Saturday, June 6, 2026

मुसिकोटमा थुम पार्क अलपत्र , नगरपालिकाले दिएन चासो

0

सूर्य सुनार
भदौ १,२०७९ गुल्मी :गुल्मीको मुसिकोट नगरपालिकामा निर्माण व्यवसायी र नगरपालिकाले चासो नदिदा पार्क अलपत्र परेको छ । निर्माण व्यवसायीले काम समयमै सम्पन्न नगर्दा पार्क अलपत्र परेको हो ।

तर कतिपयले भने यो पार्कलाई नामको मात्रै पार्क भनेर भ्रम फैलाइएको बताएका छन् । मुसिकोट नगरपालिकाको वडा नम्बर ३ थुम भन्ने ठाउँमा संरचनाबिना थुम पार्क भनेर नामाकरण गरिएको छ । संरचना बिना पार्क भनेर नामाकरण गर्नु भनेको नगरपालिकाले चर्चा कमाउने काम गरेको स्थानीय राम बहादुर थापाको भनाई छ ।

आर्को एक स्थानीय प्रेम जिसीले पार्क भनेर नामाकरण गरे पनि मन्दिर मात्रै निर्माण गर्न लागिएपनि अलपत्र परेको बताएका छन् । स्थानीय जिसीले पार्कका आवश्यक संरचना बनाउनको लागि नगरपालिका तयार हुनुपर्ने धारणा व्यक्त गरेका छन् । पार्क निर्माण समितिबाट पनि केही रकममा पार्क सम्म जाने बाटो र ट्रस्ट निर्माण गरिएको जिसीले बताए ।

मुसिकोट नगरपालिकाले वि.सं. २०७८ पुस महिनामा टेन्डर आह्वान ग¥यो । सोही टेन्डर रेसुङ्गा नगरपालिका सिमिचौरका निर्माण व्यवसायी कुल बहादुर टन्डनलाई प¥यो । थुम पार्कमा मन्दिर बनाउनको लागि ५० लाखको लागतमा जिम्मा पाएका टन्डनले अहिले सम्म काम पुरा गरेका छैनन् । मन्दिरको काम भ्याउनु पर्ने समय २०७९ को असार मसान्त हो । तर अहिले सम्म काम पुरा हुन नसकेको मुसिकोट नगरपालिकाले जनाएको छ । निर्माण व्यवसायीको वेवास्ताका कारणले अहिले पार्क अलपत्र परेको नगरपालिकाको भनाई छ ।

थुम पार्क व्यवस्थापन समितिका अध्यक्ष खुम बहादुर थापाले मुसिकोट नगरपालिका र निर्माण व्यवसायीको कमजोरीको कारणले गर्दा अहिले पार्क अलपत्र बताए । मुसिकोट नगरपालिकाले १, २, ३ र ४ वडाहरुमा कुनै विकासको काम हुन लागे चासोको साथ नहेर्दा धेरै काम अलपत्र परेको आरोप लगाए । पार्कको नाममा एउटा मन्दिर मात्र निर्माण भएको उनले बताएका छन् ।

निर्माण व्यवसायी कुल बहादुर टन्डनले निर्माण लागतको ७ लाख भन्दा बढी रकम लिएको बताए । कोरोना र दक्ष कमदारको अभावका कारण पार्क समयमै बन्न नसकेको उनले बताएका छन् ।

समयमै काम सम्पन्न भएको भए पिकनिक स्थलमा रमाइलो गर्नेको भीड देखिन्थ्यो । मुसिकोट नगरपालिकामा थुम पार्क हेर्नका लागि पर्यटकको लर्को लाग्थ्यो । तर बिडम्बना निर्माण व्यवसायिको बेवास्ताको कारण अहिले पार्क बेवारिसे अवस्थामा पुगेको छ । सल्लाघारीभित्र जति संरचना बन्नुपर्ने हो, नबन्दा योजना नै अलपत्र परेको छ ।

सार्वजनिक बिदा र फुर्सदको दिन परिवारसहित घुम्ने चौर थियो, थुम डाँडा । तर, अहिले स्थानीय सरकार र निर्माण व्यवसायीको कारणले नामको मात्र पार्क पनि अलपत्र परेको छ । पार्क सम्म जाने सडक भए पनि व्यवस्थित सडक भने अझै बन्न सकेको छैन् । मन्दिर मात्र निर्माण गर्न थालिएको चौरलाई पार्क भनेर नगरपालिकाले चर्चा कमाउने मात्र काम गरिरहेको स्थानीयले बताइरहेका छन् ।

मन्दिर, प्रतिक्षालय, पानी ट्यांकी, अपुरो गेट, पार्किङलगायत निर्माणका अपुरो संरचनाले यो प्राकृतिक डाँडोलाई गिज्याइरहेको छ । पार्कमा न त कुनै सार्वजनिक शौचालय छ न त पार्किङ क्षेत्र नै बनेको छ । नगरपालिकाले थुम पार्क नाम भनेर पार्कको नामकरण गरे पनि त्यहाँ पार्कमा हुनुपर्ने कुनै संरचना बनेको पाइँदैन ।

मुसिकोट नगरपालिकाका प्रमुख जीवन खरेलले नामको मात्रै नभई अब थुममा घुम्न लायक पार्क बनाउने दाबी गरे । उनले अलपत्र कामलाई पूरा गर्न र बाँकी काम सुरुवात गर्न आफूहरु तत्काल जुट्ने बताएका छन् ।

गुल्मीमा अटेरी ६८५ जना उम्मेद्वारले बुझाएनन् निर्वाचनको खर्च विवरण

0

गीता बस्याल
भदौ १,२०७९ गुल्मीः निर्वाचन भएको एक महिना भित्रमा निर्वाचनमा उम्मेद्वार बनेका उम्मेद्वारहरुले चुनावी खर्च बुझाउनुपर्ने कानुनी ब्यबस्था भएपनि गुल्मीमा खर्च विवरण बुझाउन अटेर गरेको पाइएको छ ।

गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एक हजार २४३ जना उम्मेद्वारहरु मध्ये ५५८ जनाले मात्रै निर्वाचनको खर्च विवरण बुझाएको र ६८५ जनाले खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी मेघलाल पाण्डेले जानकारी दिए ।

पाण्डेले निर्वाचनको खर्च विवरण बुझाउनका लागि आफूहरुले पटक पटक ताकेता गरेको भएपनि खर्च विवरण बुझाउन अटेर गरेको बताए । निर्वाचन खर्च विवरण बुझाउनेमा प्राय निर्वाचित जनप्रतिनिधिहरु भएको पाण्डेले बताए ।

निर्वाचनमा उम्मेद्वारहरुले प्रयोग गरेको सवारी साधन,इन्धन ,प्रचारप्रसार, ढुवानी,कार्यकर्ता परिचालन ,कार्यालय संचालन प्रतिनिधि परिचालन लगायतका खर्चको विवरण बुझाउनुपर्ने कानुनी ब्यबस्था छ ।

निर्वाचन आयोगले उम्मेद्वारहरुका लागि खर्चको सीमा निर्धारण गरे अनुसार नगरपालिका प्रमुख तथा उपप्रमुखहरुले चार लाख ५० हजार, गाउँपालिकाका अध्यक्ष ,उपाध्यक्षले तीन लाख ५० हजार सम्म , वडा अध्यक्षले दुुई लाख सम्म खर्च गर्न पाउने ब्यबस्था गरेको थियो ।

आयोगले निर्धारण गरेको सीमा एकातिर भएपनि दलहरुले सीमालाई नाघेर कयौं खर्च गर्ने गर्छन । राजनीतिक दलहरुले निर्वाचन कार्यालयमा खर्चको विवरण बुझाउँदा भने आयोगले निर्धारण गरे अनुसार नै बुझाउने गरेको पाइन्छ ।

यता निर्वाचन कार्यालय गुल्मीका प्रमुख माया कुँवरले निर्वाचन आयोगले असार मसान्तसम्म सवैको विवरण अनलाइनमा राख्न निर्देशन दिएको र सोही अनुसारको विवरण आयोगमा पठाएको दाबी गरिन् ।

आफूहरुले आएको विवरणलाई अनलाइनमा राख्ने र विवरण पठाउने कार्य भएकाले खर्च विवरण नबुझाउनेलाई के कारवाही गर्ने भन्ने कुरा आयोगको रहेको बताइन्

के गर्ने भन्ने बारेमा आयोगले तयारी गरेको छ : प्रबक्ता पौडेल

यता निर्वाचन आयोगका प्रबक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारहरुले के गर्ने भन्ने बारेमा तयारी गरिरहेको बताए ।
अहिले देशभरका उम्मेद्वारहरुको विवरणबारे अध्ययन गरिरहेको भन्दै केही दिन भित्रैमा केही निर्णय आउने उनको दाबी छ ।

निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारलाई ५ लाख रुपियाँसम्म जरिवाना गर्न सक्ने प्रवाधान रहेको उनको भनाई छ । ५ लाख सम्म जरिवाना गर्ने आँट गर्नुहुन्छ त भन्ने प्रश्नमा त्यसको बारेमा आयोगले निर्णय लिने उनले बताउनुभयो ।

गुल्मी क्षेत्र नम्बर २ को जिम्मेवारी युवा नेता अर्याललाई

0

डिबी खड्का
साउन ३१ ,२०७९गुल्मी :नेकपा माओवादी केन्द्र गुल्मीले २ नम्बर निर्वाचन क्षेत्रको संयोजकमा युवा नेता देवीराम अर्याललाई चयन गरेको छ ।

नेकपा माओवादी केन्द्र गुल्मीको पहिलो पुर्ण बैठकले क्षेत्र नम्बर दुईको जिम्मेवारी अर्याललाई प्रदान गरिएको जिल्ला संयोजक बुद्धि जिसिले जानकारी दिए ।

अर्यालको पाटी प्रतिको योगदान ,इमान्दारीता साथै व्यवस्था बदल्न दिएको योगदानको उच्च कदर पाटीले सर्वसम्मत २ नम्बर क्षेत्रको जिम्मेवारी दिने निर्णय गरेको जिसिले उल्लेख गरे ।

साथै आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा पाटी र गठबन्धनलाई जिताउन देवीराम अर्यालको विशेष भुमिका रहने र त्यो भुमिका अर्यालले पूरा गर्नेमा आफू विश्वस्त रहेको जिल्ला संयोजक जिसिको भनाई रहेको छ ।

गुल्मी २ नम्बर क्षेत्रको जिम्मेवारी पाएका देवीराम अर्याल मालिका गाउँपालिकाका अध्यक्ष हुन भने केही दिन अघि मात्रै नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्यमा मनोनीत समेत भएका छन ।
युवा तथा प्रभावशाली नेताका रुपमा परिचित अर्याल माओवादी जनयुद्धकालमा पुर्ण कालिन कार्यकर्ता भएर संगठन तथा सैन्य क्षेत्रमा काम गरेका नेता हुन ।

साथै पाटिले दिएको जिम्मेवारी पूरा गर्ने र गुल्मी २ मा माओवादीको बलियो संगठन बनाउने अर्यालले बताए ।

माओवादी केन्द्र, गुल्मीको सचिवमा थापा मनोनित

0

हुमाकान्त पोखरेल

साउन ३१,२०७९ गुल्मीः नेकपा माओवादी केन्द्र, जिल्ला समन्वय समिति गुल्मीको सचिवमा अशोक थापा मनोनित भएको छन् ।

मंगलबार सदरमुकाम तम्घासमा बसेको पार्टीको प्रथम पूर्ण बैठकले थापालाई सचिवमा मनोनित गरेको हो । थापा लामो समयदेखि माओवादीमा क्रियाशिल युवा नेता हुन् । उनले ०५६ सालमा अखिल भारत नेपाली एकता समाज र तत्कालिन नेकपा माओवादीको सदस्यता लिएर राजनीतिक यात्रा सुरु गरेका थिए ।

२०५७ सालमा माओवादीको पूर्णकालिन कार्यक्रता भएका थापा ०५८ सालमा पार्टीको जिल्ला कमिटी सदस्य भएका थिए । त्यस्तै ०६३ मा जिल्ला कमिटी सचिवालय सदस्य, ०६६ मा मगरात राज्य समिति सदस्य एवम् हाल लुम्बिनी प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा रहेका थिए ।

सचिव थापाले पार्टीका प्रशासनिक कामलाई चुस्त–दुरुस्त बनाउने, डिजिटल माध्यमबाट पार्टीका काम गर्ने, कमिटी चुस्त बनाउने जस्ता योजना रहेको बताए ।

माओवादी केन्द्रको विधानमा प्रत्येक जिल्लामा जिल्ला समन्वय समिति रहने र त्यसको पदाधिकारीमा संयोजक र सचिव मात्र रहने व्यवस्था छ । सोही व्यवस्थाअनुसार थापा सचिवमा मनोनित भएका हुन् । पार्टीका जिल्ला समन्वय समिति संयोजकको जिम्मेवारी बुद्धि जिसीले सम्हालेका छन्

गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रको बार्षिक समिक्षा सम्पन्न

0

सूर्य सुनार ३१ साउन, गुल्मी:गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रको आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । आयुर्वेद स्वास्थ्य सेवा केन्द्र उपल्लो तम्घासद्धारा समन्वयात्मक समिक्षा गोष्ठी कार्यक्रम गरिएको हो । कार्यालयद्धारा प्रदान गरिएका सेवा सम्बन्धी छलफल र अझै सेवामा गुणस्तर वृद्धी गर्न कार्यक्रमको आयोजना गरिएको थियो ।

रुरुक्षेत्र गाउँपालिकामा २ वटा , सत्यवति गाउँपालिकामा १ वटा, धुर्कोट गाउँपालिकामा २ वटा, साथै ४ वटा नागरिक आरोग्य सेवा केन्द्रका प्रमुख तथा प्रतिनिधिले आफनो कार्यालयले गरेका कामको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति गुल्मीका उपप्रमुख तेजेन्द्र सलामी मगरले जिल्लामा आयुर्वेद स्वास्थ्य सेवा केन्द्रले राम्रो काम गरेका भन्दै खुशी व्यक्त गरे । आयुर्वेद स्वास्थ्य केन्द्रको सेवालाई जिल्लाको सम्पूर्ण पालिकामा पुयाउनुपर्ने उपप्रमुख मगरले बताए ।

कार्यक्रममा गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रका अध्यक्ष धर्मराम पाण्डेले राज्यको लगानी र सा्रेत व्यवस्थापनमा कमी भएको बताए । सोचे अनुरुप काम गर्न नसक्नुमा राज्यको तर्फबाट स्वास्थ्यको क्षेत्रमा ध्यान नपुगेको बताए । अझै पनि कुनै स्वास्थ्य केन्द्रमा बिरामीलाई आवश्यक पर्ने औषधी, स्वास्थ्य उपकरण नपुगेको हुँदा सबै राम्रो छ भनेर भन्न नहुने पाण्डेको भनाई छ ।

गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रका कार्यालय निमित्त प्रमुख माधव प्रसाद बस्यालले संस्थाले गरेका कामको बारेमा बताए । आयुर्वेदले जिल्लामा स्वास्थ्यको क्षेत्रमा राम्रो काम गरेको हुँदा यस तर्फ सबै नागरिक जोडिनु पर्ने उनको भनाई छ ।

कार्यक्रममा कालिण्डकी गाउँपालिका उपाध्यक्ष मन्जु कुमारी दलामी, रेसुंगा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष कृष्ण प्रसाद पाण्डेले आयुर्वेद स्वास्थ्य सेवा केन्द्रले गरेको काम प्रति धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थित रहेको कार्यक्रमको संचालन आयुर्वेद स्वास्थ्य केन्द्रका सुचना अधिकारी चन्द्र प्रसाद भुसालले गरेका थिए ।

लगातारको पूर्वी हावा, कृषिमा प्रत्यक्ष असर

0

देउखुरी, साउन ३१ : राप्ती गाउँपालिका पाखापानीका लोकराज पौडेलले लगातार हावा चल्दा चिन्तामा हुनुहुन्छ । उहाँ चिन्तित हुनुको कारण हो उहाँले कडा मेहनतका साथ लगाएको धानले सोँचे अनुसारको उत्पादकत्व दिदैन की भन्ने । पौडेल भन्नुहुन्छ,“यो साउन भदौ महिनामा पनि यस्तो बेगले हावा चल्ने, पानी नपर्ने जस्तो मौसम देखिन थाल्दा चिन्ता बढ्न थालेको छ, हावाले धान, मकै लगायतको बाली सुकाउँछ ।”

तीन दिन देखि लगातार पूर्वी दिशाबाट हावा चल्न थालेको छ । विशेषगरी लुम्बिनी प्रदेशको तराई क्षेत्रमा ठूलो हावा लाग्न थालेपछि बालीनालीमा प्रत्यक्ष असर गर्ने चिन्तामा किसानहरु छन् । खासमा यो समय बर्षात्को समय हो । बर्षात्को समयमा पानी पर्नुको सट्टा हावा लाग्दा बालीनालीमा प्रत्यक्ष असर गर्ने कृषि बिज्ञहरु बताउँछन ।

कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी तथा कृर्षि अधिकृत मनोज कुमार सिंहले लगातार सम्म यहि रफ्तारले हावा लाग्दा बर्षे बालीमा प्रत्यक्ष असर गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘दाङ सहित तराइ क्षेत्रमा दुइदिनदेखी हावा लागेको छ, यस्ले धान मकै लगायतको बालीमा असर गर्ने देखिन्छ ।’

विशेषगरी धान र मकैमा यो लगातारको हावाले असर गर्ने उहाँको भनाइ छ । अहिलेको मौसम बर्षे बालीको लागि पानी चाहिने मौमम भएकाले पनि चैत्र बँेशाखमा जस्तै हावा चल्दा माटोमा भएको चिसोपन हराउँदै जाँदा पानीको कमी भई धान मकै लगायतका बालीहरु पहेँलो हुदै जाने उहाँको भनाइ छ ।

पानी प्रशस्त नहुँदा धानका बोटहरु आइलाउन थालेका छन,धानका बोटका टुप्पाहरु पहेँलो हुन थालेका छ । कृषि क्षेत्रमा लामो अनुभव बटुलेका किसानले पनि साउन,भदौ महिनामा हावा चल्दा शुभ नहुने तर्क गर्छन । कृषक प्रेमवहादुर चोधरीले लगातार लामो समय हावा चल बाली सुक्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘धान पाक्ने समयमा हावा चल्दा छिट्टै पाक्छ तर भरखरै रोपेको समयमा हावा लाग्ने पानी नपर्ने हुँदा धान हुर्काउन समस्या भयो हुन्छ यो बर्ष समस्या नै हुने देखियो ।’

दाङ सहित तराइका जिल्लामा आवश्यकता अनुसार बर्षा नहुँदा धान रोपाई समेत हुन सकेको छैन । कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लामा ८७ प्रतिसत रोपाईँ भएको छ । पानीको अभावका कारण बाँकी स्थानमा रोपाइँ हुन नसकेको हो । रोपार्यँ भएका ठाउँमा पनि प्रशस्त पानी छैन जस्का कारण धानका बोटहरु मर्न थालेकोछ । पानी नपर्ने र हावा चलिरहेने कृषक र कृषिको लागि अनुत्पादक हुन्छ ।

मौसम हेर्दा तत्कालै देशभर आवश्यक पानी पर्ने लक्षण पनि देखिदैन । मौसम विद् वरुण पौडेलका अनुसार लुम्बिनी प्रदेशका तराईका जिल्लामा हावा चल्नुको कारण अध्याधिक गर्मिको कारण हो । उहाँले भन्नुभयो,‘तराईमा अत्याधिक गर्मिका कारण हावा चलेको हो,पूर्वी हावाकै कारण बर्षा हुने भएपनि अहिले तत्काल ठूलो बर्षा हुने गरी छाँट देखिदैन,आगामी डेढ महिना सम्म बर्षा हुने समय रहेकाले आवश्यक बर्षा नभएपनि बर्षा हुने सम्भावना छ, पूर्वि हावाले पानी भाग्छ भगाउँछ भन्ने चाँही हुँदैन ।

नागरिकता विधेयक पहिलेकै अवस्थामा राष्ट्रपति समक्ष फिर्ता पठाउने गठबन्धनको सहमति

0

साउन ३१,२०७९ काठमाडौं : राष्ट्रपतिबाट नागरिकता विधेयक प्रतिनिधिसभामा पुनः विचारका लागि फिर्ता पठाइए पनि पाँच दलीय सत्ता गठबन्धनले पहिलेकै अवस्थामा राष्ट्रपति समक्ष फिर्ता पठाउने सहमति गरेको छ ।

मङ्गलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठनबन्धका शीर्ष नेताको बैठकले राष्ट्रपतिद्वारा फिर्ता पठाइएको नागरिकता विधेयक पुरानै अवस्थामा फिर्ता पठाउने सहमति गरेको छ ।

बैठकपछि पाँचदलीय गठबन्धन समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले बैठकमा नागरिकता विधेयक जस्ताको त्यस्तै अघि बढाउने निर्णय भएको जानकारी दिनुभयो ।

दुबै संसदले पारित गरेको विधेयकलाई जस्ताको त्यस्तै अघि बढाउने निर्णय बैठकले गरेको जानकारी उहाँले दिनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारका अनुसार राष्ट्रपति विद्यादवी भण्डारीले फिर्ता पठाउनुभएको नागरिकता विधेयकलाई संसदमा पुनः पेश गरी प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउने प्रक्रिया सुरु गरिएको बताउनुभयो ।

सभामुख अग्निप्रसाद सापकोटाले साउन १५ गते प्रमाणीकरणका लागि पठाउनुभएको नागरिकता विधेयकलाई राष्ट्रपति भण्डारीले सोमबार प्रतिनिधिसभामै फिर्ता पठाउनुभएको थियो । राष्ट्रपतिले फिर्ता गर्नुभएको विधेयक मङ्गलबारको प्रतिनिधिसभा बैठकमा पेश भइसकेको छ । यो समाचार हामीले गोरखापत्र दैनिकबाट लिएका हौँ ।

ह्वात्तै घट्यो सुनको मूल्य

0

साउन ३१,२०७९काठमाडौं: आज सुनको भाउ तोलामा ७०० रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा पहेँलो धातु सुनको भाउ घटबढ हुँदा सोही अनुसारको प्रभाव नेपालको स्थानीय बजारमा पनि परेको हो।

आइतबार तोलामा ५०० रुपैयाँले बढेको सुनको भाउ सोमबार ४०० रुपैयाँले घटेको थियो। यस्तै हिजो चाँदीको भाउ पनि १५ रुपैयाँले घटेर कारोबारमा आएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन आज प्रतितोला ९६ हजार ७०० रुपैया र तेजावी सुनको भाउ ९६ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ। यस्तै चाँदी १ हजार २२० रुपैयाँ तोलामा कारोबार भैरहेको छ।

कारीकोटे होटलमा एक जोडी मृत फेला

0

साउन ३१,२०७९ रुपन्देहीः रुपन्देहीको बुटवलस्थित एक होटलमा बास बसेका महिला र पुरूष मृत फेला परेका छन्।

धादिङको कुम्पुर घर भएका अन्दाजी ३५ वर्षका सिताराम भुजेल र दाङ घर भएकी अन्दाजी ३३ वर्षकी पुष्पा मृत फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिए।

बुटवलको तिनाउ पुल नजिकै फूलबारी चोकमा रहेको स्याङजा कारीकोटे होटलको कोठा नं। १३४ मा उनीहरु आइतबार राति सँगै बसेका थिए।

सोमबार बिहान कोठामा जाँदा महिला पलङमा उत्तानो परेको अवस्थामा र पुरूष कोठाको पंखामा झुण्डिएको अवस्थामा दुवै जना मृत फेला परेका हुन्।

दुवै जनाको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको प्रहरी निरीक्षक घिमिरेले बताए।

स्थानीय सरकार र पार्टीप्रतिका गुनासा,सुझाब संकलन गर्दै माओबादी केन्द्र गुल्मी

0

तम्घास, साउन ३० गते । नेकपा माओबादी केन्द्र गुल्मीले पार्टी र पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुका बारेमा गुनासा र सुझाब संकलन गर्न थालेको छ ।

केन्द्रका जिल्ला संयोजक बुद्धि जिशीले जिल्ला स्थित पत्रकारहरुसंगबाट नागरिकहरुका गुनासा र सुझाब माग गर्नुभएको हो ।
पछिल्लो समयमा पार्टीका नेता तथा जनप्रतिनिधिहरु सुबिधा भोगी भएको र नागरिकहरुसंग नजिक नभएको भन्ने गुनासो देशभरबाट आइरहेको बेला जिल्ला पार्टीले गुनासो र सुझाब संकलन गरेको हो ।

पत्रकारहरु प्रत्यक्ष रुपमा नागरिकहरुसंग जोडिने र सूचनाहरु प्रयाप्त आउने भएकाले पहिलो चरणमा पत्रकारहरुबाट सुझाब र गुनासाहरुलाई संकलन गर्ने सुरुवात गरिएको जिशीको दाबी छ ।
नागरिकहरुले पार्टी र पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुको सेवा प्रवाह र जनताको बुझाइमा एकरुपता कायम गर्नका लागि सुझाब संकलन महत्वपूर्ण रहने जिशीको भनाई छ ।

नागरिकको नजिकको सरकार नै स्थानीय सरकार भएकाले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रत्यक्ष रुपमा जनताको सेवामा लाग्न जिल्ला पार्टीले निर्देशन दिएको जिशीले बताउनुभयो ।

पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई स्थानीय जनताको सेवकको रुपमा रही कार्य गर्नका लागि जिल्ला पार्टीले निर्देशन गरेको बताउँदै सेवा प्रवाहका क्रममा नागरिकहरुका गुनासा र सुझाबहरुलाई संकलन गरी सुधार गर्नमा सहज हुने र सुधार गर्ने जिशीको भनाई छ ।
जिल्ला स्थित पत्रकारहरुले विगतमा अन्य पार्टीहरु भन्दा स्थानीय नागरिकहरुसंग माओबादी पार्टीले जनजिवीका सम्बन्धी मुद्धाहरु उठाएको स्मरण गर्दै हाल बिस्तारै छाड्दै गएको बताएका छन् ।

माओबादी पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले ठूला ठूला बिकासका कामहरु भन्दा पनि प्रत्यक्ष नागरिकको जीवनमा परिवर्तन आउने गरी काम गरेमा स्थानीय सरकारको अनुभूती हुने सुझाब दिएका छन् ।

स्थानीय जनताहरुलाई ब्यवसायीक रुपमा उत्पादनसंग जोडी बजारीकरणको ब्यबस्था गर्ने र उत्पादनमा आधारित अनुदानको ब्यबस्था गरेमा प्रभावकारी हुने पत्रकारहरुको सुझाब छ ।

गुल्मी जिल्लाका दुई नगरपालिका सहित १२ वटा स्थानीय तह रहेका छन् । जसमा नेपाली काँग्रेसले पाँच , माओबादी केन्द्रले चार र नेकपा एमालेले तीन वटा स्थानीय तहमा नेतृत्व गरेको छ ।