Thursday, June 4, 2026

पाल्पामा बस दुर्घटना, एक जनाको मृत्यु, १८ भन्दा बढी घाइतेको उद्वार

0

बैशाख १०,२०८० पाल्पा : पाल्पामा आइतबार बिहान बस दुर्घटना भएको छ।

बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु१ख ५९५६ नम्बरको बस केहीबेर अगाडि सिद्धार्थ राजमार्गअन्तर्गत जोरधारा नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए।

उनकाअनुसार एक जनाको मृत्यु भएको छ। १८ भन्दा बढी घाइतेको उद्वार गरेर अस्पताल पठाइसकिएको छ। घाइते सबैको अवस्था गम्भीर छ।
अन्यको उद्वार कार्य चलिरहेको थापाले बताए ।

पाल्पामा बस दुर्घटना, विस्तृत विवरण आउन बाँकी

0

बैशाख १०,२०८०  : पाल्पामा आइतबार बिहान बस दुर्घटना भएको छ।

बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु१ख ५९५६ नम्बरको बस  सिद्धार्थ राजमार्गअन्तर्गत जोरधारा नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए ।

घटनाबारे थप विवरण आउन बाँकी छ।

भीरमा अड्किएको अवस्थामा बस छ। यात्रु कती थिए भन्ने बारे भन्न सक्ने अवस्था छैन।

 

रोटरीको बैठकमा कर सम्बन्धी जानकारी

0

बैशाख९,२०८० रुपन्देही : रोटरी क्लव अफ बुटवलको १४ सय ५८ औं नियमित बैठक शनिबार सम्पन्न भएको छ । बैठकको एजेण्डा गेष्ट स्पीकर रहेको थियो ।

बैठकमा गेष्ट स्पीकरको रुपमा सहभागी आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख ध्रुव पोखरेलले कर प्रणाली, कर छली हुने अवस्था, राजश्व सम्बन्धी नीति, करका विभिन्न प्रकारहरुका बारेमा प्रकाश पारेका थिए ।

त्यस्तै उनले करदाता र राजश्वका कर्मचारीहरुबीच सिधा सम्पर्क स्थापित नहुँदा बेलाबेलामा उद्योगी व्यवसायी तथा अन्य करदाताहरुले बिचौलियाका कारण समस्याहरु भोग्नु परिरहेको भन्दै अव सिधा सम्पर्क स्थापित गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।

कतिपय अवस्थामा नजानेर पनि व्यवसायीहरु कर सम्बन्धी समस्यामा पर्ने गरेको र अन्जानवश पनि कर छली हुने गरेका घटनाहरु हुने गरेको भन्दै उनले यसतर्फ सबैले सचेतना अपनाउन आवश्यक रहेको बताए । उनले विदेश जाने विद्यार्थीका नाममा ठूलो कारोबार देखाउने परिपाटी पनि पछिल्ला दिनमा मौलाउँदै गएको भन्दै यसले पछि गएर स्वयं व्यक्ति नै समस्यामा पर्न सक्ने खतरा औंल्याए ।

क्लवका अध्यक्ष बोनिन पियाको अध्यक्षतामा भएको कार्यक्रममा रोटरीयनहरु कृष्ण पराजुली, टिकाराम न्यौपाने, हरि पौडेललगायतले कर सम्बन्धी विभिन्न जिज्ञासा एवं सुझाव दिएका थिए । त्यस्तै बैठकमा क्लवका सचिव लालहरि पाण्डेले अघिल्लो बैठकका निर्णयहरुबारे जानकारी गराएका थिए भने रोटरीयनहरु गोविन्द खनाल, छविन्द्र भट्टराई, विन्ध्याकेशर जोशी, संगीता अर्याललगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।

बैठकमा राष्ट्रपतिबाट विभुषित रोटरीयन र बेष्ट प्रिन्सिपल अवार्ड प्राप्त गर्न सफल दीप बोर्डिङ हाइस्कुलका प्राचार्य टिकाराम न्यौपानेलाई सम्मान गरिएको थियो ।

अब्बल बन्दै गुल्मी अस्पताल :मेनेन्जाइटिस परीक्षण र एपेडिक्सको अप्रेसन गुल्मी अस्पतालमै

0

बैशाख ९,२०८० गुल्मी गुल्मी अस्पतालको सेवा अब्बल बन्दै गएको छ । बिरामी जाँच, उपचार तथा सरसफाईँमा अस्पताल अब्बल बन्दै गएको हो ।

जिल्लामा पहिलोपटक मेनेन्जाइटिसको पहिचान तथा उपचार शुरु भएको छ भने लामो समय रोकिएको एपेण्डिसाइटिसको सल्यक्रिया हुन थालेको छ । जिल्लामै पहिलोपटक ढाडबाट पानी निकालेर मेनेन्जाइटिस रोगको पहिचान गरी उपचार शुरु भएको अस्पतालले जनाएको छ ।

इस्मा गाउँपालिका ६ की ६ महिनाकी बालिकाको मेनेन्जाइटिस पहिचान गरी उपचार भैरहेको छ । लगातार ज्वरो आउने, डायरिया र बान्ता हुने भएपछि उपचारको लागि गुल्मी अस्पताल आएकी उनलाई दिशा र रगत जाँच गर्दा दिमागमा खराबी आएको देखिएपछि मेनेन्जाइटिसको परीक्षण गरीएको बालरोग विशेषज्ञ डा. विपीन खनालले बताए । ढाडबाट पानी निकालेर मेनेन्जाइटिसको परिक्षण गरी उपचार थालिएको खनालले बताए । जिल्लामा उक्त सेवा रोग पहिचान र उपचारको लागि पाल्पा वा बुटबल जानुपर्ने अबस्था थियो ।

त्यस्तै एपेन्डिसको शल्यक्रिया समेत गुल्मी अस्पतालमै हुन थालेको छ । अस्पतालका एमडिजिपी डाक्टर नरमा छन्त्यालको समुहले गत फागुन ८ गते मालिका गाउँपालिका –३ का ४३ बर्षिय पूर्ण बहादुर घर्तीको एपेन्डिसको सफल शल्यक्रिया गरेको हो । उनलाई फागुन ७ गते भर्ना गरी ११ गते डिस्चार्ज गरिएको थियो । अब गुल्मी अस्पतालमै नियमित एपेन्डिसको शल्यक्रिया हुने डा छन्त्यालले बताइन् । ४ वर्षदेखि गुल्मी अस्पतालमा एपेण्डिक्सको अप्रेसन बन्द थियो ।

 

अस्पताललमा हाडजोर्नीको विशेषज्ञ सेवा केही महिनादेखि सञ्चालनमा छ । अस्पताल विकास समितिले एमडी तहको अध्ययन गरेका विशेषज्ञ डक्टरलाई शत प्रतिशत भत्ता उपलब्ध गराएपछि विशेषज्ञ डक्टरहरुमा उत्साह थपिएको छ । त्यसका अलाबा हाडजोर्नी विशेषज्ञलाई रेसुङ्गा नगरपालिकाले थप भत्ता उपलब्ध गराएको छ । अन्य स्थानीय तहहरुले पनि विशेषज्ञ डक्टरलाई भत्ता उपलब्ध गराउने हो भने विशेषज्ञ सेवाहरु जिल्लामै उपलब्ध गराउने वातावरण बन्ने अस्पताल विकास समितिका अध्यक्ष भरत पाण्डेयले बताए ।

अस्पतालमा बिरामीको चाप अत्यधिक भएपछि मेसु डा. राजेन्द्रबहादुर जिसीले आफै ओपिडीमा बसेर बिरामी हेर्ने गरेका छन् । यसअघि अस्पतालमा मेसुले ओपिडीका बिरामी हेर्ने चलन थिएन । तर अस्पतालमा हालै मात्र सरुवा भएर मेसुको रुपमा जिम्मेवारी सम्हालेका डा. जिसीले आफ्नो अध्ययन र जागिर नै बिरामीको उपचारका लागि भएकोले ओपिडीमा बसेर बिरामी हेर्ने गरेको उनको प्रतिक्रिया छ ।


अस्पतालमा लामो समयदेखि समस्याका रुपमा रहेको खानेपानी र सरसफाईँको समस्या समाधान पनि हुन थालेको छ । बिरामी र कुरुवाले सँधै प्रश्न गर्ने सरसफाइको समस्या समाधानका लागि अस्पतालका सरसफाईं फोकल पर्सन र विभागीय इन्चार्जहरुसँग बसेर छलफल भएको अस्पताल प्रशासनले जनाएको छ ।

अब सरसफाइँ कर्मचारी र कार्यालय सहायकहरुको ड्युटिलाई थप सहज बनाइँ सरसफाइँ व्यवस्थापनि गरिने व्यवस्थापकको भनाई छ । सरकारले गर्ने न्यूनतम सेवा मापदण्डमा गुल्मी अस्पताल यो वर्ष लुम्बिनी प्रदेशको तेस्रो स्थानमा रहेको थियो ।

गएको एक वर्षमा अस्पतालमा बिरामीलाई पहुँचका आधारमा टिकट काट्ने प्रणाली अन्त्य गर्न टोकन सिस्टम, बिरामीलाई बस्ने ठाउँको सहजताका प्रतिक्षालय, वीमा र सामाजिक सेवा लिन विरामीहरु अर्को भवनमा जाने समस्या समाधान गर्न टिकट काउण्टर नजिकै वीमा र सामाजिक सेवा इकाईको सेवा सञ्चालन गर्नेदेखि अस्पतालको रंगरोगन, सरसफाइमा ध्यान दिएको विसका समिति अध्यक्ष पाण्डेको भनाई छ । हाडजोर्र्नी, स्त्रीरोग, बालरोग लगायत विशेषज्ञ सेवा सञ्चालन, मातृ तथा शिशुको निःशुल्क औषधोपचार, आमा सुरक्षा र नवजात शिशुको परिक्षण र उपचार निःशुल्क, अस्तव्यस्त शौचालयको मर्मत तथा सरसफाईँ, कर्मचारीको विदा व्यवस्थापन लगायतका काम पनि गरेको उनको भनाई छ ।

अस्पतालमा धेरैवर्षदेखि विद्युत आपूर्र्तीको समस्याका कारण मेसिन उपकरणहरु विग्रने समस्या रहेकोले उक्त समस्या समेत समाधान भएको छ । वर्षौदेखि अस्पतलालमा खानेपानीको समस्या रहेको विषयमा आफू अध्यक्ष बनेपछि थाहा पाएको र समाधानका लागि तम्घासका उपभोक्ता समितिहरु र नगरपालिकासँग पहल गरिरहेको पाण्डेको भनाई छ । उनका अनुसार कतिपय समितिको पानी नै कम रहेको, कतिपयको अस्पतालमा पुग्न नसक्ने र कतिपयको जडान शुल्क केही महंगो भएकोले समाधानका नगरपालिकासँग आग्रह गरिएको छ । ‘अस्पतालमा बिरामीबाट उठाएको शुल्कबाट पानी जोड्ने हो, अहिले पानीका लागि लाखांै खर्च गर्ने हो भने भोलीदेखि करारका कर्मचारीले तलब खाने पैसा नहुन सक्छ त्यसैले सकेसम्म सहुलियत र सहज रुपमा पानी जोड्न छलफल गरेका छौं’उनले भने, ‘अब नगरपालिकाबाट जति चाँडै पहल हुन्छ, त्यति चाँडै खानेपानीको समस्या समाधान हुन्छ ।’

अस्पतालमा नयाँ भवन निर्माणधिन रहेको र पुरानो साँघुरो भवनबाट सेवा दिनु पर्दा केही कठीनाई रहेको छ । त्यो समस्या पनि अब केही महिनामै समाधान हुने अस्पताल प्रशासनको भनाई छ ।

पछिल्लो समयमा अस्पतालभित्रका विभिन्न विवादिक विषयहरु बाहिरीने गरेका छन् । किन विवाद बाहिरिन्छ भन्ने प्रश्नमा अध्यक्ष पाण्डेले अस्पताल सुधार हुन थालेपछि केही राजनीतिक दलहरुले आफ्ना भ्रातृसंगठन प्रयोग गरेर अस्पताल भित्रबाटै योजनाबद्ध ढंगले आन्दोलन समितिहरु गठन गर्ने, पुराना भर्ना प्रकृयाका आन्तरिक कुराहरु सार्वजनिक गर्ने काम गरेकोले अस्पताललाई विवादित बनाउने व्यक्तिहरुबारे छानविन भैरहेकोले चाँडै कारबाही गरेर अस्पताल सुधार्ने बताए ।

‘अस्पताल जस्तो ठाउँमा गुटबन्दी गर्ने, अध्यक्ष र मेसुको चाकडी गर्ने र अनावस्यक विवादित कुराहरु गर्ने, कर्मचारीलाई अनावस्यक रुपमा आन्दोलनका लागि उस्काउने, अस्पताल विवादीत बनाउने अनि आफूले अस्पतालमै आएका बिरामीलाई हात समाएर निजी मेडिकलमा लगेर औषधी बेच्ने सम्मका निकृष्ट कामगर्नेहरु समेत अस्पतालमा छन्’ उनले भने, ‘ति बिकृत व्यक्तिहरुलाई सुध्रनका लागि सुझाव दिइएको छ, सुध्रिएनन र जनतालाई दुःख दिने नियत राखेभने जनताले थाहा पाउने गरी सार्वजनिक गरिने छ ।’

गुल्मीमा आगो निभाउने क्रममा बालकको मृत्यु

0
फाइल फोटो

बैशाख ८,२०८० गुल्मीः गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–३ बर्दबास जंगलमा लागेको आगो निभाउने क्रममा एक बालकको मृत्यु भएको छ।

आगो निभाउने क्रममा १३ वर्षीय दीपक मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

आगो निभाउने क्रममा ५५ वर्षीय धनबहादुर कुँवर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । हिजोदेखि लागेको आगोका कारण दुई घर र तीन गोठ पनि पूर्णरूपमा जलेका छन् ।

पछिल्लो दुई सातादेखि गुल्मीका सामुदायिक वनमा डढेलो लागेको छ।

डढेलोले जंगल सखाप,वातावरण प्रभावित

0

दिवाकर पोख्रेल
देउखुरी, वैशाख ८ गते । दाङ देउखुरीको उत्तरी चुरे क्षेत्रको जंगलमा मंगलबार रातभर डढेलो लाग्यो ।

 

स्थानीयले सामाजीक संजालमा घरबाटै डढेलो लागेको सूचना सञ्चार गरेर नियन्त्रणको लागि सम्बन्धित निकायको ध्यानकर्षण गराए । बनमा लागेको डढेलोका कारण नजिक रहेको दक्षिणी क्षेत्रको बस्ती देउखुरी क्षेत्रको बस्तीमा बुधबार विहानै देखि धुवाँले ढाकियो । खरानी उडेर घरघरमा पुग्यो । स्वास प्रस्वासमै समस्या सिर्जना ग¥यो ।

 

लमही नगपालिका वडा नम्बर ५ को अजम्बी सामुदायिक वन,वडा नं ६,र ७ को कर्री सामुदायिक वन र वडा नम्बर ४ को चप्परखोला सामुदायिक वनको अधिकाश जंगल डढेलोका कारण सखाप भएको छ । वन क्षेत्रमा रहेको बाक्लो कर सुकेको,पातपतिङगर सुखेका कारण छोटो समयमै वन क्षेत्रमा फैलिएको बताइएको छ ।

 

डढेलोले के कती क्षेती गरायो भन्ने विवरण नभएपनि जंगलमा रहेका काठ,घाँसपात,जंगली जनावरमा प्रत्यक्ष असर गरेको सामुदायिक वनले जनाएका छन् । लमही नगरपालिका वडा नं ५को कर्री सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पवन शर्मा रिजालले सामुदयिक वनको पूर्व र पश्चिम क्षेत्रको भुभाग गरी ५० प्रतिसत जंगलमा डढलो लागेर सखाप पारेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘वनको आधा क्षेत्रफलमा डढेलो लागेको छ, डढेलो लागेपछिको क्षेतीको विवरण संकलन गर्न सकिएको छैन,प्रारारम्भिक चरणमा नियन्त्रण तर्फ केन्द्रित छौ ।’

अहिले पनि जंगल क्षेत्रमा डढेलो लागिहेको छ, नियन्त्रणको लागि प्रयास थालेपनि पूर्ण नियन्त्रणमा आउन सकेको छैन । सुरक्षा निकाय,सामुदायिक वन, डिभिजन वन कार्यालय र स्थानीयको पहलमा नियन्त्रणमा ल्याउने प्रयास गरेपनि डढेलो धेरै फैलिएको र गर्मि अध्याधिक भएका कारण समस्या भएको छ । वन क्षेत्रमा दमकल लग्न सक्ने अवस्था नभएका कारण पनि आगो नियन्त्रणमा समस्या भएको हो । दाङ देउखुरी वन डिभिजन कार्यालयका सहायक वन अधिकृत छोटेलाल चौधरीले सबैको पहलमा नियन्त्रणको प्रयास भइरहेको बताउनुभयो ।

 

देउखुरी वन डिभिजन कार्यालयले डढेलो नियन्त्रणको लागि सचेतना मुलक विभिन्न कार्यक्रम गरेपनि सार्थकता पाउन सकेको छैन । चरीचरनका लागि वनमा जाने उपभोक्ता र लुखीछिपी वन्यजन्तुको शिकार गर्नेहरुबाट वन क्षेत्रमा बर्षेनी डढेलो लाग्ने गरेको सामुदायिक वन उपभोक्ता समीतिको गुनासो छ ।

 

आर्थिक परिसूचकमा सुधार भएको छ : प्रधानमन्त्री प्रचण्ड

0
फाइल फोटो

बैशाख ४,२०८०काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठन भएयता अर्थतन्त्रका समष्टिगत परिसूचकहरूमा सुधार आएको बताउनुभएको छ ।

 

सोमबार दिउँसो सिंहदरबारमा उद्योग–वाणिज्य प्रवर्द्धन सम्वाद परिषदको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अर्थतन्त्रले अझै पनि चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको भए तापनि समष्टिगत आर्थिक परिसूचकहरूमा सुधार आएको बताउनुभयो।

 

बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, ‘वर्तमान सरकारले लिएका नीतिगत तथा अन्य सुधारात्मक उपायहरूको फलस्वरूप अर्थतन्त्रको बाह्य क्षेत्रमा क्रमशः सुधार हुँदै गइरहेको छ। वित्तीय तरलताको स्थितिमा सुधार भएको छ। विदेशी मुद्रा सञ्चिति, विप्रेषण आप्रवाह, पर्यटन लगायतका क्षेत्रमा प्रगति हुँदै जान थालेको छ। कर्जाको दर पनि विस्तारै घट्दै जान थालेको छ। समग्रमा हेर्दा समष्टिगत आर्थिक परिसूचकहरूमा राम्रो सुधार भएको छ।’

 

प्रधानमन्त्रीले ‘नयाँ जनादेशसहित गठन भएको संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रममा सेवा प्रवाह, सुशासन, विकास निर्माण एवं अर्थतन्त्रको रूपान्तरण र सुदृढीकरणका लागि नीतिगत, संरचनागत तथा कार्यगत सुधारका विषयलाई महत्त्वपूर्ण प्राथमिकताका रूपमा राखिएको’समेत बताउनुभयो।

 

स्थापना दिवसमा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग

0

बैशाख ४,२०८० रुपन्देहीः यातायात मजदुर तथा व्यवसायी भलाई कोष बुटवलले मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ ।

संस्थाको ४९ औं स्थापना दिवसको अवसरमा तिलोत्तमा ६ मोक्षधाममा अवस्थित मानव सेवा आश्रमलाई एक क्वीन्टल चामल सहित दाल, तेल, आलु प्याज लगायत खाद्यान्न र साबुन प्रदान गरिएको हो ।

 

सो अवसरमा कोषका अध्यक्ष दिनेश फुल्लेलले सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाको स्थापना दिवसमा मानवीय सेवाका लागि खाद्यान्न प्रदान गरिएको बताउनुभयो । आगामी दिनमा पनि सामाजिक कामलाई निरन्तरता दिने अध्यक्ष फुल्लेलको भनाई छ ।

 

आश्रमकी मानवता प्रवद्र्धन अभियान्ता रिया थापाले संघसंस्था र व्यक्तिको सहयोगबाट आश्रममा रहेका करिब २ सय जना महिला, पुरुष र बालबालिकाको पालनपोषण गरिएको बताउनुभयो ।

 

सो अवसरमा कोषका उपाध्यक्ष छविलाल थापाले आश्रममा रहेका महिला र बालिकालाई मिठाई वितरण गरेर आफ्नो जन्म दिन मनाउनुभयो ।

 

कोषका निवर्तमान अध्यक्ष नारायण भट्टराई, महासचिव योगबहादुर गुरुङ, कार्यालय प्रमुख ठानेश्वर बस्याल लगायतले आश्रमलाई दीगोरुपमा सञ्चालन गर्न स्थानीय, प्रदेश र संघीय सरकारले पनि सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

 

खाद्यान्न वितरणका लागि कोषका पदाधिकारी तथा कार्यसमिति सदस्यलगायत कर्मचारीसमेत मानव सेवा आश्रममा पुगेका थिए ।

सङ्घीयताको विरोध गर्नु औचित्यहीन : मुख्यमन्त्री गिरी

0

बैशाख ३,२०८० रुपन्देहीः लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले दुई कार्यकाल पनि पूरा नहुँदै सङ्घीयताको विरोध गर्नु सान्दर्भिक नहुने बताउनुभएको छ।

प्रेस चौतारी नेपाल रुपन्देहीको २४औँ वार्षिक साधारण सभाको शनिबार बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री गिरीले पर्याप्त परीक्षणबिना र कुनै आधारबिना सङ्घीयताको विरोध गर्नु उचित नभएको तर्क गर्नुभयो।

उहाँले सङ्घीयताको विरोध गर्नु औचित्यहीन भएको बताउनुभयो। उहाँले भन्नुभयो– “मुलुकले सङ्घीयताको अभ्यास गर्न थालेको बल्ल छ वर्ष हुँदैछ, यो शासन व्यवस्थाले दुई कार्यकाल पनि पूरा गरेको छैन, सङ्घीयताको पर्याप्त परीक्षण नै भइनसकेकोले यसलाई असफल भयो भन्नु सान्दर्भिक छैन।”

मुख्यमन्त्री गिरीले देशमा विदेशी हस्तक्षेप बढ्दै गएको र राष्ट्रियता सङ्कटमा पर्दै गएको समेत दाबी गर्नुभयो। उहाँले नागरिकलाई सचेत बनाउने जिम्मेवारी पाएको राज्यको चौथो तह सञ्चारमाध्यमले समेत राष्ट्रियताको पक्षमा नरहेको दाबी गर्नुभयो।

राष्ट्रियता सङ्कटमा पर्दै गएको बेला सञ्चारमाध्यामको महत्वपूर्ण जिम्मेवारी हुन्छ तर सञ्चारमाध्यामले आफ्नो कर्तव्य र जिम्मेवारी बोध गर्न नसकेको भन्दै मुख्यमन्त्री गिरीको गुनासो गर्नुभयो। उहाँले मुलुकको अस्थिरताबाट फाइदा लिने शक्तिका विरुद्ध कलम चलाउन मिडियाकर्मीलाई आग्रहसमेत गर्नुभयो।

 

उहाँले भन्नुभयो– “केही राजनीतिक दलहरू देश र जनताका लागि भन्दा पनि अर्काको स्वार्थका लागि काम गर्न थालेको आभास भइरहेको छ। देशलाई जोगाउने हो भने दलबीचको बढ्दो दूरी कम गर्नुपर्छ। त्यसतर्फ राजनीतिक दल सचेत हुनु जरुरी छ।” यो समाचार हामीले गोरखापत्रअनलाइनबाट लिएका हौं ।

गुल्मीमा आगलागीमा परेर ७५ वर्षीय बृद्धको ज्यान गयो

0
फाइल तस्विर

अनिल खत्री
बैशाख ३,२०८० गुल्मीःगुल्मीमा आगलागीमा परेर एक जना बृद्धको मृत्यु भएको छ ।

जिल्लाको सत्यवती गाउँपालिका वडानम्बर–४ लिम्घा निवासी ७५ वर्षका लालबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रबिन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

साही आफनै खरबारी घाँस काटने क्रममा खरेनमा लागेको आगोमा परेर घाइते अवस्थामा स्थानीयले फेला पारेका थिए । स्थानीयले उपचारको लागि स्वास्थ्य संस्थामा लैजाने क्रममा बाटोमै मृत्यु भएको श्रेष्ठले बताउनुभयो ।

घटना स्थलमा इलाका प्रहरी रिडीबाट प्रहरी निरीक्षक यमलाल बञ्जाडे र प्रहरी चौकी जोहाङ्गबाट प्रहरी नायव निरीक्षक किरणबहादुर रानाभाट सहितको टोली पुगेको थियो । प्रहरीले घटना स्थलको मुचुल्क उठाएर शबलाई श्रृङ्गा स्वास्थ्य चौकीमा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । खरबारीमा लागेको आगो स्थानीय र प्रहरीले नियन्त्रण लिएको छ ।