संस्कृति संरक्षणमा मदाने गाउँपालिकाको चासो

0
395
गुल्मी , मंसिर १३ / परम्परागत रुपमा मनाईदै आएका लोक संस्कृति दिनानु दिन लोप भईरहेको अवस्थामा जिल्लामा भने एक स्थानीय सरकारले संस्कृति संरक्षण र संवद्र्धनमा चासो देखाएको छ । मदाने गाउँपालिकाले संस्कृति संरक्षणका लागि विभिन्न साँस्कृतिक कार्यक्रमहरुको आयोजना गरी संस्कृति संरक्षण र सवद्र्धनमा चासो देखाएको हो । कला संस्कृतिको संरक्षण गर्दै अगाडि बढेको गाउँपालिकाले केही दिन अघि पुर्कोटदहमा ऐतिहासिक भैलो नाँच प्रतियोगिता सञ्चालन गरेको थियो । प्रतियोगिता हेर्नको लागि जिल्लाका विभिन्न स्थानसँगै छिमेकी जिल्ला अर्घाखाँची, पाल्पा, कपिलवस्तु र प्यूठानबाट पनि दर्शकहरु आएका थिए ।

सोही अवसरमा व्यापार गर्ने उद्देश्यले पनि टाढा–टाढाबाट स्थानीय उत्पादन विक्रीका लागि ल्याइएको थियो । जसकारण संस्कृतिको संरक्षणसँगै स्थानीय वस्तुहरुको प्रवद्र्धनमा समेत टेवा पुगेको देखिन्छ । भैलो नाँच प्रतियोगितामा गाउँपालिकाभित्र रहेका ७ वटै वडाहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने मदाने १ अग्लु·ले २५ हजार हात पारेको छ । मदाने गाउँपालिका–६ पुर्कोटदहले द्वितीय स्थान हासिल गर्दै १५ हजार हात पारेको छ । भने अन्य सहभागी समूहले पाँच हजारका दरले भत्ता स्वरुप पाएका थिए । यसरी स्थानीय सरकार गठन भएपश्चात गाउँपालिकाले स्थानीय कला र संस्कृतिको संरक्षणमा विशेष जोड दिर्दै आएको सूचना अधिकारी ऋषिराम पोख्रेलले जानकारी दिए । विभिन्न ऐतिहासिक चाडपर्वहरुमा गाइने मौलिक गीत तथा नाँचको संरक्षणका लागि गाउँपालिकाले विशेष भूमिका खेलेको छ ।

पुराना लोकसंस्कृति तथा परम्परा लोप हुन लागेकाले तिनको संरक्षण, प्रवद्र्धन र विकास गर्नको लागि गाउँपालिकाले संस्कृति सम्बन्धी विभिन्न परम्परागत ऐतिहासिक साँस्कृतिक कार्यक्रमहरु गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारी बताए । उनका अनुसार गाउँपालिका संस्कृतिको संरक्षणका लागि विशेष योजना सहित अगाडि बढेको हो । वार्षिक बजेटमा नै संस्कृति संरक्षणको लागि भनेर छुट्टै शिर्षक राखिएको प्रमुख प्रशासकिय अधिकृत भण्डारीले जानकारी दिए । संस्कृति संरक्षणका लागि वार्षिक बजेटमा नै पाँच लाख छुट्याईएको छ । आधुनिकताको नाममा परम्परागत कला र संस्कृति विस्तारै हराउन थालेकाले तिनीहरुको संरक्षणका लागि नयाँ पुस्तालाई जानकारी दिने उद्देश्यले भैलो, तिजगीत, पञ्चेबाजा जस्ता प्रतियोगिता आयोजना गरिदै आएको गाउँपालिका अध्यक्ष दानबहादुर केसीले बताए । उनले यो वर्षबाट भजन कृर्तन प्रतियोगिता पनि सञ्चालन गर्ने जानकारी दिए । उनले भने ‘संस्कृतिको संरक्षण हामी सबैले गर्नुपर्छ भन्ने गाउँपालिकाको मान्यता रहेको छ ।’ गाउँपालिकामा सबैको साझा संस्कृति भएकाले यस्ता संस्कृति संरक्षणमा सबैले चासो दिन अध्यक्ष केसीले आग्रह गरे । उनले भने ‘हाम्रो गाउँपालिकामा कुनै पनि जाती विशेषका पर्वहरु छैनन् । हामी सबैका एउटै र साझा पर्वहरु तिज, दशैं र तिहार हुन् । आगामी दिनहरुमा यस्ता प्रतियोगितात्मक कार्यक्रमहरु गर्नको लागि पहिले नै मिति तोक्ने अध्यक्ष केसीले जानकारी गराए ।
कार्यक्रम स्थलमा स्थानीयस्तरमा उत्पादन गरिएका कृषि सामग्री र खाद्यन्नहरु त्यस ठाउँमा राख्दा स्थानीय कृषि सामग्रीको व्यापार हुने केसीले बताए । गाउँपालिका भित्र लुकेर रहेका प्रतिभाहरुको उजागर गर्दै संस्कृतिको जर्गेनाका लागि आफूहरुले विशेष ध्यान पुर्याएको गाउँपालिका उपाध्यक्ष सरिता खड्काले बताईन् । उनले भनिन् ‘गाउँपालिकाले संस्कृतिको जर्गेनामा पनि विशेष ध्याँन पु¥याएको छ, छिट्टै पञ्चेबाजा, भजनकृर्तन प्रतियोगिता पनि गर्दैछौँ ।’ नयाँ पुस्ताका लागि यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको
भनाई छ ।

SHARE