पाल्पामा तिहारको रौनक छैन , ‘सङ्क्रमित परिवार भन्छन्, टिका लगाउँने कि नलगाउने अन्यौलमा छौँ’

0
501

सुशीला रेग्मी

रामपुर (पाल्पा), ३० कात्तिक :दाजुभाई र दिदिबहिनी बीचको सम्बन्ध प्रगाढ बनाउने पर्वका रुपमा तिहार अर्थात् भाईटिकाको चहलपहल नहुदा गाउँघर प्राय सुनसान जस्तै देखिन्छ । हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने गरिन्छ ।

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मका पाँच दिन सम्म मनाइने भएकाले यसलाई यमपञ्चक भन्ने गरिन्छ । तर यस पटक भने विश्वभर नै प्रभावित बनाएको कोरोना भाइरस सङ्क्रमणकोबढ्दो जोखिमका कारण गाउँघरमा तिहारको रौनकता भने खासै देखिदैन ।

कोरोना भाइरस सङ्क्रमणका कारण कतिपयका परिवारका सदस्यले ज्यान गुमाइसकेका छन् भने केही अस्पतालको भेण्टिलेटर तथा आइसोलेशनमा उपचाररत छन् त केही होम आइसोलेशन तथा क्वारेन्टिनमा बसेका छन् । यसले पनि परिवार भित्रका तथा छिमेकमा समेत सङ्क्रमित नभएकाहरुलाई पनि तिहारको रमझमले खासै छोएको छैन । समुदायस्तरमा कोरोनाको जोखिम बढेकाले आवतजावत पनि कमै छ । कतिपयले यसवर्ष स्वास्थ्य संवेदनशिलतालाई मध्यनजर गर्दै भाईटिका नलगाउने निर्णय पनि गरिसकेका छन् ।

यमपञ्चक सुरु भइसक्दा पनि कतिपय नागरिक टिका लगाउने कि नलगाउने भन्नेमा अलमलमा नै छन् । परिवारका सदस्य सङ्क्रमित भएर होम आइसोलेशनमा रहँदा मनमा तिहार पर्वको खासै हर्षोल्लास नभएको रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल बताउनुहुन्छ ।

“घर परिवारका सदस्य कोरोना सङ्क्रमित भएर होम आइसोलेशनमा रहदा भाईटिका लगाउने कि नलगाउने अन्यौलमा परिएको छ, यस पटक भाईटिकाको हर्षोल्लास छैन, कोरोनाबाट जोगिऔँ, अर्को पटक मनाउँला धुमधाम साथ चाडपर्व” उहाँले भन्नुभयो ।

एकै परिवारमा सङ्क्रमित मध्ये केहीले कोरोना जिति सकेका छन् भने केही आइसोलेशनमा नै रहेको हुदा पर्व मनाउन मनमा हर्षोल्लास नभएको उहाँको भनाई छ ।

कोरोनाकै कारण वर्षेनी लगाउँदै आएको टिका यस पटक भने टाढा रहेका दाजुभाई तथा दिदिबहिनी आ आफ्नै घर घरमा रहेर आफ्ना दाजुभाई, दिदिबहिनीलाई फोन, ईमेल, ईन्टरनेट, फेसबुक, सामाजिक संजालमार्फत कुराकानी गर्दै भाईटिकाको शुभकामना आदानप्रदान गरिरहेका छन् ।

दाजुभाई र दिदिबहिनी बीचको माया प्रेम र आत्मियतालाई जोड्ने पर्व तिहार पर्व यस पटक कोरोनाको महामारीको जोखिम कायमै रहेकाले बिगतका वर्षमा देश विदेशबाट गाउँघरमा आउनेको ठुलै संख्या रहन्थ्यो । गाउँमा देश तथा विदेशबाट नेपाली फर्कदा छुट्टै खालको तिहारको रौनकता हुन्थ्यो ।

यो वर्ष बाहिरबाट गाउँमा भाईटिका लगाउनै निम्ति भनेर गाउँ भित्रिनेको संख्या खासै नभएको रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले बताउनुभयो । “आत्मियता, भातृत्व, सामाजिकरणलाई जोड्ने महान् पर्व यो वर्ष कोरोनाको बढ्दो जोखिम रहेकाले सरकारले जारी गरेको आदेशलाई पालना गरी स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै पर्व मनाऔँ, कोरोनाबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ” नगर उपप्रमुख आचार्यले भन्नुभयो ।

उपप्रमुख आचार्यले दाजुभाई र दिदिबहिनी बीचको आत्मियतालाई जोड्ने पर्व भाईटिकाको अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । कोरोनाको कहरले तिहारमा लुकिछिपी पटेका पड्काउने कार्य पनि यो वर्ष छैन ।

बजारमा खासै चहलपहल छैन

अघिल्ला वर्षमा तिहारका लागि पाल्पाका विभिन्न बजारमा सामान किनमेल गर्नेको निकै घुईचो रहन्थ्यो । तिहारमा दिदिबहिनीले दाजुभाईलाई टिका लगाइदिएपछि बिशेष गरी उपहार स्वरुप टोपी लगायतका विभिन्न उपहार किन्नेको फेन्सी पसलमा भीडभाड हुन्थ्यो । कोरोनाले गर्दा तिहारका लागि उपहार किन्न आउने ग्राहक कम रहेको व्यवसायीहरु बताउँछन् । टिका लगाइदिएपछि दाजुभाईलाई टोपी लगायतका विभिन्न उपहार दिदिबहिनीले दिने र दाजुभाईले दिदिबहिनीलाई नगद तथा उपहार दिने चलन छ । तिहारका लागि उपहार किन्ने ग्राहकको भिडले व्यापारीलाई भने बिगतका वर्षमा व्यापार गर्न हम्मे हम्मे हुन्थ्यो । अघिल्ला वर्षमा टाढा टाढाबाट पनि बजारमा सामान किनमेल गर्न मात्र पुग्दथे भने अहिले एक दुई काम बिशेषले मात्र पुगेका छन् । टाढाका ग्राहक बजारमा नआउँदा व्यापारमा कमी आएको व्यवसायीको गुनासो छ ।

तिहार अर्थात् भाईटिकाको महत्व

तिहार पर्व दाजुभाई दिहीबहिनीबीच आत्मीयताको पर्व हो । दुखःसुख साटासाट गर्ने अवसर हो । वर्र्ष दिनसम्म आ—आफ्नो काममा ब्यस्त आफन्तलाई चाडपर्वले भेटघाट गराउँदछ । किम्बदन्तीअनुसार सूर्यका छोराछोरी यमराज तथा यमुना दाजुबहिनी हुन् । यमुनाले दाजुलाई केही समय कामबाट विश्राम लिन आफूकहाँ आउन अनुरोध गरेकीले यमराज कार्तिक कृष्ण त्रयोदशीका दिन बहिनीकहाँ गए । बहिनीले दाजुको खुब सेवा गरिन् । यमराज यमुनाकहाँ कार्तिक कृष्ण चतुर्दशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन बसे । यसैलाई आधार मानेर तिहार मनाउन थालिएको हो ।

तिहारका पाँचै दिन उत्तिकै महत्वपूर्ण हुने भए पनि लक्ष्मीपूजाको दिनदेखि यो पर्व विशेष हर्षोल्लासपूर्वक मनाउने चलन छ । कात्तिक शुक्ल द्धित्तियाका दिन दिदिबहिनीले दाजुभाईलाई सप्तरंगी टिका निधारमा लगाएर चिरायुको कामना गरी यो वर्ष मनाइन्छ । खुशी, समृद्धि, शान्ति, बैभवको संकेत दिने भएका कारण निधारमा सप्तरंगी टिका लगाइने प्रचलन रहेको बालव्यास पण्डित नारायण न्यौपानेले बताउनुभयो । यमपञ्चक अन्र्तगत काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन र भाइ पुजा गरिन्छ । तिहारले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्ध बनाउँछ भने अर्काेतिर दाजुभाई तथा दिदीबहिनी बीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई प्रगाढ बनाउने पर्वका रुपमा लिइन्छ ।

कोरोनाले झिनियाँको व्यापारमा असर

हिन्दु नेपालीहरुको दोस्रो महान् चाड तिहार पर्वका अवसरमा झिनियाँ रोटीलाई बिशेष परिकारका रुपमा लिइने गरिन्छ । पछिल्लो समय तिहारमा झिनियाँ रोटीको प्रयोग बढ्न थालेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण झिनियाँ व्यवसायमा पनि उतारचढाव आएको छ । अघिल्ला वर्षको तुलनामा व्यापारमा कमी आएको पाल्पा रामपुरका व्यवसायी रुद्रनारायण श्रेष्ठ बताउनुहुन्छ ।

“अघिल्लो वर्षमा ग्राहकहरु तिहारको रौनक सुरु भएपछि झिनियाँ लिन दिनुस् दिनुस् भन्दै आउँथे बिक्रि गर्न भ्याईनभ्याई हुन्थ्यो, अहिले ग्राहक देखेपछि लैजानुस् लैजानुस् भनेर हामीले अनुरोध गर्नुपर्ने अवस्था छ” उहाँले भन्नुभयो ।

उहाँले लामो समय देखि रामपुरमा झिनियाँ व्यवसाय गर्दै आउनुभएको छ । गतवर्ष तिहारमा मात्रै रु एक लाख ५० हजार बराबरको झिनियाँबाट कमाई गर्नुभएको छ । पूर्वी पाल्पामा पहिलो व्यवसायका रुपमा झिनियाँको व्यवसाय सुरु गर्नुभएका श्रेष्ठको व्यवसाय देखेर अहिले अन्य व्यक्तिले पनि झिनियाँ बनाउन थालेका छन् ।

चामलको पिठोलाई पकाएर मेसिनको सहायताले झिनियाँ बनाई सुकाएर तयार गर्ने गरिन्छ । घरमै बसेर घरायसी कामकाजका अलवा झिनियाँ बनाएर आयस्रोत बढाउन सकिने लक्ष्मी श्रेष्ठ बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “काम दुख होइन, घरभित्रै बसेर झिनियाँ बनाएर राम्रै संग अघिल्ला वर्षमा कमाई गरियो, अरु संग निर्भर रहनुपनि परेको थिएन, तर यसवर्ष झिनियाँ खरिद गर्ने ग्राहक कम आउँदा व्यापार गर्न अलि समस्या छ” ।

बिशेषगरी महिलाहरुले झिनियाँ रोटी बनाएर आफ्नो आयस्रोत बलियो बनाउने गरेका छन् । धेरै लगानी र मेहनत गर्न नपर्ने, घरायसी कामका अलवा झिनियाँ बनाएर राम्रै कमाई हुने भएपछि पछिल्लो समय झिनियाँ व्यवसायमा महिलाको आकर्षण बढ्दो छ ।

यस व्यवसायमा महिलाको आकर्षण ह्वात्तै बढेका बेला कोरोनाको कहरले बजार सहज नहुदा बिक्रिका लागि दौडधुप गर्नुपर्ने अवस्था आएको व्यवसायीको गुनासो छ ।

रामपुर क्षेत्रमा उत्पादन भएको झिनियाँ साइज अनुसार प्रति दर्जन ६० देखि ७० रुपैयाँमा बिक्रि हुने गरेको व्यापारी बताउँछन् । तिहारमा दिदिबहिनीले दाजुभाईलाई बिशेष परिकारका रुपमा झिनियाँ खुवाउने चलन रहेकाले अनिवायजसो झिनियाँ खरिद गर्ने गरेको रामपुरका स्थानीय नर्मदा राना बताउनुहुन्छ ।

बिशेषगरी पहिले पहिले तिहार पर्वका लागि मात्र बनाइने झिनियाँ हिजोआज भने अन्य समयमा पनि यसको व्यापार हुने गरेको पाइएको छ । तिहार पर्व बाहेक विवाह, ब्रतबन्ध, पुजाआजा, माघे संक्रान्ती, तीज पर्व लगायतका विभिन्न पर्व र शुभ कार्यमा पनि यसको प्रयोग हुन थालेको छ । तिहारमा दिदिबहिनीले दाजुभाईलाई टिका लगाई दिएपछि प्रसादस्वरुप झिनियाँ दिने चलन छ ।

SHARE