लगातारको पूर्वी हावा, कृषिमा प्रत्यक्ष असर

0
156

देउखुरी, साउन ३१ : राप्ती गाउँपालिका पाखापानीका लोकराज पौडेलले लगातार हावा चल्दा चिन्तामा हुनुहुन्छ । उहाँ चिन्तित हुनुको कारण हो उहाँले कडा मेहनतका साथ लगाएको धानले सोँचे अनुसारको उत्पादकत्व दिदैन की भन्ने । पौडेल भन्नुहुन्छ,“यो साउन भदौ महिनामा पनि यस्तो बेगले हावा चल्ने, पानी नपर्ने जस्तो मौसम देखिन थाल्दा चिन्ता बढ्न थालेको छ, हावाले धान, मकै लगायतको बाली सुकाउँछ ।”

तीन दिन देखि लगातार पूर्वी दिशाबाट हावा चल्न थालेको छ । विशेषगरी लुम्बिनी प्रदेशको तराई क्षेत्रमा ठूलो हावा लाग्न थालेपछि बालीनालीमा प्रत्यक्ष असर गर्ने चिन्तामा किसानहरु छन् । खासमा यो समय बर्षात्को समय हो । बर्षात्को समयमा पानी पर्नुको सट्टा हावा लाग्दा बालीनालीमा प्रत्यक्ष असर गर्ने कृषि बिज्ञहरु बताउँछन ।

कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी तथा कृर्षि अधिकृत मनोज कुमार सिंहले लगातार सम्म यहि रफ्तारले हावा लाग्दा बर्षे बालीमा प्रत्यक्ष असर गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘दाङ सहित तराइ क्षेत्रमा दुइदिनदेखी हावा लागेको छ, यस्ले धान मकै लगायतको बालीमा असर गर्ने देखिन्छ ।’

विशेषगरी धान र मकैमा यो लगातारको हावाले असर गर्ने उहाँको भनाइ छ । अहिलेको मौसम बर्षे बालीको लागि पानी चाहिने मौमम भएकाले पनि चैत्र बँेशाखमा जस्तै हावा चल्दा माटोमा भएको चिसोपन हराउँदै जाँदा पानीको कमी भई धान मकै लगायतका बालीहरु पहेँलो हुदै जाने उहाँको भनाइ छ ।

पानी प्रशस्त नहुँदा धानका बोटहरु आइलाउन थालेका छन,धानका बोटका टुप्पाहरु पहेँलो हुन थालेका छ । कृषि क्षेत्रमा लामो अनुभव बटुलेका किसानले पनि साउन,भदौ महिनामा हावा चल्दा शुभ नहुने तर्क गर्छन । कृषक प्रेमवहादुर चोधरीले लगातार लामो समय हावा चल बाली सुक्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘धान पाक्ने समयमा हावा चल्दा छिट्टै पाक्छ तर भरखरै रोपेको समयमा हावा लाग्ने पानी नपर्ने हुँदा धान हुर्काउन समस्या भयो हुन्छ यो बर्ष समस्या नै हुने देखियो ।’

दाङ सहित तराइका जिल्लामा आवश्यकता अनुसार बर्षा नहुँदा धान रोपाई समेत हुन सकेको छैन । कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लामा ८७ प्रतिसत रोपाईँ भएको छ । पानीको अभावका कारण बाँकी स्थानमा रोपाइँ हुन नसकेको हो । रोपार्यँ भएका ठाउँमा पनि प्रशस्त पानी छैन जस्का कारण धानका बोटहरु मर्न थालेकोछ । पानी नपर्ने र हावा चलिरहेने कृषक र कृषिको लागि अनुत्पादक हुन्छ ।

मौसम हेर्दा तत्कालै देशभर आवश्यक पानी पर्ने लक्षण पनि देखिदैन । मौसम विद् वरुण पौडेलका अनुसार लुम्बिनी प्रदेशका तराईका जिल्लामा हावा चल्नुको कारण अध्याधिक गर्मिको कारण हो । उहाँले भन्नुभयो,‘तराईमा अत्याधिक गर्मिका कारण हावा चलेको हो,पूर्वी हावाकै कारण बर्षा हुने भएपनि अहिले तत्काल ठूलो बर्षा हुने गरी छाँट देखिदैन,आगामी डेढ महिना सम्म बर्षा हुने समय रहेकाले आवश्यक बर्षा नभएपनि बर्षा हुने सम्भावना छ, पूर्वि हावाले पानी भाग्छ भगाउँछ भन्ने चाँही हुँदैन ।

SHARE