Saturday, June 6, 2026

सशस्त्र प्रहरीका ४ जना सुरक्षाकर्मी पुरस्कृत

0

अनिल खत्री
पुस ५,२०८० गुल्मीः गुल्मीमा सशस्त्र प्रहरी वल गुल्मले उत्कृष्ट कार्य सम्पादन गर्ने ४ जना सुरक्षाकर्मीलाई पुरस्कृत गरेको छ ।

सशस्त्र प्रहरी बल ३७ नम्बर गुल्म गुल्मीले १० औं स्थापना दिवस अवसरमा विभिन्न विधामा उत्कृष्ट कार्य सम्पादन गर्ने ४ जना सुरक्षा कर्मीलाई पुरस्कृत गरेको हो ।

पुरस्कृत हुनेहरुमा सशस्त्र प्रहरी नायब निरीक्षक खडग सिंह पेमी, बरिष्ठ हवल्दार जीवन खत्री, सहायक हवल्दार पर्वथ घर्ति रोक्का र परिचर मनोजकु ठाकुर रहेका छन् । दिवसको अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३७ गुल्म हेडक्वाटर गुल्मीको एक कार्यक्रमको आयोजना गरेर सशस्त्र प्रहरी बल नेपाल ५ नम्बर विन्ध्यावासिनी बाहिनी मुख्यालयका सशस्त्र प्रहरी नायब महानिरीक्षक अभि कुमार खत्रीले पुरस्कृत हुनेहरुलाई सम्मान गरेका थिए ।

 

सशस्त्र प्रहरी बल गुल्मीले १० औं स्थापना दिवस विभिन्न कार्यक्रमहरु गरेर मनाएको छ । दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल ५ नम्बर विन्ध्यावासिनी बाहिनी मुख्यालयका सशस्त्र प्रहरी नायब महानिरीक्षक अभि कुमार खत्रीले सहभागितामा विभिन्न कार्यक्रम गरेर मनाइएको हो ।

 

स्थापना दिवसको अवसरमा प्रमुख अतिथि समेत रहेका सशस्त्र प्रहरी बल ५ नम्बर पाँच विन्ध्यावासिनी बाहिनी मुख्यालयका प्रहरी नायब महानिरीक्षक अभि कुमार खत्रीले स्थापना दिवसले प्रहरीको मनोवलमा पनि अझ बृद्धि गरेर नागरिकको सेवामा सधै तत्पर रहन आग्रह गरे । बिपद् व्यवस्थापन, उद्दार लगायत विभिन्न क्रियाकलापमा खेलेको भूमिकाको प्रशंसा गर्दै अझ बढी नागरिकको जिउ धनको सुरक्षा गर्न सधै चनाखो रहन निर्देशन दिए ।

उनले शान्ति सुरक्षा कायम राखि जनताको जिउ धनको सुरक्षा गर्न साझा दायित्वमा निरन्तर सबैको सहयोगको अपेक्षा गरे । दिवसको अवसरमा भिविन्न विधामा खेलहरुमा पुरस्कृत हुनेहरलाई पनि सम्मान गरिएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३७ गुल्मी हेडक्वाटरका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक संजीव काकीले सबैको साथ सहयोगले कुनै विपद्हरुको उद्धारमा सहयोग मिलेको बताए ।

बाख्रेछेडा टोल विकास समितिद्धारा फोर्टिन स्टार युवा क्लवलाई सहयोग

0

सूर्य सुनार
पुस ३,२०८०गुल्मीः बाख्रेछेडा टोल विकास समितिले फोर्टिन स्टार युवा क्लवलाई पुरुष फुटबल प्रतियोगिता संचालनको लागि आर्थिक सहयोग गरेको छ । मंगलबार एक कार्यक्रमका बिच क्लबलाई सहयोग गरिएको हो ।

जिल्लाको रेसुङ्गा नगरपालिका १ र २ का टोल विकास समितिका सदस्यहरुले रकम उठाएर १५ हजार आर्थिक सहयोग गरेका हुन् । आगामी पौष ७ देखि १० गतेसम्म माध्यमिक विद्यालयस्तरीय फुटबल प्रतियोगिताको सम्पन्न गर्न आर्थिक सहयोग गरेको क्लबका सल्लाकार शेर बहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समिति गुल्मीका सदस्य शेर बहादुर विश्वकर्माले कार्यक्रम सफलताको शुभकामना गर्दै युवाहरुको पक्षमा स्थानीय सरकार पनि साथमा रहेको उल्लेख गर्नुभयो ।

फोर्टिन स्टार युवा क्लवले समाजमा सकारात्मक काम संगै समाजको विकासको निम्ती हातेमालो गरेको हुँदा क्लबले आयोजना गरेको फुटबल प्रतियोगितालाई आर्थिक सहयोग गरिएको टोल विकास समितिका अध्यक्ष भोजराज पराजुलीले बताउनुभयो ।

युवाहरुले गर्ने समाज परिवर्तनका कामहरुमा सबैको सहयोग हुनुपर्ने रेसुङ्गा नगरपालिका २ का वडाध्यक्ष हिरा बहादुर थापाले बताउनुभयो । युवाहरुले गर्ने काममा उनीहरुको साथमा रहियो भने प्रोत्साहन हुने विश्वास व्यक्त गर्नुभयो । साथै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै सहयोग गर्ने टोल विकास समितिलाई धन्यवाद व्यक्त गर्नुभयो ।

फोर्टिन स्टार युवा क्लवका महासचिब नारायण आचार्यले क्लबले समाजमा गरेका कामको बारेमा जानकारी गराउनुभएको थियो । क्लबले आयोजना गरेको कार्यक्रमलाई टोलविकास समितिले सहयोग गरेको प्रति धन्यवाद व्यक्त गर्नुभयो ।

क्लबको १३ औँ वार्षिक उत्सवको अवसरमा फुटबल प्रतियोगिता आयोजना गरिएको हो । कार्यक्रमलाई सफल बनाउन देश तथा विदेशबाट पनि क्लबलाई आर्थिक सहयोग भइरहेको क्लबले जनाएको छ ।

क्लबले आज चिदिचौर खेलमैदानमा सरसफाई कार्यक्रम समेत गरेको छ । सामाजिक क्षेत्रमा क्लबले विगतदेखी नै सक्रिय रुपमा काम गदै आएको छ ।

निर्माण सामग्रीमा आगलागी हुँदा ५५ लाखको क्षति

0
सांकेतिक तस्बिर

पुस ३,२०८०काठमाडौँ : ललितपुर महानगरपालिका २५ भैँसेपाटीस्थित निर्माणका सामान राखेको छाप्रोमा विद्युत् सर्ट भई आज आगलागी भएको छ।

आगलागीबाट करिब ५५ लाख बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रहरी परिसर ललितपुरको टोलीले ललितपुर महानगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।

 

गुल्मीमा हराएका बालक जंगलमा मृत फेला

0

अनिल खत्री
पुस २,२०८० गुल्मी : गुल्मीमा १० दिनदेखि हराइरहेको बालक जंगलमा मृत फेला परेका छन् । जिल्लाको चन्द्रकोट गाउँपालिका वडानम्बर ३ हर्राचौरका ६ वर्षका बालक मृत अवस्थामा जंगलमा फेला परेको प्रहरीले जनाएको छ ।

 

मंसिर २२ गते घरबाट हराएका बालकलाई खोज्ने क्रममा घर नजिकैको गगनगैरा भन्ने जंगलमा मृत अवस्थामा फेला परेका थिए । मृत फेला परेका बालकको शब केहि भाग जंगली जनावरले खाएको अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

 

बालक जंगलमा मृत फेला परे पश्चात थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेको कमाण्डमा टोली घटनास्थल तर्फ लागेको छ । घटनाको स्थलगत अवस्था हेरे पश्चात मात्रै कारण खुल्ने डिएसपी पाण्डेले बताए ।

रामतुलसी नमुना माविको ५६ औँ वार्षिकोत्सव सम्पन्न

0

सुशीला रेग्मी
पुस २,२०८० पाल्पाः रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुर पाल्पाले विद्यालय स्थापनाको ५६ औ वार्षिकोत्सव समारोह मनाएको छ । रामपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्व व्यवस्थापन समिति, विद्यार्थी राजुप्रसाद श्रेष्ठले गर्नुभएको हो । प्रमुख अतिथि प्रदेश सभा सदस्य श्रेष्ठले रामतुलसी नमुना मावि पूर्वी पाल्पाको शिक्षाको अभिभावक रहेको बताउनुभयो । यस विद्यालयले शिक्षा क्षेत्रमा ठूलो योगदान गरेको बताउनुहुदै प्रदेश सभा सदस्य श्रेष्ठले शैक्षिक सिकाईको केन्द्रका रुपमा रहेको बताउनुभएको छ ।

 

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले रामतुलसी नगरकै नमुना गौरवको रुपमा रहेको हुदा यहाँ आएपछि धेरै कुरा सिक्न पाईने भएकाले अन्य विद्यालयले अनुशरण गर्नुपर्ने बताउनुभएको छ । संस्कार नहुदा मानिसमा वितृष्णा बढेको हुदा विद्यालयले सुरु गरेको संस्कारसहितको शिक्षा, सिकाईका लागि रामतुलसी भन्ने भनाईलाई आत्मसात् गर्दै अगाडी बढेको यस विद्यालय अभिभावक र विद्यार्थीको रोजाईमा रहेको नगर प्रमुख थापाले बताउनुभयो ।

 

वार्षिकोत्सवका अवसरमा विद्यालयका संस्थापक तथा समाजसेवी देवराज ढकाललाई रामनाथ स्मृती अक्षयकोष र विद्यालयमा चारवटा अक्षयकोष स्थापना गर्नुभएका भुपु विद्यार्थी मन्चका अध्यक्ष शालिकराम कंडेललाई सम्मान गरिएको छ । प्रधानाध्यापक बालकृष्ण लम्सालले विद्यालयको वार्षिक प्रतीवेदन प्रस्तुत गर्नुहुदै कक्षाकोठामा आइ.सी.टी.को प्रयोगका लागि अत्याधुनिक कम्प्युटर ल्यावको स्थापना, प्राथमिक उपचार कक्षको प्रभावकारी रुपमा संचालन भएको बताउनुभयो । व्यवस्थित पुस्तकालयको स्थापना र प्रयोग, आधुनिक चमेनागृह संचालन, सेनेटरी प्याड प्रयोगमा जोड, स्टेम ल्यावको प्रयोग, विद्यालयको वेवसाईट र सर्भर संचालन, विद्यार्थी प्रगती विवरणलाई व्यवस्थित गरिएको प्रधानाध्यापक लम्सालले जानकारी दिनुभयो । विद्यालयको आर्थिक प्रतीवेदन लेखापाल हरिप्रसाद रेग्मीले प्रस्तुत गर्नुभएको छ ।

 

कार्यक्रममा रामपुर नगरपालिकाका नगर शिक्षा अधिकृत विकल काफ्ले, विद्यालयका पुर्व शिक्षक तथा समाजसेवी देवराज ढकाल, समाजसेवी फणेश्वर गौतम, पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष किर्तिनाथ श्रेष्ठ, समाजसेवी दुर्गादेवी राना, नेपाल सरकारका पुर्व सहसचिव मधुसूदन पोखरेल, संचारकर्मी सीता डोटेल लगायतले बोल्दै कार्यक्रम सफलताको शुभकामना दिनुभएको छ । नेपाल सरकारका पुर्व सहसचिव मधुसुदन पोखरेलले आफ्ना स्वर्गीय हजुरबुबा लोकनाथ पोखरेल र बुबा ज्ञानेश्वर पोखरेलको नाममा रु दुई लाख एक हजार, १५५ बराबरको अक्षयकोष स्थापना गर्नुभएको छ । सो रकम विद्यालयमा अध्ययनरत असहाय छात्रवृत्ति कोषका रुपमा स्थापना गरिएको छ । निवर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद पौडेलले स्वागत गर्नुभएको कार्यक्रमको संचालन शिक्षक लेखनाथ शर्मा मरासिनीले गर्नुभएको हो ।

तीन तहमा विद्यालय चलाउने, हाल पूर्वप्राथमिक तह अन्तर्गत कक्षा नर्सरी देखि २ सम्म दुई सय विद्यार्थी अध्ययनरत रहेको, हाल दुईवटा स्कुल बस सेवा रहेकोमा एकवटा थप गरी तीनवटा स्कुल बस सेवा संचालन गर्ने योजना रहेको छ । करिव दुई हजार सात सय विद्यार्थी अध्ययनरत यस विद्यालयमा एक सय नौ शिक्षक कर्मचारी कार्यरत छन् । प्राविधिक धारतर्फ तीनवर्षे कृषिबाली विज्ञान विषयमा पठनपाठन भइरहेको छ ।

 

गुल्मीमा बोका चोर्ने दुई जना पक्राउ

0

पुस १,२०८० गुल्मी गुल्मीमा बोका चोर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ५ का ५२ वर्षीय बिष्णुकुमारी जोगीको खोरबाट २२ किलोको बोका चोर्ने २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

पक्राउ पर्नेमा वडा नम्वर ७ का २३ वर्षीय विरेन्द्र परियार र अर्का एक जनाको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ । उनीहरुले चोरी गरेको बोकालाई काटेर केही खाएको र केही बिक्री गरेको उनीहरुले प्रहरीलाई जनाएको प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

पक्राउ परेका २ जनालाई जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

0

मंसिर २९,२०८०ःनेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। घटाइएको नयाँ मूल्य शनिबार राती १ बजेदेखि लागू हुनेछ।

निगमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३–३ रुपियाँ मूल्य घटाएको जनाएको छ ।

नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १६७, डिजेल र मट्टितेल १५७ रुपियाँ पर्नेछ।

काम गर्ने उत्साहलाई रोक्न अख्तियारमा उजुरी : खडका

0

मंसिर २९,२०८० गुल्मी : इश्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खडकाले आफूलाई काम गर्न नदिन चौतर्फी घेराबन्दी गरेको बताउनुभएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलले इश्मामा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्बन्धी स्थानीय तह स्तरीय अन्र्तक्रिया कार्यक्रममा खड्काले यस्तो बताउनुभएको हो ।

पालिकामा काम गर्ने उर्जालाई कमजोर बनाउनका लागि अख्तियारमा उजुरी राखेर दुःख दिनका लागि केही पक्षहरु हात धोएरै लागेको बताउँदै खडकाले मन सफा राखेर आफूले जनतालाई सेवा दिन पछि नपर्ने उद्घोष गर्नुभयो ।

अख्तियारले पनि कानुनको डन्डा बजाएर नहुँने भन्दै केही कुराहरुलाई ब्यबहारीक रुपमा हेर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
अख्तियार बुटवल कार्यालयका उपसचिव ठाकुर प्रसाद आचार्य, इन्जिनियर टीकाबहादुर थापा लगायतले कार्यालयले गर्ने कार्य , उजुरीका प्रकृतिहरु र काम कारवाहीका बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा सहभागीहरुले झुटा उजुरी दिनेलाई कारवाही र सही उजुरी दिनेलाई पुरस्कृत गर्नुपर्नेमा जोड दिएका थिए ।
इश्मा गाउँपालिकाका ७ वटा उजुरी हाल अख्तियारमा रहेका छन् ।

बुबाको औषधी किन्न गएका छोरा मृत फेला

0

मंसिर २९,२०८०ः बुबाको उपचारका लागि कास्कीको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा आएका तनहुँका एक किशोर मृत भेटिएका छन्।

पोखरा महानगरपालिका–१६ लामाचौरमा बस्दै आएका १९ वर्षीय सङ्गम मिश्रको शव पोखरा–१६ दीपमा रहेको सेती नदीको ड्याम खोलेर खोजी गर्ने क्रममा नदीपुर स्थित सेती नदीबीच ढुङ्गामा अड्किएको अवस्थामा फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकका अनुसार बाबु हरिप्रसाद मिश्रलाई ज्वरो आएपछि सङ्गम उपचारको लागि मणिपाल शिक्षण अस्पतालमा आएका थिए। सङ्गम बुबाको उपचारको क्रममा औषधी लिन निस्किएका थिए।

उनी सम्पर्कविहीन बनेपछि वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दा मणिपाल अस्पतालबाट नदिपुरतर्फ आउने झोलुङ्गे पुलको बिचमा उनको कपडा र परिचय पत्र फेला परेको थियो।

उनले सोही पुलबाट सेती नदीमा हाम फालेको हुन सक्ने अनुमान सहित प्रहरीले सेती नदीको ड्याम खोल्दै पानी सुकाएर खोजी थालेको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले शव निकालेर पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएको छ।

उनको मृत्युको विषयमा अनुसन्धान चलिरहेको पनि जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बिकले जानकारी दिए।

गुल्मीमा चितुवाले खोरभित्रैबाट चारवटा बाख्रा खायो

0

मंसिर २९,२०८० गुल्मीः पछिल्लो समय गुल्मीमा चितुवा आतङ्क बढ्दै गएको छ ।

रातको समयमा जंगलबाट चितुवा वस्तीमा पस्दा स्थानीयहरुमा त्रास पैदा भएको छत्रकोट ६ का लक्ष्मण ज्ञवालीले गुनासो गरे । ज्ञवालीको खोरमा रहेका चार वटा बाख्रा चितुवाले खाएको उनले बताए ।

राती करिव एक बजेतिर बाख्रा कराएको आवाज सुनेपनि डरले आफूबाहिर निस्कन नसकेको ज्ञवालीले बताए । रातको समयमा बाहिर निस्कदा आफनो ज्यान समेत जोखिममा रहने भएकाले बाहिर ननिस्केको उनको भनाई छ ।

एउटा बाख्रा खोर नजिकै मरेको अवस्थामा फेला परेको छ भने तीन वटा बाख्रा फेला नपरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।