धान दिवस : मल अभावबीच १५ रोपनी खेतमा धान रोपाई

0
403

हुमाकान्त पोखरेल
गुल्मी, १५ असार । मलको अभाव भएपनि राष्ट्रिय धान दिवसको अवसरमा गुल्मीमा धान रोपिएको छ ।

जिल्लाको इस्मा गाउँपालिका –६ चौरासीस्थित घिमिरे तथा पशुपक्षीं धान पकेट संचालक समन्वय समितिअन्तरगतको १५ रोपनी खेतमा रोपाई गरिएको हो । सोमबार औपचारिक कार्यक्रमका बीच जिल्लास्थित विभिन्न कार्यालयका प्रमुख एवम् पालिकाका प्रमुख–उप–प्रमुखसहितको सहभागितामा धान रोपिएको हो ।

खेतमा स्थानीय जातको हंशराज धान लगाइएको छ । किसानले धान रोपेपनि मलको भने अभाव रहेको छ । किसानले बीनामल खेतमा धान रोपेका हुन् । फर्म संचालक कृष्ण बहादुर थापाले सरकारले मल नदिएर आफुहरुजस्ता किसानहरुमाथि अन्याय गरेको बताए । ‘मल नआएपछि उत्पादन घट्ने अनुमान छ ।’ उनले भने, ‘सरकारले समयमै मल नल्याउदा हामीहरुलाई मर्का परेको छ ।’ विगतका बर्षमा ५० मुरीसम्म धान फल्ने गरेकोमा यसपालि भने उत्पादन घट्न सक्ने थापाले बताए ।

त्यसका साथै उनले किसानलाई अनुदान दिदाँ मिहिनेत गर्नेलाई मात्र अनुदान दिनुपर्ने बताए । अर्का किसान कृष्ण प्रसाद घिमिरेले पनि मल नहुँदा धान कृषकहरु मर्कामा परेको बताए । ‘डिएपी मल भएपनि युरिया मल आएको छैन ।’ उनले भने, ‘मल नै नभएपछि धेरै उत्पादनको के आश गर्नु ?’ उनले सकेसम्म छिटो मल ल्याएर किसानलाई राहत दिनुपर्ने धारणा राखे । धान उत्पादनमा बृद्धि गर्नको लागि दिवस औपचारिकतामा सिमित नभएर सरकार किसानमुखी हुनुपर्ने बताए ।

बीउ हाम्रो पहुँचमा छैन
कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले युरिया मल आफुहरको पहुँचमा नभएको नभए । सरकारले ल्याउनुपर्ने मल नल्याएको र आफुहरुले ल्याउन नसक्ने स्वीकार गरे । ‘सरकारले जि टु जि प्रक्रियाबाट ल्याउने भनेको मल अझै आएको छैन, हाम्रो देशमा मल उत्पादन गर्ने कारखाना नै छैन ।’ उनले भने, ‘सरकारले नल्याउनेबेलासम्म हामीले मल आउने मितिबारे केही भन्न सकिन्न ।’

जैविक मल उत्पादन गरौँ : पालिका
धुर्कोट गाउँपालिकाका प्रमुख भुपाल पोखरेलले रासायनिक मलको विकल्पमा जैविक मल प्रयोग गर्नुपर्ने बताए । संघीय सरकारले समयमै मल नल्याएर किसान मर्कामा परेको भन्दै पोखरेलले अब त्यसको विकल्पमा जैविक मल प्रयोग गर्नुपर्ने बताए ।

‘भविष्यमा हाम्रै देशमा मल उत्पादन कारखाना त खोल्नुपर्छ ।’ उनले भने, ‘अहिलेलाई त्यसको विकल्पमा जैविक मल प्रयोग गर्नुपर्छ ।’ इस्मा गाउँपालिकाका प्रमुख भगत सिंह खड्काले संघीय सरकारले छिटोभन्दा छिटो मल ल्याएर किसानलाई वितरण गर्नुपर्ने बताए । ‘चर्चामा आइरहेको जिटुजि माध्यमबाट मल ल्याउने प्रक्रिया छिटो अगाडी बढाउनुपर्छ ।’ उनले भने, ‘विभिन्न बैठकहरुमा हामीले पनि बिषय उठाएका छौ, तर परिणाम देखिएको छैन ।’
जसले हिलो टेकेनन्
धान रोप्न गएका जिल्लाका उच्चस्तीय पदाधिकारी भने हिलो नटेकिकनै फर्केका छन् ।
जिल्ला समन्वय समिति प्रमुख दोर्ण खत्री, रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी र प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल हिलो नटेकिकनै फर्केका हुन् । कार्यक्रममा गएका धुर्कोटका अध्यक्ष भुपाल पोखरेल, इस्माका अध्यक्ष भगत सिंह खड्का, धुर्कोटकी उपाध्यक्ष सीता गिरी, इस्माकी उपाध्यक्ष पार्वती कुँवर, इस्माकी निर्वतमान उपप्रमुख बिमला खत्री, जिल्ला समन्वय समिति सदस्य विर बहादुर कार्की, सुनिता जिसी लगायतका पदाधिकारी खेतमै गएर धान रोपे । तर कोट, पाइन्टमा सजिएर गएका खत्री, पन्थी र पौडेल भने खेतमै पुगेनन् । रेसुङ्गा नगरपालिकाका प्रमुख पन्थीले तम्घासमा बैठक परेकोले खेतमा नगएको प्रतिक्रिया दिए । समन्वय समिति प्रमुख खत्रीले भने हिलोमा टेकिसाध्ने नभएको नगएको बताए ।

२२ प्रतिशत खेतम धान रोपाई
कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा अहिलेसम्म २२ प्रतिशत खेतमा धान रोपिएको छ । जिल्लाको इस्मा, धुर्कोट, मुसिकोट, कालिगण्डकी लगायतका क्षेत्रमा धान रोपाई भएको ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले बताए । तर अब बर्षा भएसँगै त्यो दरमा बृद्धि हुने उनले बताए । जिल्लामा हंशराज, जडन, रामधान, खुमल ४ लगायतका धान रोपिदैँ आइएको छ ।

SHARE