रामपुरमा प्रहरी कार्यालय भवन निर्माण र स्तरोन्नती सम्बन्धी छलफल

0
245

सुशीला रेग्मी
रामपुर (पाल्पा), ५ कात्तिक : ईलाका प्रहरी कार्यालय रामपुरको भवन निर्माण तथा स्तरोन्नतीका सन्दर्भमा छलफल भएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय मार्फत प्रहरी कार्यालयमा बन्ने भवनको स्थलगत अध्ययन गर्ने कार्य भएको छ ।
शुक्रवार एशियाली विकास बैंक (एडिबी) को समन्वयमा बन्ने भवनको स्थलगत अनुगमन र रामपुरका सरोकारवालासंग छलफल गरिएको छ । एडिबीले नेपालका विभिन्न दश स्थानका प्रहरी कार्यालयमा बनाउने गरी अगाडी बढेको भवनका सन्दर्भमा ईलाका प्रहरी कार्यालय रामपुरमा छलफल गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरिक्षक सन्तोष कुमार भट्टराई सहित अध्ययनमा आएको इन्जिनियर सहितको टोलीले भवन निर्माणका लागि चाहिने क्षेत्रफल तथा हालको अवस्थाबारे जानकारी लिएको छ । दश स्थानमा अनुगमन अध्ययन गरी उपयुक्त ठाउँ छनौट पश्चात् तीन स्थानमा भवन बन्नेछन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरिक्षक भट्टराई सहित आएको इन्जिनियरको टोलीले कम्तिमा भवन निर्माणको आधार तथा जग्गा र चौकिल्लाबारे अध्ययन गरेको छ । एडीबीका प्रतिनिधि टोलीले पहिलो चरणको यो अध्ययनको रिपोर्ट एडीबीमा बुझाउने बताएको छ ।
पाल्पा प्रहरी प्रमुख सहितको प्रतिनिधि टोलीलाई स्थानीय नागरिकका तर्फबाट सहभागी यहाँका नागरिक, बुद्धिजीवी, समाजसेवीले ईलाका प्रहरी कार्यालय रामपुरको सेवा क्षेत्र सुरक्षाको हिसावले चुनौती र बढ्दो जनघनत्व भएकाले भवन अनिवार्य आवश्यक रहेको, डिएसपीको दरबन्दी र मुद्धा दर्ता लगायतका काम रामपुरबाट हुने गरी व्यवस्थाका लागि माग गरेका छन् ।
ईलाका प्रहरी कार्यालयमा प्रहरी निरिक्षकको दरबन्दी रहेको रामपुरमा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरिक्षक सन्तोष कुमार भट्टराई समक्ष नागरिकले यहाँको शान्ति सु व्यवस्था अमनचयन कायम गर्नका लागि प्रहरी कार्यालयको स्तरोन्नतीको माग गरेका हुन् ।

छलफलका क्रममा पाल्पाका प्रहरी उपरिक्षक भट्टराईले जिल्लामा पुग्ने धेरै मुद्धाहरु रामपुर क्षेत्रको भएकाले यहाँका जनताको सेवाका लागि थप जनशक्ति सहितको पुर्वाधार आवश्यक रहेको बताउनुभयो ।
प्रहरी उपरिक्षक भट्टराईले आफू पाल्पा आएदेखि मुद्धा र क्षेत्रको हिसावले रामपुरमा संरचना थपको लागि पहल भइरहेको बताउनुहुदै सुरक्षाको हिसावले पनि रामपुरमा भवन र जनशक्ति आवश्यक रहेको बताउनुभएको छ । ईलाका प्रहरी कार्यालय रामपुरको आफ्नै नाममा २३ रोपनी जग्गा रहेको छ ।
छलफलमा नगरपालिकाका नगर उप्रमुख बिष्णुदेवी घिमिरे आचार्य, रामपुर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष हिमाल मल्ल, सल्लाहकार तथा नेपाली कांग्रेसका जिल्ला उपसभापति देवराज ढकाल, नेपाली कांग्रेसका नगर सभापति नेत्रप्रसाद भट्टराई, नेकपा एकीकृत समाजवादीका सल्लाहकार लेखनाथ पोखरेल, नेकपा माओवादी केन्द्रका कमलराज भट्टराई, नेपाल महिला संघ क्षेत्रीय सभापति विष्णुमाया ढकाल, नमस्ते रामपुर यातायात प्रालीका अध्यक्ष राजन पोखरेल लगायतका विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले रामपुरमा जनघत्व बढ्दै गरेको अवस्थामा विभिन्न अपराधिक क्रियाकलाय, हिंसाका घटना बढ्दै गरेकाले पनि डिएसपी सहितको दरबन्दी रामपुरको लागि तत्काल आवश्यक परेको बताउनुहुदै त्यसको लागि आवश्यक संरचना तयार पार्न स्थानीय सरकार तयार रहेको बताउनुभएको छ ।
ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भिमबहादुर कार्कीले पूरानो जिर्ण मन्दिरमा बसेर सेवा दिनु परेको बताउनुभयो । नयाँ भवन निर्माण भएमा नागरिकलाई सहज रुपमा सेवा दिन पाइनेछ । प्रहरीमा आएका विभिन्न मुद्धा तथा घटनाको अध्ययन अनुसन्धान गर्न पुरानो र जिर्ण भवनमा बसेर सेवा दिन समस्या छ ।

SHARE