Saturday, June 6, 2026

हुम्लामा फेरि हिमपात, हवाई सेवा अवरुद्ध, जनजीवन प्रभावित

0

मंसिर २६, २०७६ हुम्ला ः दोस्रो पटक हिमपात हुँदा हुम्लाको जनजीवन प्रभावित भएको छ । पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा आज बिहान ६ बजेबाट हिमपात शुरु हुँदा अन्तरजिल्ला पुग्ने हवाई उडान बिहानबाटै प्रभावित भएको छ। हिमपातले गर्दा जिल्लाको एकमात्रै यातायात सेवा हवाइजहाज उडान बन्द रहेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ । नेपालगञ्ज सुर्खेतबाट बिहान ७ बजेदेखि हुम्लामा उडान गर्दै आएको तारा, सीता, समिट एयरलाइन्सको उडान प्रभावित भएको छ। हवाई यातायात बन्द हुँदा अत्यावश्यक कामका लागि बाहिर जाने स्थानीयवासी समस्यामा परेका छन्। हिमपातका कारण चिसो अत्यधिक बढेको छ । यहाँको जनजीवन कष्टकर बन्दै गएको छ। उत्तरी नाम्खा गाउँपालिकामा जिल्ला सदरमुकामभन्दा बढी चिसो रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। यहाँको तापक्रम माइनस ६ डिग्री सेल्सियससम्म पुगेसँगै बिहान बेलुका बढी चिसो हुने गरेको छ। हिमपातले बिहानी कक्षा लिँदै आएका कैलाश बोर्डिङ र हिमाली बोर्डिङका विद्यार्थीलाई समस्या बनाएको कैलाश बोर्डिङका प्रधानाध्यापक छवाङ लामाले बताए। दोस्रो पटक हिमापात हुँदा जिल्लाका दक्षिण क्षेत्रका किसानलाई फाइदा पुगेको छ। हिउँदे बाली गहुँ, जौ, खनजोत गर्ने समयमा हिमपात हुँदा सजिलो हुने भएको सर्केगाड गाउँपालिकाका फागुने महतराले बताए। हिमपातका कारण एक गाउण्ँबाट अर्को गाउँसम्मको आवतजावत रोकिएको छ । सदरमुकाममा चहलपहल न्यून छ।
थाहाखबरबाट

तोरी जोनमै छैन सिंचाइ र मल

0

मंसिर २५, २०७६ दाङ ः दाङमा कृषि क्षेत्रको विकासका लागि प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना लागु भएको छ। देउखुरी क्षेत्रमा मैक जोन, घोराही क्षेत्रमा माहुरी जोन र पश्चिम दाङमा तोरी जोन इकाई लागु भएको छ। परियोजना लागु भए पनि यस क्षेत्रमा सिंचाइ, मललगायतको समस्या समाधान भएको छैन। गत आर्थिक वर्षमा पश्चिम दाङका तीन गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाका वडा नम्बर १ र २ मा तोरी जोन कार्यक्रम लागु भएको छ। तोरी उत्पादन वृद्धि गर्न उक्त कार्यक्रम लागु गरे पनि सिंचाइ र मलको समस्या भने समाधान नभएको शान्तिनगर गाउँपालिका–२ का ईश्वरी न्यौपानेको गुनासो छ। पहिला परम्परागत रुपमा गरिएको तोरी खेतीभन्दा उन्नत जातको तोरीमा उत्पादनमा बढेको भए पनि तोरीलाई आवश्यक पर्ने बेला मल र पानी नपाउँदा समस्या भएको न्यौपानेको भनाइ छ। सोही वडाको अमुवामा प्रगतिशील कृषी महिला समूह गठन गरी करिब २० बिघामा तोरी खेती गरेको समूहकी अध्यक्ष सरस्वती न्यौपानेले जानकारी दिइन्। तोरी छर्ने बेला बारीमा चिसो नहुँदा र तारी छरी सकेपछि पानी समयमै नपाउँदा समस्या हुने गरेको उनले बताइन्। तोरी जोन कार्यक्रम लागु भएपछि उन्नत जातको बिउ, मल, औजारहरु सहुलियतमा पाउने गरेको भए पनि सिंचाइ अभावमा उत्पादन उल्लेख्य नभएको उनको भनाइ छ। दाङलाई खाने तेलका लागि आत्मनिर्भर बनाउन तोरी सुपर जोन कार्यक्रम पश्चिम दाङमा सञ्चालन गरे पनि यस कार्यक्रममा सबै किसान समेटिएका छैनन्। सबै किसानहरुलाई समेट्न नसक्दा लक्ष्यअनुसार तोरी उत्पादन नहुने तोरी जोन दाङको सञ्चालक समितिका सचिव थम्मन कँडेलले बताए। ‘हामीले उन्नत जातको तोरी रोपेका छौँ,’ उनले भने, ‘तर छिमेकीले अन्य तोरी रोपेका छन्। त्यही तोरीले परागशेचनमा समस्या हुने भएकाले तोरी उत्पादनमा ह्रास आउँछ।’ उन्नत जातको तारी खेती गरिएको ठाउँबाट करिब २०० मिटरको दूरीमा अर्को तोरी खेती हुनुपर्छ। तर, यस क्षेत्रमा सबै किसान सुपर जोन कार्यक्रममा नसमेटिएकाले सँगै अर्को जातको तोरी खेती गरिएको छ। यस तोरी उत्पादनमा बृद्धिमा समस्या हुने सचिव कँडेल बताउँछन्। गत वर्षमा उन्नत खेती गर्दा अन्य जातको तोरीभन्दा करिब तीन प्रतिशतले उत्पादनमा बृद्धि भएको उनले बताए। शान्तिनगर–२ कै किसान वासुदेव न्यौपानेले उन्नत जातको तोरी खेती गर्दा पहिलेभन्दा उत्पादन बढे पनि रोगका कारण समस्या हुने बताए। ‘तोरीको दाना लाग्ने बेलामा रोग लाग्छ,’ उनले भने, ‘त्यसलाई कसरी नियन्त्रण गर्ने हामीलाई समस्या हुन्छ।’ पश्चिम दाङका तीन गाउँपालिका र तुलसीपुरका १ र २ वडामा गरी २७ समूह र सहकारीमार्फत तोरी जोन कार्यक्रममा सहभागी भएको तोरी जोन इकाइ तुलसीपुरका धनराज गौतमले बताए। स्थानीय तहबाट सिफारिस गरेर पठाएकालाई मात्र समावेश गरेको बताए। त्यसैगरी सहकारी वा समूहले १५ बिघाभन्दा बढी तोरी खेती गर्नेलाई मात्र समावेश गर्ने उनले बताए। उक्त क्षेत्रमा करिब साढे ३०० हेक्टरमा उन्नत जातको तोरी खेती भएको छ।
थाहाबाट

५० हजार रुपैयाँ घुस लिँदालिँदै दुई प्रहरी समातिए

0

मंसिर २५, २०७६ सर्लाही ः त्रिभुवन नगरस्थित प्रहरी चौकीमा कार्यरत दुई जना प्रहरी ५० हजार रुपैयाँ घुससहित समातिएका छन्। प्रहरी नायव निरीक्षक राजेशकुमार सिंह र जवान मनोजकुमार यादवले भारतबाट नेपालतर्फ तस्करीका सामान ल्याउँदा भित्र्याउन सहयोग गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेका थिए । घुस लिएकै बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दीबासबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। सिंह र यादवले सर्लाहीको ब्रह्मपुरी गाउँपालिका वडा नं–४ स्थित सगरमाथा बोर्डिङ स्कुल परिसरमा सेवाग्राहीसँग घुस बुझिरहेका थिए। पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको अख्तियारका अधिकारीहरुले जानकारी दिएका छन्।

महाधिवेशनमा आफैं बलियो हुने गरी विभाग गठनमा देउवाको कसरत

0
फाइल फोटो

मंसिर २५, २०७६ काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशनमा आफुलाई नै बल पुग्ने गरी विभिन्न विभागहरु गठनको तयारी थालेका छन्।

मंसिर २६ का लागि डाकिएको केन्द्रीय समितिको बैठकअघि नै देउवाले विभागहरु गठन गर्न कसरत गरेका छन्। केन्द्रीय समितिको बैठकअघि अन्तर्राष्ट्रिय विभाग, सूचना‚ सञ्चार तथा प्रचार विभाग, संगठन विभाग, युवा तथा खेलकुदसहित केही महत्त्वपूर्ण विभाग गठनमा देउवाले आफु निकटका नेताहरुलाई खटाएको कांग्रेसका एक नेताले बताए। ‘एक दुई दिनमै सभापतिज्यूले पार्टीका केही महत्त्वपूर्ण विभागहरु गठनको प्रक्रिया टुंग्याउने गरी कसरत थाल्नुभएको छ,’ देउवा निकटस्थ स्रोतले भन्यो। यता वरिष्ठ नेताहरु रामचन्द्र पौडेल र कृष्ण सिटौला समूह भने सभापति देउवाले छलफलबिना एकलौटी ढंगले विभाग गठन गर्न सजिलो नहुने बताउँछन्। देउवाले महत्त्वपूर्ण विभागमा गनिएको विदेश विभाग भने रामचन्द्र पौडेल पक्षलाई दिने तयारी गरेको देउवा निकटका नेताहरु बताउँछन्। ‘३३ महिनाअघि नै गठन भइसक्नुपर्ने विभागहरु सभापतिज्यूले एकाएक गठन गर्न हतारो गर्नुभयो,’ रामचन्द्र पौडेल पक्षका एक नेताले थाहाखबरसँग भने, ‘केन्द्रीय समितिकै कार्यकाल सकिन लाग्यो। यो समय भ्रातृसंगठनको अधिवेशन गराउने र पार्टीको महाधिवेशनको तयारी गर्ने बेला हो पो हो।’ कांग्रेसको चार वर्षे कार्यकाल रहेको वर्तमान कार्यसमितिको पदावधि नै सकिन लागेको छ। रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका नेताहरुले विभाग गठन गर्दा देउवाले गुट(उपगुट हेर्न लागेको आरोप लगाएका छन्। पार्टीको केन्द्रीय महाधिवेशन सम्पन्न भएको बढीमा दुई महिनाभित्र सबै विभागहरु गठन गरिसक्नुपर्ने उल्लेख भएको विधानलाई टेकेर १३औँ महाधिवेशन सम्पन्न गरे पनि पछि उक्त विधान संशोधन गरिएको छ। २०७५ फागुन १२ मा संशोधन भएको विधानमा महत्त्वपूर्ण विभागहरु कति समयभित्र गठन गरिसक्नुपर्ने भन्ने केही उल्लेख छैन। सभापति देउवाले विभाग गठनको विषयमा उपसभापति बिमलेन्द्र निधिलाई पौडेल समूहका नेताहरुसँग वार्ता गर्न जिम्मा दिएका थिए। निधिले महत्त्वपूर्ण विभाग देउवा समूहले नै लिने दोहोर्‍याएपछि पौडेल पक्षले असन्तुष्टि जनाउँदै आएको छ। पौडेल पक्षले आफ्नो भागमा आधा विभागहरू पर्नुपर्ने माग गरेपछि लामो समयदेखि विवाद हुँदै आएको छ। त्यसो त विभाग गठन गर्दा कस्तो ब्यक्तिलाई भूमिका दिने भन्नेबारे कांग्रेसको विधानमा स्पष्ट उल्लेख छ। विभाग गठन गर्दा मनोनयनमा पार्टी सदस्यहरूको रुचि, विज्ञता, अनुभव र पार्टीमा पु‍र्‍याएको योगदानलाई आधार बनाइने विधानमा उल्लेख छ। विधानलाई पूर्ण रुपमा सभापति देउवाले पालना नगर्दा समस्या भएको कांग्रेसका नेताहरुको आरोप छ। पौडेल पक्षले पनि सभापति देउवासँग भागबन्डाको ुबार्गेनिङु गरिरहेको छ। देउवा र पौडेलको आफ्नो–आफ्नो अडानका कारण कांग्रेसका विभाग गठन हुन सकिरहेको छैन।

विभाग बढाउने दाउमा देउवा

नेपाली कांग्रेसको विधानमा तोकेभन्दा धेरै विभाग केन्द्रीय समितिले थप गर्नसक्ने ब्यवस्था छ। विधानमा २८ वटा विभाग हुने स्पष्ट उल्लेख छ। केन्द्रीय समितिले विभाग बढाउन सक्ने विधानको प्रावधानलाई टेकेर सभापति देउवा विभाग थप्ने दाउमा छन्। पौडेल र सिटौला पक्षले भने भएका विभागलाई सक्रिय बनाउन माग गर्दै आइरहेका छन्। देउवाले यसअघिको केन्द्रीय समिति बैठकमा हाल रहेका २५ विभागलाई बढाएर ४५ बनाउने प्रस्ताव गरेका थिए। पौडेल र सिटौला पक्षका नेताहरुले सभापतिले महाधिवेशनमा आफुलाई फाइदा हुनेगरी विभाग बढाउन लागेको आरोप लगाएका छन्। उता सभापति देउवा थप गरेको विभागमा पौडेल र सिटौला पक्षका केही नेतालाई समावेश गरेर आफ्नो समूहमा तान्ने दाउमा छन्। देउवाले विभाग बढाउने भनेर बाहिरी तयारी गरेपनि त्यसको उद्देश्य महाधिवेशन केन्द्रित रहेको अन्य नेताहरुको आरोप छ।
थाहाखबरबाट

बाबुको हत्या आशङ्कामा आमा–छोरा पक्राउ

0

मंसिर २५, २०७६ सुर्खेत ः प्रहरीले सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ मालनेटाबाट बाबुको हत्या आशङ्कामा आमा–छोरालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार सोही ठाउँका ४७ वर्षीय लोकबहादुर बिसीको हत्या आशङ्कामा श्रीमती सुमित्रा र छोरा कमल बिसीलाई मङ्गलबार साँझ पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरोज चौलागाईँले लोकबहादुरको शव घरदेखि ५० मिटर टाढा गोरेटो नजिक सोमबार फेला परेको जानकारी दिए। ‘घरभित्र हत्या गरेर बाहिर फालेको जस्तो देखिएको छ’, उनले भने, ‘अनुसन्धानका लागि मृतककी श्रीमती र छोरालाई नियन्त्रणमा लिइएको हो, अनुसन्धान हुँदैछ।’

मुसिकोट नगरपालिकामा कुनै प्रकारको भ्रस्टचार भएको छैन . सापकोटा

0

रामकृस्ण कंडेल,वामीटक्सार
मंसिर२४
सुशासन प्रवद्र्धनका लागि नागरिक सञ्जाल गुल्मीले सोमबार प्रजिअ कोषहरी निरौलालाई जिल्लाका विभिन्न सरकारी कार्यालयहरुको आर्थिक अवस्था समेटेर प्रस्तुत प्रतिबेदनले केहि अस्पस्टता सृजना गरेको मुसिकोट नगरपालिका प्रमुख शोमनाथ सापकोटाले बताए । हाल सम्म मुसिकोट नगरपालिकाले हरेक आर्थिक कार्य गर्दा सुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्रवाहका लागि बिशेष जोड दिएको बताए ।नगरप्रमुख सापकोटाले आफुहरूले विकास निर्माणका कामहरु पारदर्शी बनाउन प्रयास गरेको,नगरभित्रका सेवाप्रवाहबारे नियमित सार्वजनिक सुनुवाई,सार्वजनिक परीक्षण, सामाजिक परीक्षण समेत गरिएको बताए ।


हिजो प्रमुख जिल्ला अधिकारी समक्ष प्रस्तुत प्रतिबेदनमा हाम्रो नगरपालिकाको बेरूजु रकम पनि देखाईएको पाईयो। हाम्रो मुसिकोट नगरपालिकाको सन्दर्भमा सामाजिक सुरक्षा भत्ता बितरणको सन्दर्भमा वडा सचिब हरूले पेश्कि लिएको,सबै वडामा तत्कालिन अबस्थामा बैकिड०सेवा नपुगेकोले एक बर्ष पछि मात्र बैंकमा पोस्टिड० हुने नियम अनुसार बेरूजु देखिएको हो।बेरूजु भनेको भ्रस्टचार होईन।मुसिकोट नगरपालिकामा कुनै प्रकारको भ्रस्टचार भएको छैन र म कदापि हुन पनि दिने छैनूमुसिकोट नगर प्रमुख शोमनाथ सापकोटाले दाबी गरे।

गर्भवती महिलाहरुलाई फिल्टर बितरण

0

तिलाचन पाण्डे
मंसिर २४ , २०७६ गुल्मी ः
गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं ३ जयखानी र वडा नं ६ खडग्कोटका गर्भवती महिलाहरुलाई फिल्टर बितरण गरिएको छ ।
गर्भवती भएको समयमा शुद्धपानी र नियमित रुपमा सवास्थ्य चौकीमा आई गर्भ परीक्षण गराउनका लागि प्रेरित गर्ने भन्दै २१ जना गर्भवती महिलाहरुलाई शुद्ध पानी पउिनका लागि फिल्टर बितरण गरेको गाउँपालिकाकी उपाध्यक्ष तारा थापाले जानकारी दिईन । अझै पनि ग्रामीण स्तरका र कालीगण्डकी गाउँपालिकाका केही बिकट स्थानका महिलाहरुले नियमित रुपमा गर्भजाँच नगराएको पाइएकाले उनीहरुलाई नियमित रुपमा गर्भजाँच गराउनु पर्छ भन्ने जानकारी गराउदै सु आहारा र कालीगण्डकी गाउँपालिकाले फिल्टर बितरण गरेको दाबी गरिन् ।
गर्भवती भएको समयमा स्वास्थ्यको ख्याल गर्न , भारी काम नगर्न र आराम गर्नका लागि आग्रह गर्दै दिनमा सात लिटर पानी पिउन भन्दै फिल्टर बितरण गरिएको थापाले बताइन् । गत बर्ष गर्भवती महिलाहरुलाई पोषण युक्त खानाका लागि प्रेरित गर्ने अभिप्रायले अण्डा बितरण गरिएको भएपनि त्यो प्रभाबकारी नभएको र घरका श्रीमानहरुले सोही अण्डासंग मदिरा सेबव गरिदिएकाले यस पटक फिल्टर बितरण गरिएको थापाले दाबी गरिन् । कालीगण्डकी गाउँपालिका वडा नं ७ भुर्तुङका वडा अध्यक्ष लोक प्रताप शाहाले वडा भित्र सुत्केरी भएका महिलाहरुलाई अनिवार्य रुपमा एक माना घिँउ लिएर भेट्न जाने गरेका छन् ।

सरकारले ५६० जनालाई निशुल्क प्राविधिक शिक्षा दिने

0

मंसिर २४, २०७६ काठमाडौं ः सरकरले प्राविधिक तहमा निशुल्क शिक्षा प्रदान गर्ने भएको छ। नेपाल सरकारको आर्थिक वर्ष २०७६र७७ को बजेट तथा कार्यक्रममा व्यवस्था भए अनुसार प्रादेशिक सन्तुलन कायम हुने गरी संस्थागत पहुँच नपुगेका स्थानीय तहलाई प्राथमिकता दिने गरी देशभरका विपन्न, दलित र मुस्लिम छात्रछात्राका लागि २८० जना प्रविधिक एसएलसी सरह र २८० जना डिप्लोमारप्रमाणपत्र तहमा प्राविधिक शिक्षा प्रदान गर्न परीक्षार्थी छनोट गर्न लागेको हो। प्राविधिक एसएलसी तहका लागि कुलिनरी आर्ट, भेटनरी जेटिए, ईञ्जिनियरिङ तहका लागि माग गरेको छ भने प्रमाणपत्र तहमा नर्सिङ, फार्मेसी, डिप्लोमा इन एग्रिकल्चरलगायत छन्।

आज विश्व मानवअधिकार दिवस, राष्ट्रपतिद्वारा शुभकामना

0

मंसिर २४, २०७६ काठमाडौं ः विश्वव्यापी मानव अधिकारहरूको घोषणा भएको संस्मरण गर्दै आज विश्व मावअधिकार दिवस मनाइँदैछ। मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिन सन् १९४८ डिसेम्बर १० लाइ आधार मानेर यो दिवस मनाउने गरिन्छ। नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले ७१औँ विश्व मानव अधिकार दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेकी छिन्। राष्ट्रपति कार्यालयद्वारा आज जारी शुभकामना सन्देशमा भनिएको छ, “मानव अधिकारको उपयोगमा आफ्नो कर्तव्य पूरा गर्दै राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताजस्ता कुरालाई समेत मनन गर्नुपर्छ।” राष्ट्रपति भण्डारीले विश्वव्यापीरुपमा स्थापित मानव अधिकारको सम्मान, संरक्षण, सम्वर्द्वन तथा प्रभावकारी कार्यान्वयनको सुनिश्चितता नेपालको संविधानले गरेको प्रष्ट पार्दै मानव अधिकारको प्रवर्द्वन र कार्यान्वयनका लागि विभिन्न निकायसमेत क्रियाशील रहेकामा खुशी व्यक्त गरेकी छिन्। “यस दिवसले सम्बद्ध पक्ष र निकायलाई मानव अधिकारको मर्म र भावनालाई आत्मसात् गर्दै मानव जातिका साझा अधिकार प्रत्याभूति गर्न सबैलाई सफलताका साथै यस क्षेत्रमा काम गर्न थप ऊर्जा र प्रेरणा मिलोस् भन्ने कामना गर्दछु”, राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ। मानवअधिकार घोषणापत्र सबैभन्दा बढी ५०० भाषामा अनुवाद गरिएको घोषणापत्र हो।

गर्भवती शिक्षिकालाई बिदा नदिने प्रधानाध्यापकको बढुवा रोक्का

0

मंसिर २४, २०७६ काठमाडौ ः महानगरपालिकाको शिक्षा विभागले शिक्षिकालाई बिदा नदिने निमित्त प्रधानाध्यापक सुरेन्द्र केसीलाई प्रधानाध्यापक नबनाउने भएको छ। विभागका अनुसार उनीविरूद्ध अदालतमा मुद्दा विचाराधीन रहेकाले बढुवा रोक्का गरिएको हो। आराम गर्न डाक्टरले सुझाएपछि माध्यमिक तहकी शिक्षिका लक्ष्मी अर्यालले कानुन बमोजिमको गर्भावस्था बिदा मागेकी थिइन्। भदौमा उनको बच्चा मृत अवस्थामा जन्मिएको थियो। कानुन बमोजिमको बिदा माग्दा नदिएको र उल्टै मानसिक तनाव दिएको त्यही कारणले मृत शिशु जन्मिएको भन्दै केसीविरूद्ध जाहेरी परेको थियो। उक्त जाहेरीमाथि अनुसन्धान गर्न प्रहरीले उनलाई पक्राउ गरेको थियो। मुद्दा अदालतमा पुगेपछि भने ५० हजार धरौटीमा मुद्दाको पुर्पक्षका लागि छुटेका थिए। त्यसपछि सम्पूर्ण प्रकृया पूरा गरेर आएको उनको फाइल विभागले रोक्का राखेको जनाएको छ। ‘शिक्षिकालाई कानुनबमोजिमको गर्भावस्था बिदा नदिएको, मानसिक यातना दिएको त्यसैले मृतबच्चा जन्मिएको भन्दै जिल्ला अदालतमा मुद्दा परेपछि केसीको बढुवा रोक्का गरिएको हो। अदालतले सफाइ दिए उहाँ बढुवा हुनुहुन्छ नभए निलम्बनमा पर्नुहुन्छ अर्को प्रधानाध्यापक खोज्नुपर्ने हुन्छ’ स्रोतले भन्यो। गर्भवती अर्याललाई डाक्टरले २ महिना काम नगरी आराम गरेर बस्नुपर्ने भनेपछि उनले बिदा लिएकी थिइन्। २५ दिन आराम गरेपछि अर्याल डाक्टरको स्वीकृति लिएर फेरि स्कुल जान थालिन्। त्यो २५ दिनलाई सुत्केरी हुनुअघि र पछिको विशेष बिदाको रूपमा माग्दा प्रधानाध्यापकले अस्वीकार गरिदिएका थिए। त्यसपछि अर्यालले प्रधानाध्यापकविरूद्ध सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन बमोजिमको बिदा माग्दा नदिएको भन्दै उजुरी दिएकी थिइन्। उक्त ऐनले सरकारी कार्यालय वा अन्य कार्यालयले पनि सुत्केरी हुनु अघि र पछि गरेर महिलालाई ९६ दिन विशेष बिदा दिनुपर्ने भनेको छ। महिला आयोगले प्रधानाध्यापक केसीलाई चिठी लेख्दै अर्यालको बिदा स्वीकृत गर्न निर्देशन दियो। त्यसपछि केसीले आफूलाई होच्याउन र तनाव दिन कुनै कसर बाँकी नराखेको अर्याल बताउँछिन्।
थाहाबाट