पाल्पाका तीन प्रेस युनियनकर्मी सम्मानित

0
214

सुशीला रेग्मी
रामपुर (पाल्पा), २५ साउन :नेपाल प्रेस युनियन पाल्पाले तीन जना प्रेस युनियनकर्मीलाई सम्मान गरेको छ । रासस केन्द्रिय कार्यालयमा कार्यरत जीवन भण्डारी, रामपुर पाल्पाका समाचारदाता सुशीला रेग्मी र कान्तिपुर दैनिकका उपसम्पादक माधव अर्याललाई सम्मान गरेको हो ।

गत साउन ६ र ७ गते हेटौंडामा भएको नवौ महाधिवेशनमा निर्वाचित पाल्पाली पत्रकार उपाध्यक्ष द्वय भण्डारी (उपत्यका उपाध्यक्षतर्फ) र अर्याल (लुम्बिनी प्रदेशतर्फ), केन्द्रिय सदस्यमा सुशीला रेग्मीलाई बधाई शुभकामना दिदै सम्मान गरेको प्रेस युनियन शाखाका सभापति भरत शर्माले बताउनुभयो ।
केन्द्रीय उपाध्यक्षमा निर्वाचित भई सम्मानित हुनुभएका पाल्पाका भण्डारी विगत लामो समयदेखि काठमाडौंमा रहेर पत्रकारिता गर्दै आउनुभएको छ । राससको उपसम्पादक सँगै विभिन्न सञ्चार माध्यममा आबद्ध हुनुहुन्छ । केन्द्रीय उपाध्यक्षमा निर्वाचित भई सम्मानित हुनुभएका अर्याल दुई दशकदेखि पत्रकारितामा क्रियाशिल रहँदै आएका छन् । उहाँ कान्तिपुर राष्ट्रिय दैनिकका उपसम्पादक समेत हुनुहुन्छ ।

यस्तै केन्द्रीय सदस्यमा निर्वाचित भई सम्मानित हुनुभएकी रेग्मी रामपुरमा रहेर लामो समयदेखि रासस लगायतका विभिन्न संचार माध्यममा आबद्ध रही पत्रकारिता गर्दै आउनुभएको छ ।
लुम्बिनी प्रदेशका उर्जा जलश्रोत तथा सिंचाइ मन्त्री बिरबहादुर रानाले बधाई तथा शुभकामना दिनुहुदै पाल्पाबाट एकै पटक तीन जना केन्द्रिय समितिमा निर्वाचित हुनु भनेको सबैका लागि गौरव रहेको बताउनुभएको छ ।

समाज रुपान्तरणमा पत्रकारको भुमिका महत्त्वपूर्ण रहेको हुदा पत्रकारले कसैको प्रलोभनमा नपरिकन सशक्त रुपमा कलम चलाउनुपर्ने बताउनुभयो । समाजलाई सही र सत्य तथ्य सुचना संप्रेसण गर्ने कार्यमा कही नचुकेर काम गर्नुपर्ने, व्यक्ति बिशेषलाई नभई संगठनलाई मजबुत बनाएर अगाडि बढ्नुपर्ने मन्त्री रानाले बताउनुभयो । ‘पत्रकार निष्पक्ष भएर प्रस्तुत हुनुपर्ने, समाज र राष्ट्रले विश्वास गरेका पत्रकारहरु नै गट्टीको भूमिकामा देखिनु गलत रहेको बताउनुभयो ।

पत्रकार स्वतन्त्र भएकाले कुनै व्यक्तिहरुका रुपमा प्रयोग नहुन मन्त्री रानाले अनुरोध गर्नुभयो । उहाँले लोकतन्त्रको संस्कार बोकेका पत्रकारहरुले सही र सत्यतथ्य समाचारका लागि सोही ठाउँमा आफ्नो कलमलाई प्रयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका उपाध्यक्ष झपेन्द्र गहिरे, गुल्मी जिल्ला सचिव जगदीश भट्टराई, नवनिर्वाचित नेपाल प्रेस युनियनका उपाध्यक्ष द्वय जीवन भण्डारी र माधव अर्याल, केन्द्रिय सदस्य सुशीला रेग्मी लगायतले आफ्ना भनाइ राख्नुभएको छ ।

प्रेस युनियन उपसभापति पुष्करराज रेग्मीको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन प्रेस युनियन शाखा सचिव रामचन्द्र रायमाझीले गर्नुभएको हो । कार्यक्रम युनियनका सभापति भरत शर्माको अध्यक्षतामा चलेको हो ।

SHARE