पाल्पामा चाडपर्व लक्षित यात्रु सहायता कक्ष

0
142

असोज ९,२०७९पाल्पा : पाल्पाको बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले यहाँ ‘यात्रु सहायता कक्ष’ सञ्चालन गरेको हो। नेपालीहरूको महान पर्व दशैँ, तिहार, छठका अवसरमा यात्रुलाई पर्ने असुविधाका बारेमा सुनुवाई गर्न सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

बसपार्क हुँदै लामो तथा छोटो दुरीका सवारीसाधन सञ्चालन हुने गर्छन्। यहाँ चौबीसै घण्टा प्रहरी तयारी अवस्थामा रहने छन्। यात्रुको गुनासोका आधारमा तत्काल प्रहरी परिचालन हुने उनले बताए। चाडपर्वका बेला यात्रुको भीडभाड हुने गर्छ। यहाँ अपरिचित वा नयाँ मानिसहरू पनि आउने गर्छन्।

कुनै मानिस अलपत्र परेमा, यात्रुको सामग्री चोरी भएमा, बढी भाडा लिएको अवस्था थाहा भएमा, सीट क्षमताभन्दा बढी यात्रु बोकेमा या यात्रु नै मादक पदार्थ सेवन गरेर अरुलाई असर पर्ने काम गरेमा यात्रु सहायता कक्षमा तत्काल खबर गर्न सकिने उनले बताए।

बसपार्कमै भएका कारण यात्रुले तत्काल खबर गर्न सक्नेछन्। यद्यपि नजिकै रहेका कुनै पनि प्रहरी कार्यालयमा खबर गर्नसक्ने उनले बताए।

सवारीसाधनले क्षमताभन्दा बढी यात्रु बोक्ने गर्दा दुर्घटना हुनसक्ने भएकाले यसको न्यूनीकरण गर्न ट्राफिक चेकिङलाई कडाई गरिने छ। व्यवसायीले पैसाको लोभमा चालक र सह–चालकलाई यात्रु धेरै बोक्न बाध्य पार्न सक्छन् त्यसको अवस्था बुझेर बढी यात्रु बोक्ने सवारीसाधनलाई कारबाही गरिने उनले बताए।

SHARE