेन्द्र पाल्पाले जनाएको छ ।

माघे सङ्क्रान्ति पर्वलाई लक्षित गरी ठुलो परिमाणमा तरुल बाहिरी बजारमा निर्यात गर्न कृषक सफल भएका छन् । रैथाने बाली अन्र्तगत पर्ने तरुल खेतीलाई कृषकले व्यवसायिक रुपमा अझ अंगालेको पाइदैन ।

पाखो पखेरा बारीमा तरुल लगाएर कृषकले राम्रो आम्दानी गर्ने सम्भावना रहेकोले यहाँको भौगोलिक भु वनोट मिलेकाले उत्पादन अझ बृद्धि हुने कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार रैथाने बाली अन्र्तगत पर्ने तरुल, कोदो, सखरखण्ड, फापर, बोडा लगायतका बालीका लागि रैथाने बाली प्रवद्र्धन कार्यक्रम जिल्लामा रहेको छ । माघे सङ्क्रान्ति पर्वलाई तरुल बिशेष परिकारका रुपमा लिने गरिन्छ ।

निस्दी गाउँपालिकाबाट यसवर्ष करिव दुई सय क्वीण्टल तरुल काठमाण्डौँ, बुटवल लगायतका बजारमा निर्यात भएको कृषि शाखाका प्राबिधिक सहायक खिमराज कोइरालाले बताउनुभयो ।

“यसवर्ष तरुलको उत्पादन राम्रो भएको छ, कृषकले बाहिरी बजारमा निर्यात गरिरहेका छन्, तरुल बिक्रि गरेर राम्रो आम्दानी गर्न थालेका छन्” उहाँले भन्नुभयो । निस्दीको मित्याल, झिरुवास, अर्चलेको रनगुवा, गल्धा लगायतका स्थानमा तरुलको उत्पादन राम्रो भएको छ ।

एक कृषकले चार सय किलो भन्दा बढीको तरुल उत्पादन गरी बिक्रि गर्न सफल भएका छन् । मित्यालका अगुवा कृषक सन्तवीर सुनारीले माघे सङ्क्रान्ति पर्वलाई लक्षित गरी ३० हजार भन्दा बढीको तरुल बिक्रि गरी गर्नुभएको छ ।

“अहिले अघिल्लो वर्षको तुलनामा तरुल राम्रै उत्पादन भयो, बिक्रि पनि सजिलै भएको छ, अझै कतिपयको तरुल खन्नै बाकी छ” सुनारीले भन्नुभयो ।

निस्दी गाउँपालिका ५ गल्धाका व्यवसायी कृष्ण रायमाझीले मित्याल, गल्धाको पिपलभञ्ज्याङ, ढुङ्गानाबेसी, बेलडाँडा लगायतका स्थानमा उत्पादन भएको तरुल सरदरमा रु ७० मा खरिद गर्दै आएको बताउनुभयो ।

माघे सङ्क्रान्ति बाहेक अरु समय पनि कृषकले तरुल बजारमा बिक्रि गरिरहेका छन् । स्थानीय व्यापारीले घर घरबाट तरुल खरिद गरी बजारमा लैजाने व्यवस्था गरेपछि तरुल व्यवसायमा कृषकको आकर्षण बढेको छ । खेर गएका पाखो पखेरा, बारीमा तरुल लगाएर राम्रै आयआर्जन गर्न सकिने भएपनि कृषकले व्यवसायिक रुपमा खेती गरेको पाइदैन ।

माघे सङ्क्रान्तिमा घिउ, चाकु, तिलको लड्डु, तरुल खाएर मनाइन्छ । यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र आदि खाने र दान गरेमा शरीर पोषिलो हुनका साथै निरोगी हुने विश्वास छ । यसले शरीरमा आवश्यक पोषक तत्व पुरा गर्छ, जसले शरीरमा जाडोसँग लड्ने क्षमता बढाउँछ ।

यस दिनमा तिलको होम र दान गर्नाले वा खानाले अथवा प्रयोग गर्नाले त्यो व्यक्ति कहिल्यै असफल हुँदैन भन्ने धार्मिक विश्वास पनि छ । उक्त दिन नदीका दोभानमा गई शुद्ध भई सिधा दान गर्नाले पुण्य प्राप्त भई रोगब्याधिबाट मुक्त भइने जनविश्वास पनि छ । धार्मिक दृष्टिले मात्र होइन, वैज्ञानिक तवरबाट पनि माघे सङ्क्रान्तिलाई उत्तिकै महत्वपूर्ण मानिएको छ ।

SHARE