ज्वालादेवी मन्दिरको ८ औँ वार्षिकोत्सवमा ज्येष्ठ नागरिकलाई सम्मान

0
199

–सुशीला रेग्मी
रामपुर (पाल्पा), २ वैशाख :ज्वालादेवी तथा बराहदेवी मन्दिर संरक्षण समिति रामपुर नगरपालिका वडा नं १० होस्दी पाल्पाले नयाँवर्ष २०७९ को उपलक्ष्यमा ८ औँ वार्षिकोत्सव कार्यक्रम गरेको छ ।

समितिका अध्यक्ष ज्ञानप्रसाद भण्डारीको अध्यक्षतामा पुजाआजा, भजनकृतनको साथमा नयाँवर्ष वार्षिकोत्सव कार्यक्रम मनाएको छ । वार्षिकोत्सवको अवसरमा ७० वर्ष माथिका ज्येष्ठ सदस्य, सहयोगदातालाई सम्मान गरिएको छ । कार्यक्रमको संचालन बिक्रम बस्नेतले गर्नुभएको हो । कार्यक्रममा श्रद्धालुभक्तजनको उल्लेख्य सहभागीता रहेको थियो ।

मन्दिरको महत्व
मन्दिर बनाउन स्थानीय आमा समुहले चौतारी बनाउने कार्यमा विसं २०६३ मा शिला फेला परेको ८६ वर्षीय शिवलाल बस्याल बताउनुहुन्छ । सो शिलालाई मन्दिर स्थापना गरी दैनिक पूजाआजा गर्दै आइरहेको उहाँले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “मन्दिरमा भाकल गरेका पुग्ने जनविश्वासले पूजाआजा गर्न आउने गर्छन्, मन्दिर परिसरमा पशु बलि दिने प्रथा रहेको छ, एक पटक आउनु भएका दर्शनार्थी अर्को पटक पनि मागेको कुरा पूरा भएपछि आउने गरेको धेरै भेटेको छु” ।

उहाँ भन्नुहुन्छ, “बृहत् पर्यटन विकासको अवधारणा बनाइएको छ, कालीगण्डकी करिडोर सडकको काम सकिन लागेको हुदा यस क्षेत्रलाई पनि धार्मिक पर्यटकिय नगरीका रुपमा विकास गरी देवघाट, लुम्बिनी, पोखरा आएका पर्यटकलाई यहाँसम्म भित्र्याउने समितिको योजना छ” ।

यहाँ ज्वालादेवी मन्दिर, मञ्चस्थल, एक वटा पौवा, चौतारी निर्माण गरिएको छ । मन्दिर वरपर फलफूल बगैँचा पनि छ । मन्दिर सहित करिव १६ रोपनी जग्गा यसको स्वामित्वमा रहेको छ ।

सो जग्गालाई सदुपयोग गर्दै यहाँ बगैचा व्यवस्थापन, ज्येष्ठ नागरिक आश्रमस्थल, चारैतिरबाट घेराबार, पूरानो बराहदेवी मन्दिरको स्तरोन्नती लगायत धार्मिक तथा पर्यटकिय क्षेत्रको विकास गर्नुपर्ने आवश्यकता रहेको छ । रामपुर नगरपालिका प्रवेश गर्ने पश्चिमी नाकामा रहेको सो मन्दिर राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको नजिकै पर्छ ।

शालिग्रामका नामले परिचित कालीगण्डकी यसैको आडैबाट बहेको हुदा बुढेसकालमा यहाँ आएर धार्मिक क्रियाकलापमा समावेश हुन ज्येष्ठ नागरिकको लागि अति उत्तम ठाउँ रहेको रामपुर उपत्यका पर्यटन विकास समिति अध्यक्ष श्यामकान्त खनालले बताउनुभयो ।
“सबैलाई पायक पर्ने स्थान, सडक सुबिधा भएको यहाँ नदीको आडैमा ज्येष्ठ नागरिक आश्रम निर्माण गरेर जीवनको उत्तराद्र्धमा यहाँ आएर बसोबास गर्र्न लायकको ठाउँ छ, यसको पूर्वाधार विकासमा जोड दिनुपर्नेछ” अध्यक्ष खनालले भन्नुभयो ।

पूरानो मन्दिर स्तरोन्नती र यो क्षेत्रको धार्मिक तथा पर्यटन विकासका निम्ति केन्द्रिय वजेटको व्यवस्थापनमा आफूले पहल गर्ने उहाँ बताउनुहुन्छ ।
प्राकृतिक रुपमा उपयुक्त स्थानमा रहेको यस क्षेत्र विकास निर्माणको अभावमा सधै ओझेलमा नै परिरहेको बताउनुहुन्छ, ६२ वर्षीय स्थानीयवासी पदमबहादुर बस्नेत ।
दीर्घकालीन गुरुयोजना बनाएर विकासमुलक कार्य अगाडी बढाउनुपर्ने र यसको पूर्वाधार विकासमा स्थानीय, प्रदेश र संघीय सरकारले वजेट व्यवस्थापनमा ध्यान दिनुपर्ने बस्नेतको भनाई छ ।

SHARE