
तिलाचन पाण्डे
जेठ १४,२०८३ गुल्मीः शिलान्यास भएको पाँच वर्ष भन्दा बढी हुँदा पनि गुल्मीका अस्पताल सम्पन्न हुन सकेको छैनन् । २०७७ साल मङसिर १५ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशभरका तीन सय ९६ स्थानीय तहहरुमा एकै दिन अस्पतालहरुको शिलान्यास गर्ने निर्णय अनुसार गुल्मीमा शिलन्यास भएका अस्पतालको अवस्था दयनीय छन् ।
अस्पतालको शिलन्यास गर्नका लागि केन्द्रिय मन्त्री, पुर्व मन्त्री, प्रदेश स्तरका मन्त्री र प्रदेश सभा सदस्यहरुले गाउँ–गाउँमा पुगेर एकै दिन दुई तीन वटा अस्पतालको शिलन्यास गर्नसमेत हतार हतार गर्नुभयो । शिलन्यास भएको झण्डै पाँच वर्ष पुग्न लाग्दा पनि थुप्रै स्थानीय तहका अस्पताल निर्माणको कामले गति लिन सकेका छैनन् ।
छत्रकोट अझै अन्योलमा
छत्रकोट गाउँपालिकाको १५ शैयाको अस्पताल तत्कालिन लुम्बिनी प्रदेश सभा सदस्य कमलराज श्रेष्ठले शिलन्यास गर्नुभयो । वडा नं ४ श्रृङ्गामा अस्पतालको शिलन्यास गरेको झण्डै पाँच वर्ष पुग्न लाग्दासमेत अस्पताल बन्ने होकी होइन भन्नेमै अन्योल स्थिति रहेको छ ।
शिलन्यास गरिएको जग्गा भवन मापदण्ड अनुसार नभएकाले शिलन्यास गरिएको जग्गाको करिव तीन सय मिटर पर लामो कसरत पश्चात जग्गाको ब्यबस्थापन गर्ने कार्य सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेका अनुसारजग्गा प्राप्तीको कार्य सम्पन्न भई डिपीआरलगायतका कार्य सम्पन्न भएपनि पछिल्लो अवस्थामा स्रोतको सुनिश्चिततामा अन्योलनै कायम रहेकाले बोलपत्र गर्नमा पनि अन्योल नै रहेको छ ।
मालिकाको बल्ल सुरु
मालिका गाउँपालिका वडा नं ४ अर्खबाङ्गमा पूर्व मन्त्री तथा संघीय सांसद गोकर्णराज बिष्टले तामझामका साथ अस्पतालको शिलन्यास गर्नुभयो । उक्त शिलन्यास गरिएको अस्पताल लामो समयसम्म शिलन्यासमै मात्र सीमित रहन पुग्यो ।
शिलन्यास गरिएको जग्गामा मापदण्ड नपुेकाले नजिकै जग्गाको ब्यवस्थापन गरी अस्पताल निर्माणको कार्य अगाडी बढेको छ । गाउँपालिकाका इन्जिनियर विष्णु अर्यालका अनुसार हालसम्म ३० प्रतिशत भौतिक र २२ प्रतिशत वित्तीय प्रगति भएको छ ।
धुर्कोटमा ३० प्रतिशत काम

धुर्कोट गाउँपालिको धुर्कोट रजस्थलमा अस्पताल निर्माणका लागि खनिएको वेस (घडेरी मा)पहिरो आएका कारण निर्माणको कार्य अगाडि बढ्न सकेको थिएन ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेम खनालका अनुसार लामो समयको कसरत पश्चात मन्त्रालयबाट डिपिआर र नक्सा केही परिवतर्न गरी गत वर्षबाट अस्पतालको निर्माण कार्य सुरु गरिएको छ । अहिले अस्पताल निर्माणको भौतिक र आर्थिक प्रगति करिव ३० प्रतिशत भएको उहाँको भनाइ छ । पूर्वमन्त्री समेत रहनुभएका गोकर्णराज बिष्टले शिलन्साय गरेको अस्पताल निर्माणको जिम्मा रविना–अर्जुन–न्यु लिजा जेभीले १३ करोड बढीको लागतमा पाएको छ ।
इश्मामा ४५ प्रतिशत काम
गाउँपालिकाका इन्जिनियर हरिप्रसाद पाण्डेका अनुसार इस्मा गाउँपालिका ४ दोहली स्थित गुरुङगाडेमा १५ शैयाको अस्पताल निर्माणको कार्य ४५ प्रतिशत भौतिक प्रगति भएको छ । १० करोड ८५ लाख ३६ हजारको लागतमा सुनिल समिर निर्माण सेवाले निर्माणको जिम्मा पाएको छ ।
रुरुक्षेत्रमा ८५ प्रतिशत काम
गाउँपालिकाका इन्जिनियर सुशिल पन्थीका अनुसार रुरुक्षेत्र गाउँपालिकाको वडा नं १ को रातामाटामा निर्माणधिन अस्पतालको करिव ९० प्रतिशत भौतिक प्रगति ८५ प्रतिशत भएको छ । अस्पतालको लुम्बिनी प्रदेशका तत्कालिन सामाजिक बिकासमन्त्री सुदर्शन बरालले शिलन्यास गर्नु भएको हो । प्रकृति–पिटिआर–अधिकारी–राजेश्वरी जेभी सन्धिखर्कले १४ करोड ४२ लाख ८२ हजार ६ ५९ रुपियाँको लागतमा अस्पताल निर्माणको जिम्मा पाएको छ ।
कालीगण्डकीमा ५५ प्रतिशत भैतिक प्रगति
तत्कालिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बाजागाजा र तामझामका साथ शिलन्यास गरेको अस्पतालको ५५ प्रतिशत भौतिक र आर्थिक प्रगति भएको छ । गाउँपालिकाको वडा नम्वर तीन कनौटामा करिव साढे १२ करोडको लागतका खिम्ती–श्रेष्ठ–अन्जना जेभिले अस्पताल निमार्णको कार्य गरेको छ । उक्त अस्पतालको शिलन्यास गरे लगत्तै मन्त्री ज्ञवाली प्रभुको हेली मार्फत पोखरा हुँदै मन्त्री परिषदको बैठकमा सामेल हुन हतारमा काठमाडौँ फर्किनुभएको थियो ।
सत्यवती गाउँपालिकामा १५ शैयाको अस्पताल वडा नं ६ जोहांङमा निर्माणधिन अवस्थामा छ । गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेका अनुसार ८५ प्रतिशत भौतिक प्रगति र ६० प्रतिशत भन्दा बढी आर्थिक प्रगति भएको छ । १२ करोड बढीको लागतमा आशिष योगेश्वर जेभी काठमाण्डौँ निर्माण सेवाले निर्माण कार्यको जिम्मा पाएको छ ।
मदाने गाउँपालिकामा वडा नं ६ पुर्कोटदहमा अस्पताल निर्माणको भौतिक प्रगति ७२ र वित्तीय प्रगति ६८ प्रतिशत रहेको छ । हिमदुम–एसी निर्माण कम्पनी बाग्लुङले १२ करोड ४८ लाखमा अस्पताल निर्माणको जिम्मा पाएको छ ।
मुसिकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुष्कर गौतमका अनुसार मुसिकोट नगरपालिका वडा नं ७ मा १५ शैयाको अस्पतालको निर्माण कार्य ९० प्रतिशत भौतिक प्रगति र ८४ प्रतिशत वितीय प्रगति भएको बताउनुभयो । उक्त अस्पतालको निर्माणको जिम्मा खिम्ती–श्रेष्ठ–कालीगण्डकी जेभीले पाएको छ । ११ करोड १० लाख २६ हजार १०८ रुपियाँ लागतमा अस्पताल निर्माण हुनेछ । ८४
दुई अस्पताल सम्पन्न भई सञ्चालमा
गुल्मी दरवार गाउँपालिकाको वडा नं ३ को झाँक्री डाँडामा १५ शैयाको अस्पताल निर्माण कार्य सम्पन्न भई सञ्चालनमा ल्याएको छ । उक्त अस्पताल बिकोइ–अर्जुन–न्यू लिजा जेभीले १२ करोड ९४ लाखमा अस्पताल निर्माणको जिम्मा पाएको थियो ।
चन्द्रकोट गाउँपालिका वडा नम्वर ४ शान्तिपुरमा पनि अस्पताल निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएको छ । कुल १३ करोड ६६ लाख ४४ हजार सात सय ३६ रुपियाँमा तुल्सीभक्त–अर्जुन बिल्डर्स जेभीले निर्माण सम्पन्न गरेको छ ।













