रामपुरमै पहिलो पटक खुल्यो चिल्डेन फनपार्क

0
249

सुशीला रेग्मी
रामपुर (पाल्पा), १ कात्तिक : रामपुरमै पहिलो पटक खुलेको चिल्डे«न फनपार्कमा यतिखेर सबैको आकर्षण बढेको छ । बालबालिकालाई लक्षित गरी हालैमात्र रामपुर नगरपालिका ५ स्थित बेझाड खेतमा सुरु गरिएको फनपार्क अहिले पर्यटकको गन्तव्यस्थल बन्न थालेको छ ।
यहाँ बिशेषगरी साँझपख आन्तरिक पर्यटकको भीड रहन्छ । दिनभरको कार्यालयको थकान मेट्ने, बालबालिका भुलाउने माध्यम बनेको छ । विद्यालय विदाको समय र दशैपर्व भएकाले पनि अहिले यहाँ बालबालिकाको भीड लागेको छ ।
पार्कभित्र विभिन्न प्रकारका पिङ, चिफ्लेटी, जम्पिङ्ग लगायतका एक दर्जन भन्दा बढी मनोरञ्जन, खेलकुदका सामग्री छन् । खेलकुदका लागि प्रतिव्यक्ति रु ५० र अवलोकनका निम्ति मात्रै रु २० प्रवेश शुल्क तोकिएको छ ।
करिव रु ४० लाखको लगानीमा फनपार्क सञ्चालनमा ल्याइएको हो । एक महिना अघि देखि सुरु भएको पार्कमा दैनिक दुई सय देखि पाँच सय सम्म बालबालिका आउने गरेका छन् ।
स्थानीय गोबिन्द पाण्डे र शोभा पाण्डेले यहाँको पर्यटन विकास र बालबालिकालाई मनोरञ्जन प्रदान गर्ने उद्धेश्यले पार्क सञ्चालनमा ल्याउनुभएको हो ।
रामपुरमा जनघनत्व बढ्दै गएको अवस्थामा पर्यटन विकास गर्न र यहाँको आवश्यकतालाई मध्यनजर गर्दै बालबालिकालाई लक्षित गरी फनपार्क सञ्चालनमा ल्याइएको सञ्चालक गोबिन्द पाण्डे बताउनुहुन्छ ।
“बालबालिकालाई विदाको समय घुम्ने र खेल खेल्ने ठाउँ नहुदा उनीहरुलाई दृष्टिगत गर्दै कमसेकम विभिन्न मनोरञ्जन दिन सकियो भने मानसिक विकास हुनेछ भन्ने मनसायले पार्क सञ्चालनमा ल्याइएको छ” उहाँले भन्नुभयो ।
अहिले सुरुवाती चरणमा बालबालिकालाई लक्षित गरी विभिन्न खेलजन्य मनोरञ्जनका सामग्री प्रयोगमा ल्याइएको छ भने अब युवायुवतिलाई पनि मनोरञ्जन प्रदान गर्ने खालका सामग्रीको बन्दोबस्त गर्ने उहाँको भनाई छ ।
एघार वर्ष सम्म बहराइनमा बस्नुभएका पाण्डेले विदेशको अनुभव र यहाँको प्रचुर सम्भावना देखेर पार्कको अवधारणा ल्याउनुभएको हो । बालबालिका मात्रै नभएर सबै उमेर समुहका यहाँ अवलोकनका निम्ति आउने गरेको सञ्चालक शोभा पाण्डेले बताउनुभयो ।
दशवर्ष सम्मका लागि चार रोपनी जग्गा भाडामा लिएर पार्कको पूर्वाधार तयार पारी सञ्चालनमा ल्याइएको छ । हाललाई एक वर्षको भाडा रु एक लाख २५ हजार छ ।
विद्यालय छुट्टीको समय बेला बेलामा पार्कमा आएर खेल खेल्दा धेरै रमाईलो लागेको बिधान सिग्देलले अनुभव सुनाउनुभयो ।
रामपुरमा पहिलो पटक बालबालिकालाई लक्षित गरी सञ्चालन गरिएको फनपार्कले विदाको समय बच्चाबच्ची भुलाउने माध्यम बनेको बताउनुुहुन्छ, स्थानीयवासी इन्द्रराज सिग्देल ।
“विद्यालय विदाको बेला बच्चाबच्चीले घुम्न जान मन गर्ने, नजिक घुमाउने खालको मनोरञ्जनको ठाउँ नहुदा उनीहरुको रहर पुरा गर्न सकिएको थिएन, अहिले बच्चाबच्चीलाई लक्षित गरी विभिन्न मनोरञ्जन प्रदान गर्न पार्कमा ल्याउन पाइएको छ” उहाँले भन्नुभयो ।
बिशेषगरी विद्यालय विदाको समय बालबालिकाले अन्यन्त्र घुम्न जान मन गर्छन् । मनोरञ्जनकै लागि उनीहरुले भनेको समयमा बाहिर लिएर जान कहिलेकाँही अभिभावकलाई समय मिल्दैन भने कतिलाई अन्यत्र लैजान आर्थिककै समस्या हुन्छ ।
यसकारण पनि यहाँ बालबालिकालाई मनोरञ्जन दिलाउन सञ्चालन गरिएको पार्कले रामपुरको पर्यटन विकासमा ठूलो ईट्टा थप्ने रामपुर नगरपालिका ५ का वडा सदस्य विष्णुप्रसाद बस्याल बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “यो रामपुरमा अति आवश्यक पनि छ, बच्चाबच्चीको रहर पुरा गर्न अभिभावकलाई बाहिर लैजानु नपर्ने, अर्कोतर्फ रामपुरको पर्यटन विकासमा यसले महत्वपूर्ण सघाउ पुग्दछ, महिना दिन अघिमात्रै सुरु गरिएको पार्कमा दिनहुँ भीड लागिरहेको छ” ।
राम्रै धान उत्पादन हुने खेतलाई पार्क बनाइएको छ । यस पार्कमा अहिले बालबालिका मात्रै नभई सबै उमेर समुहको आकर्षण बनेको छ । बालबालिकालाई विदाको समय मनोरञ्जनका खेल सामग्री खेलाउन बुटवल, पोखरा लगायतका शहरमा लैजानुपर्ने बाध्यता टरेको छ ।
यहाँभित्र बालबालिकाका लागि विभिन्न मनोरञ्जनका खेल सामग्री, फोटो खिचाउँनका लागि विभिन्न दृश्यहरु छन् । यसले गर्दा पनि बालबालिका मात्रै नभई युवायुवती पनि फोटो खिचाउँन र अवलोकनका निम्ति पुग्ने गरेका छन् । रामपुरमै पहिलो पटक सुरुवात भएकाले पनि यसले सबैको मन तानिरहेको छ ।

SHARE