खोलाले बगाएपछि निर्माण भएन सिमा स्तम्भ

0
162

दिवाकर पोख्रेल
देउखुरी, साउन २३ गते । नेपाल–भारत सिमा छुट्याउन राखिएका नेपाल–भारत सिमा स्तम्भ जिर्ण बन्दै गएका छन् । दाङको पूर्वी अर्ना नाका देखि पश्चिम भौवा नाका सम्मका केहि स्तम्भ ढलेका छन् भने कुनै मर्मत नहुँदा जिर्ण बनेका छन् । सिमा स्तम्भमध्ये जोर नम्बरका स्तम्भ भारत र बिजोर नम्बरको स्तम्भ नेपाल पक्षले मर्मत गर्नुपर्ने प्रावधान भए पनि दुवै तर्फबाट सिमा स्तम्भ मर्मत गर्न तर्फ महत्व नदिएको गुनासो स्थानिय छ ।

दाङको राजपुर गाउँपालिका वडा नं ७ भैंसाही नाका निवासी पूर्णबहादुर रोकाले आफुहरुले स्थानीय सरकार र प्रशासनलाई सिमा स्तम्भ मर्मत र मर्मत गर्न अनुरोध गरेपनि हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसरी सिमा स्तम्भ हराउनु जिर्ण हुदै जाने हो भने विस्तारै सिमा मिच्ने काम पनि हुनसक्छ यस्मा स्थानीयबाट हामीहरुले चासो दिएको हो, निर्माणको काम भएन ।’

दाङ जिल्लाभर जम्मा ७७ वटा सिमा स्तम्भ छन् त्यसमध्ये एउटा सिमा स्तम्भ खोलाले बगाएको बर्षौ वित्दा समेत निर्माण भएको छैन । बाँकी ७६ बटा स्तम्भ मध्ये १६ वटा मर्मत गर्नुपर्ने अवस्था छ । दाङको खबरी नाकाको नजिकै रहेको ६०२÷४८ नम्बर सिमा स्तम्भ छ बर्ष अघि खबरी खोलामा आएको बाढीले बगाएको हो । अहिले उक्त स्थानमा सिमा स्तम्म नै छैन, बाँकी सिमा स्तम्भहरु पनि जिर्ण र स्तम्भमा लेखिएका नम्बर मेटिएको अवस्थामा छन् । नेपाल–भारत सिमा क्षेत्रमा रहेका सिमा स्तम्भ मर्मत, अनुगमन र रेखदेख गर्ने जिम्मा नेपाल भारत दुइवटै देशको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं. २९ ज्वालामाई गण भालुवाङ्का प्रमुख बिनोद केसीले नेपाल–भारत सिमा क्षेत्रमा नेपालको तर्फबाट राखिएका सुरक्षा निकायले उक्त सिमा स्तम्भ रेखदेख गर्ने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘धेरैजसो नाका क्षेत्रमा नेपालको तर्फबाट नेपाल प्रहरी र शसस्त्र प्रहरी तैनाथ गरिएको छ, त्यहाँ रहेका सुरक्षा पोष्टलाई सिमा स्तम्भको रेखदेख गर्ने जिम्मेबारी पनि छ । दाङको सिमा क्षेत्र पूर्व पश्चिम ८३ किलोमिटर दुरी छ । जहाँ ७७ बटा सिमा स्तम्भ मध्ये ३७ वटा मुख्य र ४० वटा सहायक सिमा स्तम्भ छन् । जसमा सिमा सुरक्षाको लागि शसस्त्र प्रहरीले पाँचवटा बोर्डर आउट पोस्ट (बिओपी) आठबटा फरवार्ड बेस (एफओबी) राखेको छ । दाङले प्रत्यक्ष निगरानी गर्ने गरी ७७ बटा सिमा स्तम्भ मध्ये ३७ वटा मुख्य र ४० वटा सहायक सिमा स्तम्भ छन् ।

दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सिमास्तम्भको बारेमा आफु जानकार रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, नेपाल–भारत सिमा क्षेत्रमै पुगेर स्तम्भहरुको स्थलगत निरिक्षण गर्दा एकबटा सिमा स्तम्भ निर्माण नै गर्नुपर्ने अबस्था छ, १६ वटाको सामान्य मर्मत गरे पुग्छ ।’ सिमा स्तम्भ निर्माण गर्नेका लागि आफुहरुको तहबाट भन्दा माथिल्लो तहबाटै कुटनितिक पहलबाट गर्नुपर्ने भएकाले केही ढिला भएको भनाई उहाँको छ । नेपाल र भारत पक्षका गरी दुइदेशका प्राविधिकको प्रत्यक्ष सहभागिता र सर्बेबाट मात्रै सिमा स्तम्भ राख्नुपर्ने भएकाले पनि लामो समयसम्म सिमा स्तम्भ राख्न नसकीएको सुरक्षा निकायको भनाइ छ ।

SHARE