
जेठ १२,२०८३ कपिलबस्तु : जिल्लाको महाराजगञ्ज नगरपालिका–४ बरईपुरस्थित तौलिहवा–बहादुरगञ्ज हुलाकी सडकखण्डमा मङ्गलबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । काठमाडौँबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १२६६ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको हो ।
दुर्घटनापछि घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल कपिलवस्तुमा उपचार गरिएको र थप उपचारका लागि भैरहवा रिफर गरिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर, १९ जनाको मध्यम र १७ जनाको अवस्था सामान्य रहेको छ ।
बस चालक सुर्खेतका ३० वर्षीय डिल्लीप्रसाद दाहाल, सहचालक राजन बुढा लगायत यात्रुहरू घाइते भएका छन् । गम्भीर घाइतेहरूमा बर्दियाकी ४५ वर्षीया पवित्रा देवकोटा र सुर्खेतका ३० वर्षीय प्रकाश विक रहेका छन् ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













