रामतुलसी नमुना माविको ५६ औँ वार्षिकोत्सव सम्पन्न

0
130

सुशीला रेग्मी
पुस २,२०८० पाल्पाः रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुर पाल्पाले विद्यालय स्थापनाको ५६ औ वार्षिकोत्सव समारोह मनाएको छ । रामपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्व व्यवस्थापन समिति, विद्यार्थी राजुप्रसाद श्रेष्ठले गर्नुभएको हो । प्रमुख अतिथि प्रदेश सभा सदस्य श्रेष्ठले रामतुलसी नमुना मावि पूर्वी पाल्पाको शिक्षाको अभिभावक रहेको बताउनुभयो । यस विद्यालयले शिक्षा क्षेत्रमा ठूलो योगदान गरेको बताउनुहुदै प्रदेश सभा सदस्य श्रेष्ठले शैक्षिक सिकाईको केन्द्रका रुपमा रहेको बताउनुभएको छ ।

 

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले रामतुलसी नगरकै नमुना गौरवको रुपमा रहेको हुदा यहाँ आएपछि धेरै कुरा सिक्न पाईने भएकाले अन्य विद्यालयले अनुशरण गर्नुपर्ने बताउनुभएको छ । संस्कार नहुदा मानिसमा वितृष्णा बढेको हुदा विद्यालयले सुरु गरेको संस्कारसहितको शिक्षा, सिकाईका लागि रामतुलसी भन्ने भनाईलाई आत्मसात् गर्दै अगाडी बढेको यस विद्यालय अभिभावक र विद्यार्थीको रोजाईमा रहेको नगर प्रमुख थापाले बताउनुभयो ।

 

वार्षिकोत्सवका अवसरमा विद्यालयका संस्थापक तथा समाजसेवी देवराज ढकाललाई रामनाथ स्मृती अक्षयकोष र विद्यालयमा चारवटा अक्षयकोष स्थापना गर्नुभएका भुपु विद्यार्थी मन्चका अध्यक्ष शालिकराम कंडेललाई सम्मान गरिएको छ । प्रधानाध्यापक बालकृष्ण लम्सालले विद्यालयको वार्षिक प्रतीवेदन प्रस्तुत गर्नुहुदै कक्षाकोठामा आइ.सी.टी.को प्रयोगका लागि अत्याधुनिक कम्प्युटर ल्यावको स्थापना, प्राथमिक उपचार कक्षको प्रभावकारी रुपमा संचालन भएको बताउनुभयो । व्यवस्थित पुस्तकालयको स्थापना र प्रयोग, आधुनिक चमेनागृह संचालन, सेनेटरी प्याड प्रयोगमा जोड, स्टेम ल्यावको प्रयोग, विद्यालयको वेवसाईट र सर्भर संचालन, विद्यार्थी प्रगती विवरणलाई व्यवस्थित गरिएको प्रधानाध्यापक लम्सालले जानकारी दिनुभयो । विद्यालयको आर्थिक प्रतीवेदन लेखापाल हरिप्रसाद रेग्मीले प्रस्तुत गर्नुभएको छ ।

 

कार्यक्रममा रामपुर नगरपालिकाका नगर शिक्षा अधिकृत विकल काफ्ले, विद्यालयका पुर्व शिक्षक तथा समाजसेवी देवराज ढकाल, समाजसेवी फणेश्वर गौतम, पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष किर्तिनाथ श्रेष्ठ, समाजसेवी दुर्गादेवी राना, नेपाल सरकारका पुर्व सहसचिव मधुसूदन पोखरेल, संचारकर्मी सीता डोटेल लगायतले बोल्दै कार्यक्रम सफलताको शुभकामना दिनुभएको छ । नेपाल सरकारका पुर्व सहसचिव मधुसुदन पोखरेलले आफ्ना स्वर्गीय हजुरबुबा लोकनाथ पोखरेल र बुबा ज्ञानेश्वर पोखरेलको नाममा रु दुई लाख एक हजार, १५५ बराबरको अक्षयकोष स्थापना गर्नुभएको छ । सो रकम विद्यालयमा अध्ययनरत असहाय छात्रवृत्ति कोषका रुपमा स्थापना गरिएको छ । निवर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद पौडेलले स्वागत गर्नुभएको कार्यक्रमको संचालन शिक्षक लेखनाथ शर्मा मरासिनीले गर्नुभएको हो ।

तीन तहमा विद्यालय चलाउने, हाल पूर्वप्राथमिक तह अन्तर्गत कक्षा नर्सरी देखि २ सम्म दुई सय विद्यार्थी अध्ययनरत रहेको, हाल दुईवटा स्कुल बस सेवा रहेकोमा एकवटा थप गरी तीनवटा स्कुल बस सेवा संचालन गर्ने योजना रहेको छ । करिव दुई हजार सात सय विद्यार्थी अध्ययनरत यस विद्यालयमा एक सय नौ शिक्षक कर्मचारी कार्यरत छन् । प्राविधिक धारतर्फ तीनवर्षे कृषिबाली विज्ञान विषयमा पठनपाठन भइरहेको छ ।

 

SHARE