गर्भवती शिक्षिकालाई बिदा नदिने प्रधानाध्यापकको बढुवा रोक्का

0
600

मंसिर २४, २०७६ काठमाडौ ः महानगरपालिकाको शिक्षा विभागले शिक्षिकालाई बिदा नदिने निमित्त प्रधानाध्यापक सुरेन्द्र केसीलाई प्रधानाध्यापक नबनाउने भएको छ। विभागका अनुसार उनीविरूद्ध अदालतमा मुद्दा विचाराधीन रहेकाले बढुवा रोक्का गरिएको हो। आराम गर्न डाक्टरले सुझाएपछि माध्यमिक तहकी शिक्षिका लक्ष्मी अर्यालले कानुन बमोजिमको गर्भावस्था बिदा मागेकी थिइन्। भदौमा उनको बच्चा मृत अवस्थामा जन्मिएको थियो। कानुन बमोजिमको बिदा माग्दा नदिएको र उल्टै मानसिक तनाव दिएको त्यही कारणले मृत शिशु जन्मिएको भन्दै केसीविरूद्ध जाहेरी परेको थियो। उक्त जाहेरीमाथि अनुसन्धान गर्न प्रहरीले उनलाई पक्राउ गरेको थियो। मुद्दा अदालतमा पुगेपछि भने ५० हजार धरौटीमा मुद्दाको पुर्पक्षका लागि छुटेका थिए। त्यसपछि सम्पूर्ण प्रकृया पूरा गरेर आएको उनको फाइल विभागले रोक्का राखेको जनाएको छ। ‘शिक्षिकालाई कानुनबमोजिमको गर्भावस्था बिदा नदिएको, मानसिक यातना दिएको त्यसैले मृतबच्चा जन्मिएको भन्दै जिल्ला अदालतमा मुद्दा परेपछि केसीको बढुवा रोक्का गरिएको हो। अदालतले सफाइ दिए उहाँ बढुवा हुनुहुन्छ नभए निलम्बनमा पर्नुहुन्छ अर्को प्रधानाध्यापक खोज्नुपर्ने हुन्छ’ स्रोतले भन्यो। गर्भवती अर्याललाई डाक्टरले २ महिना काम नगरी आराम गरेर बस्नुपर्ने भनेपछि उनले बिदा लिएकी थिइन्। २५ दिन आराम गरेपछि अर्याल डाक्टरको स्वीकृति लिएर फेरि स्कुल जान थालिन्। त्यो २५ दिनलाई सुत्केरी हुनुअघि र पछिको विशेष बिदाको रूपमा माग्दा प्रधानाध्यापकले अस्वीकार गरिदिएका थिए। त्यसपछि अर्यालले प्रधानाध्यापकविरूद्ध सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन बमोजिमको बिदा माग्दा नदिएको भन्दै उजुरी दिएकी थिइन्। उक्त ऐनले सरकारी कार्यालय वा अन्य कार्यालयले पनि सुत्केरी हुनु अघि र पछि गरेर महिलालाई ९६ दिन विशेष बिदा दिनुपर्ने भनेको छ। महिला आयोगले प्रधानाध्यापक केसीलाई चिठी लेख्दै अर्यालको बिदा स्वीकृत गर्न निर्देशन दियो। त्यसपछि केसीले आफूलाई होच्याउन र तनाव दिन कुनै कसर बाँकी नराखेको अर्याल बताउँछिन्।
थाहाबाट

SHARE