Saturday, June 13, 2026

नगर विकास तथा वातावरण संरक्षण संस्थाको साधारण सभा तथा अधिवेशन सम्पन्न

0

असोज ६,२०८० गुल्मीःगुल्मीको रेसुङ्गा नगरपालिकास्थित नगर विकास तथा वातावरण संरक्षण संस्थाको तेस्रो साधारण सभा एवं दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
सदरमुकाम तम्घासमा शुक्रबार सम्पन्न भएको कार्यक्रमबाट राम प्रसाद पन्थीको अध्यक्षतामा २६ सदस्यीय नगर विकास तथा वातावरण संरक्षण संस्थाको गठन गरिएको छ । जसको उपाध्यक्षमा कृष्ण प्रसाद भण्डारी, महासचिवमा कृष्ण प्रसाद पोखरेल, सचिवमा घनश्याम पाण्डे, कोषाध्यक्षमा उमकला पाण्डे र सह–कोषाध्यक्षमा सीता आचार्य लगायत अन्य सदस्यहरु रहेका छन् । कार्यक्रममा महासचिव कृष्ण प्रसाद पोखरेलले संस्थाको कार्यसमितिको प्रतिवेदन एवम् कोषाध्यक्ष उमकला पाण्डेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

२०७३ सालमा विधिवत रुपमा तदर्थ समिति गठन गरी स्थापना भएको संस्थाले हाल तम्घास नगरभित्रको फोहोर व्यवस्थापनलाई मुख्य प्राथमिकता दिएको छ । दुई वटा सवारी साधनबाट फोहोर व्यवस्थापनको काम गरेको संस्थाले अहिले एक हजार ५०३ घर, सात विद्यालय र २३ वटा वित्तीय संस्था तथा कार्यालयहरु गरी जम्मा एक हजार ५३३ उपभोक्ताहरुलाई सुविधा दिएको छ । जसका लागि नगरपालिकाको वडा नम्बर १, २, ७, ८ र ९ वडालाई विभिन्न २० वटा टोल समितिमा विभाजन गरिएको महासचिव कृष्ण प्रसाद पोखरेलले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

संस्थाका कोषाध्यक्ष उमकला पाण्डेले गत आर्थिक बर्ष ०७९÷८० को २४ लाख ५३ हजार ९८ रुपैँया बराबरको आर्थिक प्रतिवेदन र चालु आर्थिक बर्ष ०८०÷८१ को ३७ लाख ७६ हजार ७०४ रुपैँया बराबरको अनुमानित आयव्यय प्रस्तुत गरेकी थिइन् । कार्यक्रमकै अवसर पारेर संस्थामा विगत १८ बर्षदेखि सवारी चालकको रुपमा काम गर्दै आएका हरी बहादुर थापालाई सम्मान पत्र, दोसल्ला एवम् नगद पुरस्कारले सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख आतिथि रेसुङ्गा नगरपालिकाकी उप–प्रमुख अमृता देवी कुँवरले संस्थाले नगरको सरसफाईको क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै आगामी दिनमा संस्थालाई नगरको तर्फबाट आवश्यक सहयोग गर्ने बताइन् ।

कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरु, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधि, पत्रकार, संस्थाका पदाधिकारी, कार्य समिति सदस्य एवम् साधारण सदस्यहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष रामप्रसाद पन्थीको अध्यक्षता, उपाध्यक्ष कृष्ण प्रसाद भण्डारीको स्वागत मन्तव्य एवम् महासचिव कृष्ण प्रसाद पोखरेलको संचालनमा सम्पन्न भएको थियो ।

गुल्मीमा १० वर्षदेखि अलपत्र टिकट काउन्टर भवन संचालनमा

0

अनिल खत्री
असोज ५,२०८० गुल्मी : गुल्मीको सदरमुकाम तम्घासको उदिनढुङ्गा बसपार्कमा रहेको टिकट काउन्टर भवन सञ्चालनमा आएको छ । निर्माण कार्यमा वषौंदेखि अलपत्र रहेको भवन सञ्चालनमा आएसँगै यातायात व्यवसायीहरुलाई सहज भएको छ ।

रेसुङ्गा नगरपालिकाको वडानम्बर २ स्थित उदिनढुङ्गामा रहेको बसपार्क व्यवस्थित नभएका कारण चोककोमा यातयात व्यावसायीका काउन्टर थिए । अहिले उदिनढुंगा बसपार्कको टर्मिनल भवन करिव एक दशकमा निर्माण भएको छ । बसपार्कमा रहेको टिकट काउन्टर भवन सञ्चालनमा आएसँगै यातायात व्यवसायीलाई सहज भएको छ । पहिले बिभिन्न ठाउँमा टिकट काउन्टर राख्ने व्यवसायीलाई बसपार्क मै राख्न पाउदा सहज भएको गुल्मी यातायात प्रालिका सञ्चालक सदस्य महेशराज भण्डारीले बताउनुभयो ।

उहाँले भवन सञ्चालनमा आएपनि गाडीहरु बसपार्कमा यात्रु झार्न र चढाउनका लागि अझै व्यवस्थित नभएको बताउनुभयो । बसपार्क क्षेत्र कालोपत्रे र सार्वजनिक शौचालय नहुँदा यात्रुलाई समस्या रहेको भण्डारीको भनाइ छ । बसपार्क भवनको लागि ०७१ सालमा शहरी विकास तथा भवन डिभिजन कार्यालय पाल्पाले चार करोड ९१ लाखको स्टिमेट गरिएको थियो । भवनको स्टिमेटमा शौचालय, प्रहरी बिट, टिकट काउन्टर लगायतका कोठाहरुको डिजाइन गरिएको थियो । तर, अहिले डिजाइन परिर्वतन गरेर टिकट काउन्टर भवन मात्रै निर्माण भएको छ । जसमा टिकट काउन्टर र केहि कोठाहरु तयार भएका छन् । लामोसमयसम्म अलपत्र टिकट काउन्टर भवन नगरपालिका र बसपार्क व्यवस्थापन समितिको समन्वयमा सञ्चालनमा ल्याइएको रेसुङ्गा नगरपालिका वडानम्बर २ का वडाअध्यक्ष हीराबहादुर थापाले बताउनुभयो । उहाँले निर्माण व्यवसायीले समयमै काम सम्पन्न नगर्दा भवन धेरै समयपछि निर्माण भएको बताउनुभयो ।

भवन निर्माण भएर केहि समय अलपत्र हुँदा तोडफोड समेत हुन थालेको थियो । बसपार्क व्यवस्थित नहुँदै नगरपालिकाले भवनको संरक्षणका निम्ति भएपनि काउन्टर मात्रै सञ्चालन गरिएको वडाअध्यक्ष थापाको भनाइ छ । अति महत्वपूर्ण र व्यस्त बसपार्कको व्यावस्थापन नहुँदा नागरिक र यातयात व्यावसायीले वषौंदेखि सास्ती खेपिरहेका छन् । अहिले पनि बसपार्क क्षेत्रमा सार्वजनिक शौचालय र सडक कालोपत्रे भएको छैन् ।

जसले गर्दा अझैपनि समस्या रहेको छ । बसपार्कको आधार निर्माण गरेकै करिव दुई दशक भए । तर, अझै व्यवस्थित हुन सकेको छैन् । बसपार्क व्यवस्थित बन्ने आशमा स्थानीयले चार रोपनी जग्गा दिएका थिए । बसपार्क करिब ६ रोपनी क्षेत्रफलमा फैलिएको छ । २० बर्षसम्म पनि बसपार्क व्यवस्थित हुन नसक्नु दुखद् विषय भएको स्थानीय बताउछन् ।

तम्घास बजारका बिभिन्न स्थानमा संरचना निर्माणका निम्ति ५० करोड रुपैयाँ बिनियोजन भएको छ । जसबाट देउरालीदेखि सिमीचौरसम्म सडक कालोपत्रे र तम्घास बजारको उदिनढुंगा बसपार्क कालोपत्रे, शौचालय निर्माण लगायत नगरमा अरु ठाउँमा पनि संरचना निर्माण गरिने रेसुङ्गा नगरपालिकाका उपप्रमुख अमृतदेवी कुँवरले बताउनुभयो । उहाँले काउन्टर भवन सञ्चालनमा आएसँगै बसपार्क व्यवस्थापनको काममा निर्माण व्यवसायीलाई ताकेता गर्दै आएको बताउनुभयो । बसपार्क कालोपत्रे र सार्वजनिक शौचालय निर्माणको काम तुरुन्तै अगाडी बढाउन पहल गरिने उपप्रमुख कुँवरको भनाइ छ ।

उदिनढुङ्गा बसपार्कमा निर्माण भएको टिकट काउन्टर भवन करिब एक करोडमा निर्माण भएको हो । टिकट काउन्टर भवन शहरी विकास तथा भवन निर्माण विभाग, संघिय आयोजना कार्यान्वयन इकाई, रुपन्देही मार्फत निर्माण भएको हो ।

गुल्मीदरबार गाउँपालिकाले अविबाहित महिला पुरुषलाई भत्ता दिने

0
तस्बिर : खबरमार्केट

असोज २,२०८० गुल्मी :गुल्मीदरबार गाउँपालिकाले अविबाहित महिला पुरुषलाई भत्ता दिने भएको छ ।

गाउँपालिकाले ४० वर्ष पूरा भएका महिला र ४५ वर्ष पूरा भएका अविबाहित पुरुषलाई समाजिक सुरक्षा कार्यक्रमबाट भत्ता दिने भएको छ । गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रमबाट स्विकृत कार्यक्रम अन्र्तगत श्रावण महिना देखी सामाजिक सुरक्षा कार्यक्रमबाट भत्ता दिनेगरी सूचना प्रकाशन गरेको छ ।

अविबाहित पूरुष र महिलाहरु पनि कुनै न कुनै रुपमा पीडित भएको र उनीहरुलाई एकल भएको महशुस नगराउनका लागि प्रति महिना एक हजारका दरले सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगतबाट भत्ता दिने गाउँपलिकाका अध्यक्ष सरोजकुमार थापाले जानकारी दिए ।

अविबाहित महिला पूरुषहरुको साथमा गाउँपालिका रहेको अनुभूति दिनका लागि आफूहरुले यस्तो कार्यक्रम ल्याएको र श्रावण महिनाबाटै लागु हुने गरी भत्ता प्रदान गर्ने थापाले बताए ।

पालिका भित्रका नागरिकहरुलाई एक्लो भएको भन्ने हिनताबोध नगराउन र वृद्ध वृद्धाहरुलाई सम्मान गर्ने जस्ता कार्यक्रमहरुलाई पालिकाले प्राथमिकता दिएको थापाको दाबी छ ।

पालिकाले जारी गरेको सूचनामा वडाबाट अविबाहित भएको प्रमाणित पत्र,नेपाली नागरिकताको प्रमाणपत्र,२ प्रति फोटो ,बैङक खाता नम्बर र चेकबुकको प्रतिलिपी संगै बाबु आमा बाबुको नाम र मोवाइल नम्वर सहित निवेदन पेश गर्नुपर्ने छ ।

आश्रमका आश्रितलाई माओवादी केन्द्रले खुवायो दर

0

भदौ ३१,२०८० रुपन्देही : महिलाहरुको पर्व हरितालिका तिजको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समितीको संयोजनमा आज बिहान मानव सेवा आश्रममा ( बुटवल सुख्खानगर) आश्रितहरुलाई दर खुवाइएकोछ ।

आश्रमका ४० भन्दा बढी महिला तथा बालबालिकालाई दर खुवाइएको लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले जानकारी दिए । माओवादी केन्द्रले शुरु गरेको विशेष रुपान्तरण अभियान कै दौरानमा रचनात्मक कार्यक्रम अन्तरगत आश्रममा सहयोग गरेको उनले बताए।

माइती हुने चेलीबेटी माइतमा दर खान जानु होला , घरबार बिहीनहरु कहाँ जाने ? पार्टी अभिभावक बन्न पर्छ भनेर सानो कोशेली दर खुवाएका हौं ।
बरालका अनुसार – घरबार बिहिनहरुको संरक्षणको दायित्व सबैको हो भन्ने सन्देश दिन मात्र खोजिएको बताए । पुर्ब मन्त्री समेत रहेका अध्यक्ष बरालले घरबार बिहिनको संरक्षणको पुर्ण दायित्व सरकारको रहने र मन्त्री हुँदा आश्रमको स्थायित्वको लागि काम सुरु गरेको स्मरण गरे ।

आश्रममा बिहान एक छाक दर खुवाउनुको साथै आर्थिक सहयोग पनि गरेको कोषाध्यक्ष निर्दोश अलिले जानकारी दिए । पार्टी समितिको संयोजनमा गरिएको कार्यक्रममा माओवादी केन्द्र रुपन्देहीका अध्यक्ष नारायण जिसि निर्मल, प्रदेश कमिटी सचिवालय सदस्य रिज्जु श्रेष्ठ, नगर कमिटी अध्यक्ष महेन्द्र भुसाल , वडा अध्यक्ष लाल बहादुर थापा स्वास्थ्य बिभागका नगर अध्यक्ष इन्द्र राइ लगायतको उपस्थित रहेको थियो ।

आश्रमको रुपन्देही जिल्ला संयोजक टीका थापाले तिजमा सम्झिएर दर खुवाउन आएकोमा धन्यवाद दिइन । रुपन्देहीको मणिग्राम पश्चिम पहुनीको आश्रममा १६० जना र बुटवल सुख्खानगर आश्रममा ४० जना गरि रुपन्देहीको आश्रममा २ सय जनाले आश्रय लिएरहेका छ्न । बुटवल आश्रममा महिला र बालबालिका रहेका छ्न ।

आगलागीमा परी आमाछोरीको मृत्यु

0
सांकेतिक तस्बिर

भदौ ३०,२०८०सल्यान : सल्यानमा एउटा घरको कोठामा आगलागी हुँदा आमाछोरीको मृत्यु भएको छ।

त्रिवेणी गाउँपालिका २ धामिढुङ्गा बस्ने ३२ वर्षीया रेवती थापा र उनकी ९ महिनाको छोरी ऋतु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

शुक्रबार साँझ सुतेकोमा शनिबार बिहानसम्म कोही पनि नउठेपछि स्थानीयले ढोका खोली हेर्दा सुती रहेको विस्तरामा आगो सल्किन गई जलेर मृत्यु भएको भनी स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए।

 

जलेर मृत्यु भएको भनिएका आमाछोरी टिनले छाएको एकतले कच्ची घरमा बस्दै आइरहेका थिए। के कारणले आगलागी सुरु भयो भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ।

गुल्मीदरबारमा असोज २ गते सार्वजनिक बिदा

0
तस्बिर : खबरमार्केट

गुल्मीः गुल्मीदरबार गाउँपालिकाले असोज २ गते सार्बजनिक बिदा दिएको छ ।

 

महिलाहरुको महान पर्व हरितालिका तीज एवम् ऋषि पंचमीको अवसरमा भदौ २६ गतेको कार्यपालिकाको निर्णय अनुसार सार्वजनिक बिदा दिइएको गुल्मीदरबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजीव पन्थीले जानकारी दिए ।

 

असोज २ गते गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था,बिद्यालय तथा संघ संस्थाहरु बन्द रहने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

0

भदौ ३०,२०८० काठमाडौं : नेपाल आयल निमगले फेरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आजदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु १ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु ३ वृद्धि गरेको हो ।

मूल्य समायोजनसँगै काठमाडौँ पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ८३ र डिजेलरमट्टितेलको मूल्य प्रतिलिटर रु एक सय ७३, सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर रु एक सय ७२ र डिजेलरमट्टितेल प्रतिलिटर रु एक सय ७२ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोल प्रतिलिटर एक सय ८० रुपैयाँ ५० पैसा र डिजेलरमट्टितेल प्रतिलिटर एक सय ७० रुपैयाँ ५० पैसा तोकिएको छ ।

इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्यमा क्रमशः प्रतिलिटर १ रुपैयाँ १२ पैसा र २ रुपैयाँ ९१ पैसा वृद्धि भई आएकाले खुद्रा बिक्री मूल्य बढाउनु परेको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

लुम्बिनी सहितका प्रदेशमा आज वर्षा

0
फाइल फोटो

भदौ ३०,२०८०काठमाडौं : सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना छ।

राति कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एकदुई स्थानमा मेघर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै भारतको पूर्वी मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव छ।

प्रधानमन्त्री आज अमेरिका प्रस्थान गर्ने

0
फाइल फोटो

 

भदौ ३०,२०८०काठमाडौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन आज अमेरिका प्रस्थान गर्दै छन्।

नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रचण्ड साँझ ६ बजे कतार एयरवेजको जहाजमार्फत न्यूयोर्क प्रस्थान गर्न लागेका हुन्। उनले असोज ४ गते संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

त्यसअघि नेपालले राष्ट्र संघमा आबद्ध अल्पविकसित देशको समूह एलडीसीको अध्यक्षता गर्नेछ। अध्यक्ष देशका तर्फबाट प्रचण्डले सम्बोधन गर्नेछन्। यो फोरममा दिगो विकासका लक्ष्य एसडीजीमा चर्चा गर्ने कार्यक्रम छ।

यस्तै प्रचण्ड अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा आयोजित स्वागत समारोहमा पनि सहभागी हुने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ। प्रधानमन्त्रीको साथमा छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल र संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि लोकबहादुर थापालगायत सहभागी हुनेछन् ।

परराष्ट्रमन्त्री साउद नेतृत्वको टोली भने न्यूयोर्क पुगिसकेको छ। राष्ट्रसंघीय महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री प्रचण्ड न्युयोर्कबाटै असोज ५ गते चीन जाने कार्यक्रम छ।

तिनकुने हत्या प्रकरणका चारमध्ये तीन जना एकै परिवारका, सबैको सनाखत

0

काठमाडौं, भदौ ३० गते । काठमाडौँ महानगरपालिका ३२ तीनकुनेस्थित गैह्रीगाउँमा गए राति हत्या गरिएका चारमध्ये तीन जना एकै परिवारका भएको खुलेको छ ।

तीनकुनेस्थित दिव्य सःमिल भित्र काठले बनेको एक तले जस्ताको टहरोमा धारिलो हतियार प्रहार भएको अवस्थामा दुई पुरुष र दुई महिलाको शव फेला परेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । उहाँका अनुसार तीन जना एकै परिवारका छन् ।

हत्या भएकामा दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने वर्ष अन्दाजी ५६ का कुमार भुजेल, उनकी श्रीमती वर्ष अन्दाजी ५२ की अम्बिका भुजेल, कुमारकी आमा वर्ष ७६ की शुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नविन राई रहेका छन् ।

उनीहरुको टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट रहेको पनि मैनालीले जानकारी दिनुभयो । अहिले प्रहरीद्वारा तालिमप्राप्त कुकुरसमेत लगी अनुसन्धान कार्य जारी रहेको छ ।

उक्त दिव्य सःमिल दोलखा, कालीञ्चोक गाउँपालिका ८ घर भई गौशाला बस्ने, बालकृष्ण शिवाकोटीले सञ्चालन गरेको बुझिन आएको छ । अहिले मुचुल्कालगायतको कार्य सम्पन्न गरी शव परीक्षणको लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको मैनालीले जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले काठमाडौँ उपत्यका प्रहरी कार्यालय, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले घटनाको अनुसन्धान गरिरहेको र सबै नाकामा प्रहरी टोली परिचालन गरिएको जानकारी दिनुभयो । गोरखापत्रबाट