
जेठ ९,२०८३ ताप्लेजुङ : इन्द्रावती खोलामा आएको बाढीले मोटरेवल -मोडर गुड्ने पुलमा क्षति पुर्याउँदा यातायात सेवा अवरुद्ध भएको छ । ताप्लेजुङ र पाँचथरको सिमाना भई बग्ने इन्द्रावती खोलाले मोटरेवल पुलमा क्षति पुर्याउँदा यातायात सेवा पूर्णरुपमा अवरुद्ध बनेको हो ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ साब्लाखु र पाँचथरको याङ्वरक गाउँपालिका–४ थर्पु जोड्नेगरी इन्द्रावती खोलामा निर्माण गरिएको मोटरेवल पुलमा बाढीले क्षति गरेको हो । साब्लाखुका स्थानीय सञ्जय पन्दाकका अनुसार शुक्रबार राति इन्द्रावती खोलामा आएको बाढीले पुलमा क्षति पुर्याएको हो ।
बाढीले मोटरेवल पुलको साब्लाखुतर्फको भागमा क्षति गरेको पन्दाकले जानकारी दिनुभयो । पक्की संरचनाभन्दा बाहिरीतर्फ करिव छ मिटर जति पुलको जिपमा बाढीले क्षति पु¥याउँदा यातायात सेवा पूर्णरुपमा अवरुद्ध बनेको उहाँले बताउनुभयो । पुलको पक्की संरचना पनि निकै जोखिममा रहेको उहाँले जानकारी दिनुभयो ।

पुलमा क्षति भई सडक अवरुद्ध हुँदा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका क्षेत्र र सिरिजङ्घा गाउँपालिकाको वडा नं। ७ खेवाङ र वडा नं। ८ याम्फुदिनबाट सञ्चालन हुने लामो तथा छोटो दूरी यातायात सेवा ठप्प भएको छ । सिदिङ्वा गाउँपालिकाकी उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दनां) का अनुसार बाढी पुलमा क्षति गरेपछि सिदिङ्वाका विभिन्न वडाबाट सदरमुकाम फुङ्लिङ र लामो दूरीतर्फ पाँचथर, इलाम हुँदै अन्यत्र जाने सवारी साधन रोकिएका छन् ।
यस्तै सिदिङ्वातर्फ भित्रने यात्रु तथा मालबाहक सवारी साधन पनि पाँचथरतर्फ नै रोकिएका उपाध्यक्ष कडरियाले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार साँझपछि इन्द्रावती खोलाको शिरतर्फ ठुलो वर्षा भएको र वर्षाका कारण बाढी आएको हो । बाढीले उक्त मोटरेवल पुलबाहेक अन्य स्थानमा क्षति गरे नगरेको अवस्थाबारे अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको पनि उहाँले बताउनुभयो । गोरखापत्रबाट











