Friday, June 5, 2026

गुल्मीदरबारमा गाउँसभाको चौधौं अधिवेशन सुरु

0

पुस २६,२०८० गुल्मीःगुल्मीको गुल्मीदरबार गाउँपालिकाले गाउँसभाको चौधौं अधिवेशन सुरु गरेको छ । बिहीबारदेखि गाउँपालिकाले सभाहलमा चौधौं अधिवेशन सुरु गरेको हो ।

गुल्मीदरबार गाउँपालिका तथा गाउँसभा अध्यक्ष सरोजकुमार थापाले चौधौं अधिवेशन शुभारम्भ गर्नुभयो । त्यसलगत्तै गाउँ सभा सदस्य मुकेश थापाले खानेपानी तथा सरसफाइ र स्वच्छता सम्बन्धी विधेयक २०८० सभामा पेश गर्नुभयो । उक्त विधेयक सम्बन्धी १५ दिनसम्म गाउँ सभा सदस्यहरुले राय सुझाव तथा संशोधन सम्बन्धी प्रस्ताव पेश गर्न सक्नुहुनेछ ।

गाउँसभा सचिव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीले चालु आर्थिक वर्ष २०८०र०८१ को हालसम्म भएको वित्तीय प्रगति प्रस्तुत गर्नुभयो । उहाँले गाउँपालिकाको कुल बजेट ४६ करोड ५५ लाख ४८ हजार भएकोमा आम्दानी १४ करोड ७२ लाख ५२ हजार भएको बताउनुभयो । उहाँले हालसम्म ८ करोड ८२ लाख १६ हजार खर्च भएको सभामा जानकारी दिनुभयो । जून खर्च कुल बजेटको १८.९४ प्रतिशत हो ।

गाउँसभा तथा गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले चालु आर्थिक वर्षको हालसम्म गाउँपालिकाले गरेका मुख्य उपलब्धिहरु सभामा प्रस्तुत गर्नुभएको थियो ।लाइभ गुल्मी

मातृ तथा शिशु मृत्युदर घटाउन लुम्बिनी सरकारको उच्च प्राथमिकता : मन्त्री खनाल

0

पुस २६,२०८० बाँके :लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले सुत्केरी हुन नसकी अकालमा कुनै आमा तथा नवजात शिशुको मृत्यु हुन नदिन लुम्बिनी प्रदेश सरकारले उच्च प्राथमिता दिएको बताउनु भएको छ ।

नरैनापुरमा निर्माणधिन अस्पतालको निरिक्षण गर्न पुग्नु भएका मन्त्री खनालले स्वास्थ्य सबै संयन्त्रको पहिलो प्राथमिकता मातृ तथा नवशिशु मृत्युदरमा उल्लेखनीय सुधार ल्याउने भन्ने छ, आमा सुरक्षा कार्यक्रम सबै आमालाई प्रसूति सेवाको पहुँचको सुनिश्चितता सरकारले गरेको बताउनुभयो । उहाँले लुम्बिनी प्रदेशले नरैनापुरलाई प्रमुख प्राथमिकतामा राखेको बताउदै उहाँले निर्माणधिन अस्पतालका लागि ५० लाख बजेट विनियोजन गरेको बताउनु भयो । ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य संस्थालाई जनशक्ति, उपकरण तथा भौतिक पूर्वाधारमा बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका तयार भएको जानकारी दिँदै उहाँले नरैनापुरका निर्माणधिन अस्पताललाई प्रसूति तथा स्त्रीरोग अस्पतालका रुपमा विकास गर्नका लागि प्रदेशबाट थप बजेटको व्यवस्था मिलाउने जिकिर गर्नु भयो ।

शहरी विकास मन्त्री कृष्ण केसीले प्रदेश सरकार र नरैनापुरको अस्पताल बीचको सहकार्यमा आगामी दिनमा स्त्रीरोग सेवा र शिक्षाको विस्तार गर्न आवश्यक रहेको बताउदै सहरी विकास मन्त्रालयबाट गर्न सक्ने सहयोग गर्ने बताउनुभयो ।

नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आफूहरु लागि परेको बताउदै आर्थिक अभाव र आवश्यक उपकरण खरिद गर्न नसकेकोले चाहे जति स्वास्थ्य सेवा प्रवाह गर्न नसकेको बताउनुभयो । उहाँले नरैनापुरमा कुनै प्रकारको स्रोत नरहेकोले पनि आर्थिक समस्या भएको बताउदै प्रदेश र संघीय सरकारबाट बजेटको व्यवस्था मिलाई दिन मन्त्री द्वय संग आग्रह गर्नु भएको थियो । नरैनापुरका स्वास्थ्य संयोजक नगेन्द्र कमार शाहले नरैनापुरमा ४६ हजार २ सय जनसंख्या रहेको बताउदै यो आर्थिक वर्षमा ६ सय ६६ जना सुत्केरी र एक २१५ जना गर्भवति रहेको तथ्याकं प्रस्तुत गर्नु भएको थियो ।
नरैनापुर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले स्वागत गर्नु भएको कार्यक्रमको संचालन जिन्सी शाखा प्रमुख भरत महतोले गर्नु भएको थियो । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव, निर्देशक, प्रदेश सभा सदस्यहरु,वडा अध्यक्षहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

१५ जनामा कोरोना सकंम्रण पुष्टि

0

पुस २४,२०८० काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा १० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन डट वान पुष्टि भएको सार्वजनिक गर्दै बागमती प्रदेशमा नयाँ १० जनामा कोरोना सङ्क्रमण भएको पाइएको छ।

 

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले मङ्गलबार यस प्रदेशमा पछिल्लो २४ घण्टामा १० जना कोरोना सङ्क्रमित फेला परेको जनाएको छ। सोमबार साँझको मन्त्रालयद्वारा कोरोनासम्बन्धी विवरणमा बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा सङ्क्रमण शून्य रहेको थियो। पछिल्लो २४ घण्टामा नेपालभरमा १५ जना कोरोना सङ्क्रमित थपिएको तथ्याङ्क छ।

 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा बागमती प्रदेशमा २१ जनाको स्वाव परीक्षण गर्दा १० जनामा कोभिड १९ भेटिएको हो।

जिल्लाको शान्ती सुरक्षा पहिलो प्राथमिकता

0

तिलाचन पाण्डे
पुस २४,२०८० गुल्मीः सोमबारबाट गुल्मी जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्नुभएका कृष्णप्रसाद शर्माले जिल्लामा शान्ती सुरक्षा कायम गर्नु पहिलो प्राथमिकता रहेको बताउनु भएको छ ।

मंगलवार जिल्ला स्थित राजनीतिक दल, सञ्चारकर्मीहरुसँगको भेटघाटका क्रममा उहाँले जिल्लाको शान्ती सुरक्षा कायम गर्नु पहिलो प्राथमिकता भएको बताउनुभयो ।
त्यस्तै विकास निर्माणका कामहरुमा हुने ढिलासुस्ती, अनियमितता र गुणस्तरता कायम गर्नमा आफूले ध्यान दिने बताउनुभएको छ । शर्माले प्रशासनिक कामको सुधारसँगै सेवाग्रहीलाई सेवामैत्री वातावरण तयार गर्न आफू सदैव तयार रहेको बताउनुभयो ।

सिमित कर्मचारीहरुबाट असिमित सेवाहरु प्रवाह गर्नुपर्ने भएकाले आन्तरिक रुपमा ब्यवस्थापन गरेरै भएपनि नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्नेमा ढुक्क हुन आग्रह गर्नुभयो । नागरिकलाई संबिधानले प्रत्याभूत गरेका अधिकारहरुलाई सहज तरिकाले प्रदान गर्दै जनमुखी सेवा प्रवाहमा मुख्य जोड दिने उहाँको भनाइ छ ।

केही दिन पहिले प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी उमेरहदका कारण अनिवार्य अवकाश भएपछि पुस १९ गते नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा शर्माले गुल्मीको जिम्मेवारी पाउनुभएको थियो । बाग्लुङ जिल्ला निवासी शर्मा गुल्मी जिल्लाको ४३ औं प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ ।

 

विकटलाई निकट वनाउन चन्द्रकोट र कालीगण्डकी जोड्ने झोलुङ्गेपुलको शिलान्यास

0

पुस २२,२०८० गुल्मी :चन्द्रकोट गाउँपालिकामा दुई पालिका जोड्ने झोलुङ्गेपुलको शिलान्यास भएको छ । आइतबार गाउँपालिका अध्यक्ष युवराज केसीले चन्द्रकोट ५ ग्वाघामा रहेको छरछरे खोलामा ७६ मिटर लामो झोलुङ्गेपुलको शिलान्यास गर्नुभएको हो ।

उक्त झोलुङ्गेपुलले जिल्लाको चन्द्रकोट गाउँपालिका र कालीगण्डकी गाउँपालिकालाई जोड्ने छ । जसबाट बाग्लुङ जिल्लाको बरेङ गाउँपालिका सहित गुल्मीको चन्द्रकोट र कालीगण्डकीका करिब १७५ घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन् ।

कुल ४२ लाख ४३ हजार बरावरको लागतमा निर्माण हुन लागेको उक्त झोलुङ्गेपुल २०८१ असार १७ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पुलको शिलान्यास गदै गाउँपालिका अध्यक्ष युवराज केसीले विकटलाई निकट वनाउने अभियान जारी छ । साथै उहाँले समयमै गुणस्तरिय कार्य सम्पन्न गर्न र गराउन सवै सरोकारवालाहरुलाई आग्रह समेत गर्नुभयो ।

 

यस्तै गाउँपालिका उपाध्यक्ष विष्णुप्रसाद भण्डारीले झोलुङ्गेपुलको निर्माण सम्पन्न पछि स्थानियलाई राहत हुने बताउनुभयो ।


कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विष्णुप्रसाद भण्डारी, प्रमुख प्रशासकीय अधिकृत सरोज भुसाल, वडाध्यक्ष तथा जनप्रतिनिधिहरू, झोलुङ्गेपुल निर्माण उपभोक्ता समितिका पदाधिकारी, स्थानीय उपभोक्ताहरू लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

यस्तै ग्वाघा माध्यमिक विद्यालयको निर्माणाधिन थप ४ कोठे भवनको अनुगमन समेत गरिएको गाउँपालिकाका अध्यक्ष युवराज केसीले जानकारी दिनुभयो ।

नरैनापुरमा हात्तीपाइलेको जिवाणु परीक्षण

0

पुस २२,२०८० बाँके : बाँकेको नरैनापुर गाँउपालिका वडा नं ४ खोदवा गाँउमा शनिबार ३०२ जनाको हात्तीपाइले रोगको जिवाणु परीक्षण गरिएको छ । तीन सय दुई जनामा गरिएको ¥यापिट डाइगोनिष्टक टेस्ट (आरडिटी)मा नरैनापुरमा हात्तीपाइले रोगको जिवाणु (माइक्रोफाइलेरिया) फेला नपरेको नरैनापुर गाँउपालिकाका स्वास्थ्य शाखाका प्रमुख नगेन्द्रकुमार शाहले जानकारी दिनुभयो ।

राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि इपिडिमियोलोजिकल मनिटरिङ सर्भेका क्रममा शनिबार खोदवामा आरडिटी जाँच गरिएको थियो ।

नरैनापुरमा पोजेटिभ नदेखिएकोले औषधि सेवन गर्नुपर्ने अवस्था नभए पनि डुडुवा गाँउपालिका र नेपालगंज उपमहानगरपालिकामा यदि पोजेटिभ केस फेला परेको खण्डमा दुई वर्ष थप तिन वटै पालिकाका नागरिकले औषधी सेवन गर्नु पर्ने संयोजक शाहले बताउनुभयो ।

 

हात्तीपाइले विरुद्धको औषधि सेवनमा नागरिकको बेवास्ता, लगातार औषधि नखानु र लामखुट्टेको प्रकोपका कारण निरन्तररूपमा अभियान चलाइराख्नु परेको हो । स्वास्थ्य कार्यालयले अहिले पालिका स्तरमा स्वास्थ्यकर्मी परिचालन गरी हात्तीपाइले रोगको जिवाणु परीक्षण सुरु गरेको छ ।

यसैगरी बाँकेको कोहलपुर नगरपालिका वडा नं। ६ रझेनामा तीन सय जनामा गरिएको ¥यापिट डाइगोनिष्टक टेस्ट (आरडिटी)मा ४८ जनामा हात्तीपाइले रोगको जिवाणु ९माइक्रोफाइलेरिया० फेला परे पछि आरडिटी पोजेटिभ देखिएका ४८ जनाको पुनः माइक्रोस्कोपिङ जाँच गरिएको कोहलपुर नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक प्रेम पाण्डेले जानकारी दिनुभयो ।

आरडिटी जाँचमा शरीरभित्र मरेका जिवाणु भएपनि पोजेटिभ देखिने भएकाले एकिन गर्न रात्रीकालीन माइक्रोस्कोपिङ जाँचका लागि रक्त नमुना संकलनको गरिएको उहाँको भनाइ छ ।

विश्वका धेरै देशमा अभियान सफल भएर हात्तीपाइले निवारण भइसके पनि नेपालमा भने यो समस्याले केही सकस बनाएको छ । हात्तीपाइले आफूले मात्र औषधि खाएर जोखिमबाट पूर्णरूपमा बच्न सकिँदैन । अरु कसैलाई हात्तीपाइले छ र उसलाई टोकेको लामखुट्टेले टोकेमा पनि हात्तीपाइले हुनसक्ने स्वास्थ्यकर्मी बताउँछन् ।

चिसोका कारण भूकम्प पीडितको मृत्यु

0

पुस २२ ,२०८०जाजरकोट : चिसोका कारण जाजरकोट एक भूकम्प पीडितको मृत्यु भएको छ । भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–१, रावतगाउँ निवासी ५८ वर्षीय कर्णबहादुर विश्वकर्माको चिसोकै कारण मृत्यु भएको हो ।

पालको बसाइले बिरामी भएपछि कर्णबहादुरलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । कडा निमोनियाँ देखिएपछि त्यहाँ उपचार नभएपछि प्रदेश अस्पताल सुर्खेत रेफर गरेर सुर्खेत पुर्‍याउँदा पनि कर्णबहादुरको उपचार सम्भव भएन । उपचारकै क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको छोरा रूपलाल विकले बताउनुभयो ।

भूकम्पपछि त्रिपालमुनि चिसोका कारण मृत्यु हुनेको सङ्ख्या जाजरकोटमा ३१ र रुकुम पश्चिममा ५ गरी ३६ जनाको मृत्यु भैसकेको छ ।

गाई भैसीमा बाँझोपन न्यूनीकरण गर्न गोठमै सेवा

0

तिलाचन पाण्डे
पुस २१,२०८० गुल्मी :गुल्मीमा गाई भैसीमा देखा पर्ने बाँझोपन न्यूनीकरण गर्न कृषकको गोठमै गएर सेवा प्रदान गरिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गुल्मीले २३ वटा गाई र ३१ वटा भैसी गरी कुल ५४ गाईभैसीको बाँझोपन न्यूनीकरण गर्नका लागि किसानको गोठमै गएर सेवा प्रदान गरेको छ ।

जिल्लाको रेसुङ्गा र मुसिकोट नगरपालिका, चन्द्रकोट,सत्यवती र कालीगण्डकी गाउँपालिकाका गरी ५४ गाइ भैसीमा बाँझोपन न्यूनीकरण गर्नका लागि सेवा प्रदान गरिएको कार्यालयका प्रमुख हुमकान्त पाण्डेयले जानकारी दिनुभयो ।

कृषकले पालेका गाई भैसीमा देखा पर्ने समस्याहरुको प्रत्यक्ष भेटघाट भएर डोर टु डोर सेवा प्रदान गर्ने हुँदा यो कार्यक्रम प्रभावकारी भएको कार्यालयले जनाएको छ । गाई भैसीको प्रजनन् अङगका साथै गर्भ परीक्षण, प्रजनन् तथा सम्बन्धित रोगहरुको निदान तथा उपचार , आवश्यक परामर्श र निःशुल्क औषधी समेत वितरण गरिएको पाण्डेयले बताउनुभयो ।

कृषकको गोठमै गएर सेवा प्रदान गर्दा गाई भैसीको पनि भिडियो एक्सरे हुँदो रहेछ भन्ने आफूहरुलाई बल्ल थाहा भएको कृषकहरुले बताएका छन् । मानिसलाई जस्तै गाइभैसीलाई पनि निरन्तर रुपमा चेकजाँच र औषधीको आवश्यक पर्ने थाहा भएकाले निरन्तर रुपमै चेकजाँच गर्ने र औषधि खुवाउन आफूहरु लाग्ने कृषकले बताउने गरेको कार्यालयले जनाएको छ ।

पशु स्वास्थ्य सेवा कार्यक्रमका लागि दुई लाख रुपियाँ बजेट रहेको कार्यालयले जनाएको छ । अहिले चेकजाँच गरिएका ५४ गाई भैसीको पुनः एकपटक चेकजाँच गरिने कार्यक्रम रहेको पाण्डेयले बताउनुभयो ।

चन्द्रकोटमा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

0

पुस २०,२०८० गुल्मीः चन्द्रकोट गाउँपालिकामा पालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० शुक्रबारदेखि सुरु भएको छ।

श्री उदय माध्यमिक विद्यालय शान्तिपुरमा भएको उदघाटन समारोह गाउँपालिका अध्यक्ष युवराज खत्री क्षेत्रीको अध्यक्षतामा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि खत्रीले स्वास्थ्यका लागि खेलकुद अपरिहार्य रहेको बताउनुभयो । पछिल्लो समयमा खेलकुद प्रति आकर्षण बढ्दो रहेको भन्दै अझै ब्यबस्थित गर्नुपर्नेमा जोड दिनुभयो ।

 

गाउँपालिका उपाध्यक्ष विष्णुप्रसाद भण्डारीले स्वागत मन्तव्य रहेको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख लोकनाथ मरासिनी, वडा अध्यक्षहरू तथा कार्यपालिका सदस्यहरू, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, विद्यार्थी लगायतको उपस्थिति भएको थियो।

गाउँपालिकाका अध्यक्ष युवराज खत्री क्षेत्रीले खेलकुदको बिकास गर्नका लागि पालिकाले प्राथमिकता दिएको बताउनुभयो । खेलकुदका साथै युवाहरुलाई स्वदेशमानै टिकाइ राख्नका लागि पालिकाले योजना बनाएको उहाँले बताउनुभयो ।

प्रतियोगितामा भलिबल, कबड्डी, दौड, रिले दौड, हाइजम्प, लङजम्प, कराँते, लगायतका खेल समावेश गरिएको छ।

पुष २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाभित्रका ११ विद्यालयका विद्यालयका करिब ५०० विद्यार्थीले प्रतिस्पर्धा गर्ने गाउँपालिकाका शिक्षा अधिकृत नयनसिंह ठकुरीले जानकारी दिनुभयो।

खत्रीको पीडामा खेलप्रेमीको साथ :दर्शकले दिएको १ लाख ७१ हजार बढि सहयोग प्रदान

0

टोपलाल अर्याल
पुस १४,२०८० गुल्मीः फोर्टिन स्टार युवा क्लवले फुटवल खेलाडी महेन्द्र खत्रीलाई आर्थिक सहयोग गरेको छ । उनी चिदिचौर संचालन भएको चौथो फोर्टिन स्टार कप फुटवल खेल्ने क्रममा ०८ पुस गते लडेर गम्भीर घाइते बनेका थिए ।

उनी मालिका माबि मालिका गाउँपालिका ८ को फुटबल खेलका राइड डिफेन्डर हुन । उनको अहिले भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । चिउडो र टाउकोको अप्रेशन गर्न पर्ने भएपछि क्लवले खेल अवधीभर खत्रीको लागि सहयोग संकलन गरेको थियो । सोहि क्रममा संकलन भएको एक लाख ७१ हजार चार सय ११ रुपैयाँ प्रदान गरिएको हो । क्लवका उपाध्यक्ष सुरज पोख्रेलले अस्पतालमै पुगेर घाइते खत्री, शिक्षक र आफन्तको रोहबरमा रकम हस्तान्तरण गरेका हुन् ।

शनिबार पोख्रेलले खेलाडीको स्वास्थ्य अवस्था बुझन्े र सहयोग हस्तान्तरण गरेर फर्किएको बताए । खेल्दै गरेको खेलाडीनै लडेपछि दर्शक समेत स्तब्ध बनेका थिए । जसका कारण सहकर्मी खेलाडी, दर्शक तथा खेलप्रेमीहरुले खत्रीको उपचार गर्न सहयोग संकलन गरे । ८ पुसबाट खेल मैदानमा संचालन भएको सहयोग संकलन अभियानमा सीता बरालले संंयोजन गरेर लक्ष्मी पन्थी र कमला थापाले ५२ हजार एक सय ५१ र क्लवमा संकलन भएको रकम गरेर एक लाख ७१ हजार चार सय ११ रुपैयाँ खेलाडीलाई सहयोग गरिएको क्लवका महासचिज नारायण आचार्यले जानकारी दिए ।

उनले आयोजकको तर्फबाट खेलाडी र कोचको मृत्यु बिमा र घाइतेको हकमा प्राथमिक उपचारको व्यावस्था गरेको भएपनि महेन्द्र खत्रीको लागि शुभेच्छुक, खेलाडी र बिद्यार्थी मार्फत सानो–सानो रकम संकलन गरेर सहयोग गरिएको बताए । अहिले महेन्द्रको चिउडोको हड्डी चर्किएकाले अप्रेसनको गरिएको र स्वास्थ्यमा सुधार आएको अस्पतालमा रहेका मालिका माबिका शिक्षक खेमराज अर्यालले जानकारी दिए । खेलाडी महेन्द्र खत्री सामान्य परिवारका हुन ।

उनले कक्षा १० मा अध्ययन गर्छन । पढाईमा सेकेन्ड र खेलमा अब्बल विद्यार्थी लडेर घाइते भएपछि परिवार सहित विद्यालय पनि ठुलो पीडामा रहेको शिक्षक अर्यालले बताए । अर्यालका अनुसार महेन्द्र दुई भाइ मध्ये कान्छो हुन । उनले ठूलो दाजु पनि शारीरिक रुपमा कम्जोर छन् । त्यसैमा आमा ३९ बर्षीया राधिका केसी लामो समयदेखि मृगौला पीडित छन ।