पर्यटक तान्दै राम्चे सामुदायिक वन

0
221

सुशीला रेग्मी
रामपुर (पाल्पा), ६ असोज : चारैतिर हरियाली वन जंगल, उत्तरतर्फ कालीगण्डकी नदी बहेको दृश्य । झट्ट हेर्दा काठमाण्डौँ उपत्यका जस्तो देखिने, शहरीकरणतर्फउन्मुख रामपुर उपत्यका, बजार भरिदै गरेको रामपुरको मुख्य मुटु बेझाड बजार ।

कालीगण्डकी वेशीको दृश्य एकै नजरमा देख्न सकिने बेझाड बजारको सिरानमा रहेको राम्चे सामुदायिक वन यतिबेला पर्यटक आकर्षणको केन्द्रबिन्दु बनिरहेको छ । ‘एक सामुदायिक वन एक उद्यान’ कार्यक्रम अवलम्वन गरी वनलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिएपछि अहिले यहाँ रमाउन आउने पर्यटक बढ्दैछन् ।
हरियाली वनको चिसो शितलता, चराचुरुङ्गीको मिठो गुञ्जयमान आवाज, उत्तरतिर हेर्दा सुन्दर रामपुर उपत्यका संगै कालीगण्डकी वेशीको दृश्य यहाँबाट हेर्दा मनका पिडा, दुःख नै भुलाइदिने खालको प्राकृतिक सुन्दरता रहेको ललितपुर गोदावारी निवासी सुबि बराल बताउनुहुन्छ ।
पोखरा बसेर स्नातक तह प्रथम वर्षमा अध्ययन गरिरहनुभएकी बराल राम्चे वन घुम्न आउने क्रममा यहाँको प्राकृतिक सुन्दरता, वातावरण देखेर यो क्षेत्र नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्यस्थल रहेको अनुभुती गर्नुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “घुम्न भनेर काठमाण्डौँ, पोखरा लगायतका ठूला ठूला शहर बजारमा नै जानुपर्छ भन्ने छैन, यहाँ त प्रकृतीले दिएको अथाह सुन्दर वातावरण, जहाँ घण्टौँ समय यहाँको प्रकृतीसंग रमाउँदा स्वर्गीय आनन्दानुभुती हुन्छ”– उहाँले थप्नुभयो “कृत्रिम रुपमा विकास गरिएको संरचनाबाट भन्दा प्रकृतीले दिएको सुन्दरताले पर्यटकको मनलाई प्रफुल्लित पारिरहेको हुन्छ, जुन यहाँको राम्चे सामुदायिक वन एक उदारणिय बनेको छ” ।
सरकारले पर्यावरण र पर्यटन प्रवद्र्धनका लागि ‘एक सामुदायिक वन एक उद्यान’ कार्यक्रम अगाडी सारेकाले पनि सोही अनुरुप यस राम्चे सामुदायिक वनले धमाधम पर्यटकीय क्षेत्र विकासका काममा जोड दिएपछि पर्यटक बढ्दै गएका छन् ।
हाल दैनिकजसो १५० देखि २०० को हाराहारीमा आन्तरिक पर्यटक आउने गरेका छन् । कोरोनाको कहर कम भए लगत्तै पर्यटकको चहलपहल बढेको छ । बेझाड बजार देखि करिव तीन÷चारसय मिटर माथी पर्ने यस वनमा बिशेषगरी विदाका दिन र साँझपख घुम्न आउनेको बाक्लो उपस्थिती भेटिन्छ । बजारमा सामान किनमेल गर्न आउने तथा विभिन्न कामले आएका कतिपय आन्तरिक पर्यटक राम्चे वन घुमेर फर्कन्छन् ।
रामपुर नगरपालिका ५ स्थित यस वन ९७.९ हेक्टर क्षेत्रफलमा फैलिएको छ । वन क्षेत्रको पाँच हेक्टर क्षेत्रफल छुट्टाएर पर्यापर्यटनको रुपमा विकासका कामहरु भइरहेको छ ।
विसं २०५४ देखी वनभोजस्थलको रुपमा विकास गर्न थालियो । वनमा पर्यापर्यटनको उद्धेश्यले ०६५÷०६६ देखी वनभोजको रुपमा निकै चहलपहल हुदै गएपछि ०६९ मा दृश्यावलोकन स्तम्भ (भ्यु–टावर) निर्माण कार्य शुरु गरी ०७२ मा सम्पन्न भई सञ्चालनमा आएपछि पर्यटकको थप आकर्षण बढ्दै जान थाल्यो ।
रामपुर उपत्यका, स्याङ्गजाको चापाकोट, तनहुँको घिरिङ्ग क्षेत्र लगायतका विभिन्न कालीगण्डकी बेशीको उपत्यकाको दृश्यावलोकन नियाल्न यहाँ पाँच तलाको दृश्यावलोकन स्तम्भ (भ्यु–टावर) ले पर्यटक तानिरहेको छ । वनभोजस्थललाई पनि गुरुयोजना बनाएर क्रमिक रुपमा वर्षेनी पर्यापर्यटन रुपमा विकास गरिदै लगियो ।
तीन कोठाको कार्यालय भवन, रामपुर क्षेत्रमा हुने विभिन्न कार्यक्रम, वन समुहको भेला, बैठक, गोष्ठी सञ्चालन गर्नका लागि उपभोक्ता तथा विभिन्न व्यक्तिको सहयोगमा निर्मित ३५० मानिस अट्ने क्षमताको सभाहल पनि छ । जिल्ला भूक्षय तथा जलाधार नियन्त्रण कार्यालय पाल्पाको रु १० लाख सहयोगमा पानीको फोहरा निर्माण तथा पानी ट्याङ्की व्यवस्थापनको काम भएको छ ।
यहाँ पर्यटकलाई लक्षित गरी पानीको फोहरा, वनभोजस्थलको तल्लो भाग देखि दृश्यावलोकन स्तम्भ संग पुग्ने पक्की पैदलमार्ग, दैनिक चार समुह सम्म अट्ने क्षमताका छुट्टाछुट्टै वनभोजका लागि संरचना तयार छ ।
एक समुहबाट रु पाँच सय शुल्क कायम गरिएको छ भने घुम्नका लागि मात्रै आउनेलाई प्रतिव्यक्ति रु दश टिकटको व्यवस्था छ । बस, कार, भ्यान जस्ता ठूला सवारी साधनमा आउने भ्रमण टोलीलाई रु २५०, मोटरसाइक, स्कुटरमा आउने एक जनाको रु ३०, दुई जना आउनेलाई रु ५० शुल्क तोकिएको छ ।
आर्थिक वर्ष २०७६÷०७७ मा लुम्बिनी प्रदेश सरकारबाट प्राप्त रु ५० लाख वजेटबाट तीन वटा वनभोज सेड तयार, दृश्यावलोक स्तम्भ (भ्यु–टावर) सम्म पुग्न करिव १५० मिटर पक्की पर्खाल, वनभोजस्थल परिषरमा १५० मिटर पक्की पैदलमार्ग निर्माण, दृश्यावलोकन स्तम्भ (भ्यु–टावर) सम्म जाने मार्गमा फूल बगैँचा तयार पारिएको छ ।
यस्तै आ.व. २०७७÷०७८ मा लुम्बिनी प्रदेश सरकारबाट प्राप्त रु १५ लाख वजेटबाट दुई वटा बिश्रामस्थल, एक वटा झुला, सभाहल परिषरमा करिव एक सय मिटर पर्खाल, ६० मिटर पैदलमार्ग निर्माणको काम भएको वन समुहका सचिव राधिका भण्डारीले बताउनुभयो ।
उहाँका अनुसार हालसम्म यस वन क्षेत्रमा विभिन्न पर्यटकिय भौतिक संरचना निर्माणमा रु दुई करोड बराबरको रकम खर्च भएको छ । आ.व. २०७८÷०७९ का लागि लुम्बिनी प्रदेश सरकारबाट रु १० लाख रकम विनियोजन भएको समितिले जनाएको छ ।
पर्यापर्यटनका रुपमा काम भइरहेको यस वन क्षेत्रमा पर्यटकलाई लक्षित गरी बाल उद्यान, चमेना गृह, पानीपोखरी, चिडियाखाना, आधुनिक खालको दृश्यावलोकन स्तम्भ, सिमसार, फूल बगैचा निर्माण गर्ने योजना रहेको वन समुहका अध्यक्ष दयाराम गैह«े बताउनुहुन्छ ।
“विभिन्न क्षेत्रबाट पर्यटकहरु भित्रिने क्रम बढेको छ, पर्यटकलाई मध्यनजर गर्दै आयआर्जन हुने गरी विभिन्न संरचना निर्माणमा समितिले जोड दिएको छ, सामुदायिक वनमध्ये नेपालकै नमुना वन बनाउने लक्ष्य छ” उहाँले भन्नुभयो ।
यहाँ बँदेल, मृग, खरायो, कालिज, चितुवा, दुम्सी लगायतका वन्यजन्तु, चराचुरुङ्गीहरु छन् । साल, खयर, कटुस, अमला, हर्रो, बर्रो, सर्पगन्ध, कुरिलो लगायतका विभिन्न प्रजातिका बहुमुल्य वानस्पति छन् । उपभोक्ताको आवश्यकतालाई ध्यानमा राख्दै चाडपर्व तथा विभिन्न समय समयमा घाँस, दाउरा, स्याउला उपलब्ध गराइएको छ । वनसंग आबद्ध उपभोक्ताले वनबाट सुपथ मुल्यमा काठपात उपभोग गर्न पाएका छन् ।
नेपालकै सामुदायिक वनहरुमध्ये राम्चे सामुदायिक वन नमुनाको रुपमा रहेको हुदा पर्यापर्यटनको रुपमा विकास हुदै गरेको यस राम्चे वन भबिष्यमा वन स्कुलको रुपमा अगाडी बढ्ने सामुदायीक वन महासंघका केन्द्रिय सदस्य तथा वन समुहका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ बताउनुहुन्छ ।
“भौगोलिक रुपमा बजार क्षेत्रसंग जोडिएको विभिन्न वन पैदावारले भरिपूर्ण राम्चे वनको रमणीय दृश्य यहाँको पर्यापर्यटनलाई हेर्दा भोलीका दिन वन स्कुलको रुपमा विकास हुने देखिएको छ” श्रेष्ठले भन्नुभयो ।
यहाँ उपभोक्ता समूहको वस्ती परापूर्वकाल देखि नै बस्दै आएको हुदा जनसंख्या बृद्धिले गर्दा वस्ती दिनानु दिन बाक्लिदै गयो । काठ दाउरा अनियमित तरिकाले काट्दा वनको हैसियत क्रमिक रुपमा घट्न थाल्यो ।
प्राकृतिक वातावरणको संरक्षण, जैविक विविधताको स्थान कायम राख्न, अनियमित रुपमा काठ दाउरा काट्ने क्रम रोक्न वन पैदावारबाट केही आर्थिक लाभ लिने उद्धेश्यले विसं २०५१ मा तत्कालिन रामपुर गाविस वडा नं ४ (हालको रामपुर नगरपालिका वडा नं ५) का सबै उपभोक्ताको सल्लाह र निर्णयबाट वनको संरक्षण गरिदै आइएको छ ।
विसं २०१३ मा वनहरु सरकारीकरण भएपछि वन मासेर जग्गा बनाउने काम भएकाले ०४७ मा प्रजातन्त्र पुर्नस्थापना भए पश्चात नयाँ प्रजातान्त्रिक वन ऐन २०४९ तथा वन नियमावली २०५१ अनुसार सामुदायिक वन दिने भनी व्यस्था भए अनुरुप वनलाई विधिवत रुपमा समुदायमा हस्तान्तरण गरी संरक्षण र उपभोग गर्न पाउने नीतिको साथमा उपभोक्ता समुह दर्ता भएको हो ।
विसं २०३०÷०३२ देखि राम्चे वनको अवधारणा आएको हो । तत्कालिन रामपुर गाउँ पञ्चायतले राम्चे वनलाई संरक्षण गर्नुपर्छ भन्ने धारणा ल्याएर वडाको कार्यालय सहयोगी खटाएर वनको रेखदेख गर्न थालियो । विसं २०४७ मा सामुदायिक वनको रुपमा हस्तान्तरण गरिएपछि धेरै सुधार हुदै हराभरा बन्न सकेको छ ।
दर्ता भएको समयमा १९८ घरधुरी उपभोक्ता समावेश भएको पाइएको छ । पछि अन्यत्रबाट बसाइसराई गरी यस समुहमा आबद्ध छन् । वनको महत्व र आवश्यकता महशुस हुदै जादा यस वनप्रति धेरैको आकर्षण बढ्दै गयो । हाल यस वन समुहमा ३२३ घरधुरी उपभोक्ता आबद्ध छन् । वन प्रवेश गर्न चाहने वडाका स्थानीयलाई समितिले तोकेको नियम अनुसार हाल प्रति घरधुरी रु २५ हजार शुल्क तोकिएको छ ।

SHARE