गुल्मीमा ६७५ रोपनीमा चक्लाबन्दी खेती

0
458

असार २३ ,२०७९ गुल्मीः गुल्मीमा ६७५ रोपनी क्षेत्रफलमा चक्लाबन्दी खेती सुरु गरिएको छ ।

जिल्लाका विभिन्न स्थानीय तहमा गरी कूल ३५ हेक्टर अर्थात ६७५ रोपनी जग्गामा चक्लाबन्दी खेती गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना , परियोजना कार्यन्वयन इकाई गुल्मीका प्रमुख श्रीकृष्ण न्यौपानेले जानकारी दिए ।

न्यौपानेका अनुसार सितलबस्ती कृषक समूह कालीगण्डकीमा २०० रोपनीमा कफी ,उद्यमशिल कफी उत्पान समूह सत्यवतीमा २०० रोपनीमा कफी,खनाल सुन्तला फर्म धुर्कोटमा ७५ रोपनीमा सुन्तला, माधुरी कृषि तथा सुन्तला जात फलफूल फर्म धुर्कोटमा १०० रोपनीमा सुन्तला र प्रगतिशिल कृषक समूह धुर्कोट किसानटारीमा १०० रोपनी क्षेत्रफलमा धान र मकैको चक्लाबन्दी खेती गरिएको छ ।

कृषि यन्त्रहरुको प्रयोग गरी चक्लाबन्दी खेती गरिएको कार्यालयले जनाएको छ । यसरी चक्लाबन्दी गरी खेती गर्दा उत्पादनमा बृद्धि हुने,लागत ,समयको पनि बचत हुने र स्थानीय स्तरमै रोजगारीको अवसर पनि सृजना हुने परियोजनाका प्रमुख न्यौपानेले दाबी गरे ।

प्रत्येक चक्लाबन्दी खेती गर्ने कृषक , तथा समूहलाई कार्यालयको तर्फबाट कूल लागतको ५० प्रतिशत अर्थात १२ लाख रुपैँया उपलध गराइने छ । ५० प्रतिशत रकम कृषक वा कृषक समूहको लागत रहने कार्यालयले जनाएको छ । जसमा स्थानीय तहको पनि लगानी रहने कार्यालयले जनाएको छ ।

फलफूलको चक्लाबन्दीमा सुन्तला जातमा कलमी बिरुवाहरु लगाइएको छ भने कफीमा जालीभित्रको घरमा तयार गरिएको नर्सरीका बिरुवाहरु रोपण गरिएको कार्यालयकी नायव प्राविधिक सहायक नारायणी गाहाले जानकारी दिइन् । बिरुवाहरु स्वच्छ मान्यता प्राप्त नर्सरीहरुबाट ल्याइएकाले कुनै शंका नरहेको गाहाको दाबी छ ।
तीन हजार पाँच सय कलमी सुन्तलाका बिरुवाहरुले करिव ३ बर्षबाट उत्पादन दिन सुरु गर्ने र १८ हजार पाँच कफीका बिरुवाहरुले पाँच बर्षमा उत्पादन दिन सुरु गर्ने गाहाले बताइन् ।

गत बर्ष जिल्लाका विभिन्न स्थानीय तहमा ७ वटा चक्लाबन्दीमा खेती गरेको कार्यालयले जनाएको छ । जसमा पाँच वटामा मकै खेती, सुन्तलामा एक र कफीमा एक गरी ७ वटा चक्लाबन्दीमा खेती गरिएको थियो । गतबर्ष चक्लाबन्दीमा खेती गरिएको चक्लाबन्दीमा यस बर्ष साना सिंचाइमा कार्यालयले सहयोग गरेको गाहाको भनाई छ ।

SHARE