सङ्घीयताको विरोध गर्नु औचित्यहीन : मुख्यमन्त्री गिरी

0
131

बैशाख ३,२०८० रुपन्देहीः लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले दुई कार्यकाल पनि पूरा नहुँदै सङ्घीयताको विरोध गर्नु सान्दर्भिक नहुने बताउनुभएको छ।

प्रेस चौतारी नेपाल रुपन्देहीको २४औँ वार्षिक साधारण सभाको शनिबार बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री गिरीले पर्याप्त परीक्षणबिना र कुनै आधारबिना सङ्घीयताको विरोध गर्नु उचित नभएको तर्क गर्नुभयो।

उहाँले सङ्घीयताको विरोध गर्नु औचित्यहीन भएको बताउनुभयो। उहाँले भन्नुभयो– “मुलुकले सङ्घीयताको अभ्यास गर्न थालेको बल्ल छ वर्ष हुँदैछ, यो शासन व्यवस्थाले दुई कार्यकाल पनि पूरा गरेको छैन, सङ्घीयताको पर्याप्त परीक्षण नै भइनसकेकोले यसलाई असफल भयो भन्नु सान्दर्भिक छैन।”

मुख्यमन्त्री गिरीले देशमा विदेशी हस्तक्षेप बढ्दै गएको र राष्ट्रियता सङ्कटमा पर्दै गएको समेत दाबी गर्नुभयो। उहाँले नागरिकलाई सचेत बनाउने जिम्मेवारी पाएको राज्यको चौथो तह सञ्चारमाध्यमले समेत राष्ट्रियताको पक्षमा नरहेको दाबी गर्नुभयो।

राष्ट्रियता सङ्कटमा पर्दै गएको बेला सञ्चारमाध्यामको महत्वपूर्ण जिम्मेवारी हुन्छ तर सञ्चारमाध्यामले आफ्नो कर्तव्य र जिम्मेवारी बोध गर्न नसकेको भन्दै मुख्यमन्त्री गिरीको गुनासो गर्नुभयो। उहाँले मुलुकको अस्थिरताबाट फाइदा लिने शक्तिका विरुद्ध कलम चलाउन मिडियाकर्मीलाई आग्रहसमेत गर्नुभयो।

 

उहाँले भन्नुभयो– “केही राजनीतिक दलहरू देश र जनताका लागि भन्दा पनि अर्काको स्वार्थका लागि काम गर्न थालेको आभास भइरहेको छ। देशलाई जोगाउने हो भने दलबीचको बढ्दो दूरी कम गर्नुपर्छ। त्यसतर्फ राजनीतिक दल सचेत हुनु जरुरी छ।” यो समाचार हामीले गोरखापत्रअनलाइनबाट लिएका हौं ।

SHARE