कालीगण्डकीमा जलयान (पानीजहाज) संचालन गर्न सर्वे सुरु

0
329

सुशीला रेग्मी
चैत ५,२०७७ पाल्पा :कालीगण्डकी नदीमा जलयान अर्थात पानीजहाज संचालनका निम्ति सर्वे गरिन थालिएको छ ।
पाल्पाको राम्दीदेखि देवघाट सम्म जलयान संचालनका निम्ति बिहिवार छ वटा समूहले स्थलगत परिक्षण तथा सर्वे गरेको टोलीले जनाएको छ । पाल्पाको राम्दीदेखि देवघाट सम्म एक सय ३५ किलोमिटर जलयान संचालनको योजना बनाइएको छ ।
सरकारले नेपालका विभिन्न नदीमा जस्तै कालीगण्डकीमा पनि पानीजहाज संचालनका निम्ति परिक्षण गर्न सर्वे गरिएको नेपाल पानीजहाज कार्यालय काठमाडौंका निमित्त प्रमुख विपिनराज भण्डारीले जानकारी दिए । उनले अन्र्तराष्ट्रियस्तरमा संचालन हुने पानीजहाजमा नेपालको झण्डा राखेको पानीजहाज संचालन गर्ने योजना रहेको र आन्तरिक रुपमा नेपालका नदीमा पानीको बहाव अनुसारका साना खालका पानी जहाज संचालन गरिने बताए ।
कोशी नदीमा तुम्लीङटार देखि चतरासम्म, नारायणीमा देवघाटबाट तल गण्डकसम्म, कालीनदीमा राम्दीदेखी देवघाट सम्म तथा कर्णाली नदीमा जहाज संचालनका निम्ति सर्वेको काम गरिएको नेपाल पानी जहाज कार्यालय काठमाण्डौंका निमिक्त प्रमुख भण्डारीको भनाई छ ।
जलश्रोतविद् अनुप खनालले नदीमा पानीको सतहलाई हेर्दा पानीजहाज संचालनका निम्ति सम्भव रहेको बताए । जलश्रोतविद् खनालले कालीगण्डकी नदीमा नेपालमै पहिलो पटक अत्याधुनिक मेसिनबाट पानीको गहिराई नाप गरिएको, केही ठाउँमा गहिराई नपुग्ने तथा छेउछाउका ढुङगा हटाउनुपर्ने ठाउँमा हटाउने र अन्र्तराष्ट्रियस्तरमा भएका प्रयासलाई प्रयोग गरी तयार गरेको प्रतिवेदन सरकारलाई बुझाउने जानकारी दिए ।
छ वटा टोलीले राम्दी देखि देवघाटसम्म कालीगण्डकी नदीका विभिन्न भागमा परिक्षण गर्दैछ । विसं २०४०÷०४१ सालतिर पानीको अनुमानित आँकलनबाट पनि संचालन भएको जलयान पनि त्यो समयमा कालीगण्डकी नदीमा सफल भएकोले अहिले प्रविधिको प्रयोगबाट सुरक्षित हिसावले नाप जाँच परिक्षण गरिएको टोलीले जानकारी दिएको छ ।
आफ्नो क्षेत्रमा राष्ट्रिय गौरवको योजनाका रुपमा कालीगण्डकीमा पानी जहाजको अवधारणा अघि सारिएको संघिय सांसद दलबहादुर रानाले बताए । उनले कालीनदीको किनारै किनार करिडोर तथा कालीगण्डकीमा पानी जहाज संचालन पश्चात छिमेकी देश भारतसम्म रामपुर चापाकोट लगायत विभिन्न स्थानमा उत्पादित सामानलाई बिक्री वितरण लगायत सामान आयात निर्यातमा समेत सहज हुने सांसद रानाको भनाई छ ।
नेपालकै एकमात्र शालिग्राम पाइने कालीगण्डकी नदीलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न पानीजहाज अर्थात् जलयान संचालन गरेर प्रशस्त आयस्रोत लिन सकिने रामपुरका समाजसेवी राजुप्रसाद श्रेष्ठ बताउँछन् । पानीजहाज संचालन कार्य सुरु भएपछि गण्डकी वारिपारीका स्थानीयले धेरै फाइदा लिन सकिने हुदा सफल परिक्षण पश्चात् व्यवसायीक रुपमा जलयान संचालन गर्न सम्बन्धित निकाय अग्रसर भएर लाग्नुपर्ने श्रेष्ठको भनाई छ ।
पानीजहाज संचालनका सम्बन्धमा नेपाल पानीजहाज कार्यालय काठमाडौंको टोलीले रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलासंग पनि नगरपालिकाको कार्यालयमा छलफल गरेको थियो ।

SHARE