सुशीला रेग्मी
रामपुर (पाल्पा), १० पुस : कालीगण्डकीको किनारमा रहेको गण्डकीवेशीकै पुरानो धार्मिक धरोहर ‘रमणेश्वरधाम’ लाई धार्मिक तथा पर्यटकिय क्षेत्रको रुपमा विकास गरिदैछ ।
रम्भा गाउँपालिका वडा नं १ टोकलक स्थित उत्तरतिर कालीगण्डकी, चारैतिर हरियाली वनजंगल, दक्षिणमा कालीगण्डकीले घेरिएको रमणेश्वरधामको धार्मिक पर्यटकिय विकासका लागि समुदायको सहभागीतामा पूर्वाधार विकासका काम भइरहेका छन् ।
आजभन्दा करिव दुई सताब्दि बढी ईतिहास बोकेको रमणेश्वरधाम लामो समय सम्म संरक्षण नहुदा ओझेलमा रहीरह्यो । यस धाम धार्मिक तथा पर्यटकिय क्षेत्रको प्रचुर सम्भावना बोकेको छ । यो गण्डकीवेशीकै पुरानो धार्मिक धरोहर पनि हो ।
समुदायको पहलमा मन्दिरको विकासका लागि बिगत पन्ध्र वर्ष देखि समिति गठन गरी धार्मिक तथा पर्यटन विकासका कामहरु भइरहेको मन्दिर व्यवस्थापन समितिका सचिव नारायणप्रसाद भट्टराईले बताए ।
“पहिला मन्दिर संरक्षणमा कसैको पनि चासो नरहदा लामो समय सम्म यस धार्मिक क्षेत्र अलपत्र अवस्थामा रहीरह्यो, समुदायको पहलमा समिति निर्माण भएपछि पन्ध्रवर्ष यता विकासका कामहरु क्रमिक रुपमा वर्षेनी भइरहेका छन्” उनले भने ।
विसं १८२४ मा स्थानीय स्वर्गीय पण्डित इन्दिरा रमण पन्तले शिखर शैलीमा महादेवको मन्दिर निर्माण गरेका हुन् । उनले निर्माण गरेको मन्दिरमा हाल नियमित पुजाआजा भइरहेका छन् ।
तत्कालिन समयमा कालीगण्डकीको किनार देखि टापु आकारमा माथी (उच्च भागमा) रहेको यस क्षेत्रको वरिपरी गाईपालन र गौ चरन रहेको थियो । त्यस समयमा एक गाईले टापुको माथिल्लो भागमा गएर दिनहुँ दुध चढाउने गरेको देखेपछि स्वर्गीय पण्डित ईन्दिरा रमणले तत्कालिन समयमा काठमाण्डौँबाट कालीगढ ल्याएर मन्दिर निर्माण गरेका थिए ।
मन्दिरको नाममा ८२ रोपनी जग्गा रहेको छ । हाल जिर्ण रहेको महादेवको मन्दिर पुनः निर्माण, मन्दिर सम्म पुग्ने सडक, मन्दिर वरपरको भाग घेराबार, शौचालय, खानेपानी व्यवस्थापनका कामहरु भएका छन् ।
पुरानो धार्मिक महिमा बोकेको मन्दिर कसैको संरक्षण र सहयोग नपाउँदा ओझेलमा परेकाले यसको संरक्षणमा सबैको दायित्व रहनुपर्ने स्थानीय जगन्नाथ भण्डारीले बताए ।
यहाँ हरेक दिन नित्य पुजा, शिवरात्री, वैशाख र साउनको सोमवार बिशेष मेला लाग्ने गर्दछ । यस क्षेत्रको पूर्वाधार विकासमा सघाउ पु¥याउन गतवर्ष समुदायको पहलमा श्रीमद्भागवत देवी महायज्ञ लगाएर करिव १९ लाख रकम सङ्कलन गरिएको छ ।
प्रदेश सरकारबाट प्राप्त भएको रु ५० लाख वजेटले मन्दिर घेराबार गर्ने काम भएको छ । लुम्बिनी र पोखरा घुम्न आएका पर्यटकलाई यहाँ ल्याउने गरी धार्मिक पर्यटन प्रवद्र्धन गरिदैछ । रमणेश्वरधाम देखि करिव एक सय मिटर तल मन्दिर जाने भागको प्रवेश सडकमा स्थानीय महिला समुहको अग्रसरतामा दुर्गामाताको मन्दिर समेत बनाइएको छ ।
यस क्षेत्रमा योगध्यान कुटी, नदीकिनारमा वनभोजस्थल, भजनकृतन भवन, एक सय आठ शिवालिंग, गरिव दुखीको लागि आवास निर्माण, प्रवेशद्धार निर्माण, पाँच तलाको भ्युटावर, मन्दिरदेखि कालीगण्डकी सम्म पुग्ने सिढी निर्माण गर्ने योजना रहेको छ ।
धार्मिक हिसाबले ठुलो महत्व र कालीगण्डकीवेशीकै पुरानो धार्मिक तीर्थस्थल रहेपनि प्रचार प्रसार र संरक्षण नभएकाले पूर्वाधार विकासमा सधै पछाडी परिरहेको स्थानीय महिला देवका अधिकारीको भनाइ छ ।
यस क्षेत्रमा पाल्पा, स्याङ्गजाका भक्तजनहरु दर्शनका लागि आउने गर्छन् । प्राकृतिक रुपमा सुन्दर र धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेको यस धार्मिक क्षेत्रलाई गुरुयोजना बनाएर विकास गरेको खण्डमा धार्मिक पर्यटक भित्र्याउन सकिन्छ ।
साथै रमणेश्वरधामका अलवा कालीगण्डकी नदी किनारमा रामनदीधाम, रिडिधाम, लक्ष्मीनारायणधाम, सिद्धबाबा मन्दिर, तातोपानीधाम, रामघाट, बालीघाट, घुमारीघाट, देवघाट लगायतका महत्वपूर्ण धार्मिक तीर्थस्थल रहेका छन् ।