नागरिकता विधेयक पहिलेकै अवस्थामा राष्ट्रपति समक्ष फिर्ता पठाउने गठबन्धनको सहमति

0
130

साउन ३१,२०७९ काठमाडौं : राष्ट्रपतिबाट नागरिकता विधेयक प्रतिनिधिसभामा पुनः विचारका लागि फिर्ता पठाइए पनि पाँच दलीय सत्ता गठबन्धनले पहिलेकै अवस्थामा राष्ट्रपति समक्ष फिर्ता पठाउने सहमति गरेको छ ।

मङ्गलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठनबन्धका शीर्ष नेताको बैठकले राष्ट्रपतिद्वारा फिर्ता पठाइएको नागरिकता विधेयक पुरानै अवस्थामा फिर्ता पठाउने सहमति गरेको छ ।

बैठकपछि पाँचदलीय गठबन्धन समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले बैठकमा नागरिकता विधेयक जस्ताको त्यस्तै अघि बढाउने निर्णय भएको जानकारी दिनुभयो ।

दुबै संसदले पारित गरेको विधेयकलाई जस्ताको त्यस्तै अघि बढाउने निर्णय बैठकले गरेको जानकारी उहाँले दिनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारका अनुसार राष्ट्रपति विद्यादवी भण्डारीले फिर्ता पठाउनुभएको नागरिकता विधेयकलाई संसदमा पुनः पेश गरी प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउने प्रक्रिया सुरु गरिएको बताउनुभयो ।

सभामुख अग्निप्रसाद सापकोटाले साउन १५ गते प्रमाणीकरणका लागि पठाउनुभएको नागरिकता विधेयकलाई राष्ट्रपति भण्डारीले सोमबार प्रतिनिधिसभामै फिर्ता पठाउनुभएको थियो । राष्ट्रपतिले फिर्ता गर्नुभएको विधेयक मङ्गलबारको प्रतिनिधिसभा बैठकमा पेश भइसकेको छ । यो समाचार हामीले गोरखापत्र दैनिकबाट लिएका हौँ ।

SHARE