Saturday, June 6, 2026

आज भारी वर्षाको सम्भावना

0
फाइल फोटो

भदौ १२,२०७९ काठमाडौं :आज दिनभर देशैभरिको मौसममा सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतबार राती पनि गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ । यी प्रदेशमा सोमबार समेत भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

भारी वर्षाले पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

शिक्षकको कुटाइबाट विद्यार्थीको कानको जाली फुटयो

0

भदो १२,२०७९ नवलपरासी; नवलपरासी सदरमुकाम परासीस्थित एक निजी विद्यालयमा शिक्षकको कुटाइबाट विद्यार्थीको कानको जाली फुटेको छ । दिएको गृहकार्य नगरेको भन्दै रामग्राम नगरपालिका –४ बैरिहवास्थित एक निजी विद्यालय हिलेरियस चिल्डे«न एकेडमीका शिक्षक आलम सिद्धकीले कुट्दा विद्यार्थीको जाली फुटेको हो ।

कक्षा ५ मा अध्ययनरत बालक निखिल कोहारलाई कक्षाकोठामा पिटेर बालकको कानको जाली फुटेपछि बालकलाई अस्पताल भर्ना गरिएको बालकका बुवा गङ्गाप्रसाद कहारले बताउनुभयो ।

करिब एक महिना पहिले कक्षा ५ मा अध्यनरत १२ वर्षीय बालक कोहारलाई शिक्षक सिद्धकीले गृहकार्य नगरेको भन्दै कानमा लाग्नेगरी चार झापड हिर्काएपछि बालकको कानबाट रगत आएको थियो । बालकलाई शिक्षकले पिटेर कानबाट रगत आएको खबर पाएपछि बालकका बुवा गङ्गाप्रसाद कोहार विद्यालय पुगी बालकलाई घर ल्याउनुभएको थियो ।

विद्यालय प्रशासनले बालकको कानबाट रगत आउँदा सामान्य उपचार पनि नगरी बालकलाई दिनभरि विद्यालयमा राखेको अभिभावक कोहारले गुनासो गर्नुभयो । सामान्य होला भन्दै स्थानीय मेडिकलमा उपचार गरिरहँदा बालकको कानमा चर्को दुखाइ र रगत पिप आउने क्रम नरोकिएपछि बुधवार बालकलाई बुटवलस्थित तिनाहुँ इन्टरनेशनल अस्पतालमा भर्ना गरिएको बालकका ठूला बुवा रामजी कोहारले बताउनुभयो ।

शिक्षकको पिटाइबाट घाइते भएको बालकको बायाँतर्फको कानको जाली फुटेको चिकित्सकले बताएका छन् । विद्यालय प्रशासनले कोहार परिवारका चार जना बालबालिकालाई विद्यालयबाट निस्कासन गरेको पीडित बालकका अभिभावकको आरोप छ । तर विद्यालयबाट कुनै पनि विद्यार्थीलाई ननिकालिएको हिलेरियस चिल्डे«न एकेडमीका प्रधानाध्यापक जनार्दन ठाकुरले बताउनुभयो ।

सङ्गठन विस्तारमा नागरिक उन्मुक्ती पार्टी

0

दिवाकर पोख्रेल
देउखुरी, भदौ १२ गते : पश्चिम तराईका जिल्लालाई आधार क्षेत्रको रुपमा लिदै स्थापना भएको नागरिक उन्मुक्ती पार्टीले सङठन विस्तारको अभियान तिव्र पारेको छ । विशेषगरी दाङ, बाँकी, बद्र्धिया, कैलाली, कञ्चनपुर जिल्लामा आफ्नो पकड बनाउने उदेश्यका साथ सङगठन विस्तारलाई तिव्र पारेको नागरिक उन्मुक्ती पार्टीका नेताहरु बताउँछन ।

टिकापूर घटनामा दोषि करार ठहर भएर जेल संजाय भोगिरहेका थारुनेता रेशम चौधरीको योजना अनुसार स्थापना भएको नागरिक उन्मुक्ती पार्टीले रेशम चौधरीको श्रीमतीको अध्यक्षतामा नयाँ नागरिक उन्मुक्ती नामक पार्टी स्थापना गरेर भरखरै सम्पन्न स्थानीय तहको चुनावमा समेत सहभागि भएको थियो । उक्त पार्टीले मंसिर ४ गतेको निर्वाचनलाई मध्यनजर गर्दै पार्टीको प्रचारप्रसार र सङगठनको विस्तारको कामलाई तिव्र पारेको हो ।

थरुहटको नाममा स्थापना भएका उपल्ला नेता ठूला पार्टीमा प्रवेस गरेपछि नेतृत्व विहिन भएको महशुस गरेका थरुहटका कार्यकर्ताहरु नागरिक उन्मुक्ती पार्टीमा सक्रिय हुन थालेका छन् । आफुलाई थारु नेताहरुले धोका दिएको भन्दै नेतृत्वको अभाव नागरिक उन्मुक्ती पार्टीले पूरा गरेको पूर्व थरुहटका कार्यकर्ताहरु बताउँछन । दाङको गढवा गाउँपालिका निवासी सिता चौधरीले थरुहट आन्दोललाई अलपत्र पारेर केहि नेताहरु अन्य पार्टीमा प्रवेस गर्दा आफुहरु अलपत्र परेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो पहिचानको मुद्धा लिएर थरुहट पार्टी स्थापना गरेर लागेपनि नेताले धोका दिएका थिए, अहिले नेतृत्वको अभाव पूरा भएको छ ।’

राष्ट्रिय पार्टीको रुपमा चिनाउने अभियानमा आफु रहेको नागरिक उन्मुक्ती पार्टीका बरिष्ठ नेता लक्ष्मण थारुले बताउनुभयो । उहाँले भन्नुभयो, ‘महिला अध्यक्ष रहेको पार्टी सायदै नेपालमा छैनन, भएपनि अस्तीत्वमा छैनन हाम्रो पार्टीले राष्ट्रिय पार्टीको परिकल्पना बोकेर अभियान थालेको छ ।’


पार्टीको संङगठन विस्तार जारी रहेको अर्का बरिष्ठ नेता सुरेन्द्र चौधरी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,‘ नागरिक उन्मुक्ती पार्टीले पहिचान र उत्पीडीत बर्गको लागि संघर्ष गर्छ, म उम्दवार भन्छु सहयोग गर्नुस ।’ दाङको लमहीमा नागरिक उन्मुक्ती पार्टीले आयोजना राजनीतिक जागरणसभाको आयोजना गरेको छ । सभामा प्रमुख अतिथि नागरिक उन्मुक्ती पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले दाङ सहित पश्चिम तराईका जिल्लामा आफ्नो पार्टीले प्रीतनिधि र प्रदेशसभाको निर्वाचनमा दावी गर्नुभयो ।

रामपुरमा ब्लड गु्रप पहिचान शिविर सकियो

0

सुशीला रेग्मी
रामपुर (पाल्पा), ११ भदौ
पाल्पाको रामपुरमा संचालन भएको तीन दिने ब्लड गु्रप पहिचान शिविर सकिएको छ ।

नेपाल रेडक्रस सोसाइटी रामपुर उपशाखाको आयोजना र रामपुर अस्पतालको प्राबिधिक सहयोगमा बिहिवार देखि सुरु भएको शिविर शनिवार सकिएको हो ।

शिविरमा १९३ जनाको ब्लड गु्रप पहिचान गरिएको रामपुर उपशाखा अध्यक्ष मनोरथ भट्टराईले जानकारी दिनुभएको छ ।

अति आवश्यक परेका बेला रगत अभावको समस्या समाधान गर्न शिविर आयोजना गरिएको हो ।

जग्गा एकिकरण आयोजना कार्यालय स्थापना

0

दिवाकर पोख्रेल
देउखुरी, भदौ ११ गते । लुम्बिनी प्रदेशको राजधानी निर्माणका लागी जग्गा एकिकरण आयोजना सञ्चालन थालिएको छ । जग्गा एकिकरणको लागि दाङको भालुवाङमा प्रदेश पूर्वाधार विकास प्राधिकरणले जग्गा एकिकरण आयोजना मुख्य कार्यालयको स्थापना गरेको छ । कार्यालयको मुख्यमन्त्री कुलप्रसाद केसीले उद्घाटन गर्नुभएको छ ।

मुख्यमन्त्री केसीले राजधानी संग जोडिएको जग्गाको काम मुख्य कार्यालयबाट हुने बताउनुभयो ।‘ कार्याल्य राजधानी निर्माणमा सघाउ पु¥याउने काम गर्छ,राजधानी शहरका लागी चाहिने जग्गा एकिकरणबाट पुरा गरिने छ ।’ राप्ती गाउँपालिका, गढवा गाउँपालिका वडा नं १, २ र ३, शितगंगा नगरपालिका वडा नंं ८ र ९ गरी जम्मा १४ वडाको जग्गा एकिकरण हुन थालेको हो ।

चालु आर्थिक बर्षमा सात सय देखी एक हजार विगाह जग्गा एकिकरण गरिने छ । जग्गा एकिकरणका लागी पालिका र वडा स्तरमा १४ वटा विभिन्न समिति गठन गरिएका छन् । समितिले वडा स्तरमा आईपर्ने समस्या र समाधानका विकल्पहरु निकाल्ने छन् । जग्गा विकास कार्यक्रम सञ्चालन गर्न सहजीकरण समितिको अवधारणा ल्याइएको छ ।

जसमा वडा अध्यक्ष संयोजक हुने, स्थानिय कृयासिल राजनैतिकदलहरुका प्रतिनिधि र उपभोक्ता हरुबाट सहजिकरण समिती बन्ने छ । गाउँपालीका अध्यक्ष संयोजक रहनेगरी मूल समिती गठन सुरु भएको हो ।
कार्य संचालक समिति र मुख्यमन्त्री अध्यक्ष रहने उच्च स्तरिय निर्देशक समिति रहेको छ । राजधानी क्षेत्रको पुरानो नक्सा खारेज गरेर नयाँ नक्सा निर्माणको काम भएकाले यसलाई सावधानीका साथ अघि बढाउन थालिएको जानकारी हो ।

रामपुरमा भु–उपयोग वर्गीकरणका लागि अभिमुखीकरण

0

सुशीला रेग्मी
भदो ११,२०७९ पाल्पाः रामपुर नगरपालिका वडा नं ६ मा भु उपयोग वर्गीकरणका लागि अभिमुखीकरण एवम् वडा भेला बसेको छ ।

वडाध्यक्ष दिवाकर देवकोटाको अध्यक्षतामा कार्यक्रम भएको हो । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले आफ्नो देशमा केही गरेर आत्मनिर्भर रहनुपर्छ भनेर राज्यले अहिले यो भु उपयोग नीति ल्याएको बताउनुभयो ।

दस प्रकारले जग्गा वर्गीकरण गरिने र भु उपयोग नीति लागू भएको ६ महिनामा जग्गा खण्डिकरण गरिनुपर्ने व्यवस्था रहेको नगर प्रमुख थापाले जानकारी दिनुभएको छ । भु उपयोग सम्बन्धमा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदी र मालपोत कार्यालय रामपुरका प्रमुख होमबहादुर थापाले सहजिकरण गर्नुभएको हो ।

तालपोखरा पार्कमा भएको कार्यक्रममा कार्यपालिका सदस्य शारदा आचार्यले स्वागत र संचालन वडा सचिव बासुदेव ढकालले गर्नुभएको हो ।

लुम्बिनी प्रदेश सभाको भवन निर्माण सकियो, रङरोगन बाँकी

0

दिवाकर पोख्रेल
देउखुरी, भदौ १० गते : लुम्बिनी प्रदेश सरकारले दाङमा बनाउन थालेको प्रदेश सभा भवन निर्माणको काम सम्पन्न भएको छ । भवन निर्माणको काम सकिएपनि रङरोगन लगायतको बाँकी रहेको हो । दुई वर्षअघि वाईबी ईन्फ्रास्टक्चर एण्ड सप्लायर्सले निर्माण ठेक्का लिएको यो काम प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत फेरबदलमा विवाद हुँदा केही समय ढिला भएको हो । अहिलेसम्म भवनको काम सकिएपनि भित्री काम बाँकी छ ।

प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलका अनुसार प्रदेश सभा भवन निर्माणको ९५ प्रतिशत काम सकिएको छ । उहाँले भन्नुभयो,‘अब लाइट र साउण्ड सिस्टम जडान गर्न बाँकी छ’,भवनको काम सकिएको छ ।’

प्रदेशसभा भवन आगामी असौजसम्म निर्माण सम्पन्न गरिसक्नु पर्ने सम्झौतामा उल्लेख छ । त्यतिबेलासम्म काम सकेर प्रदेश सरकारलाई हस्तान्तरण गर्ने कार्यकारी अधिकृत पोख्रेलले जानकारी दिनुभयो । प्रदेश सरकारले पाँच करोड २१ लाखको लागतमा भवन निर्माण गरेको हो । प्रदेश सभा भवन दाङको राप्ती गाउँपालिकाको राप्ती प्राविधिक शिक्षालय परिसरभित्र बनिरहेको छ । प्रदेश सभा भवन निर्माणको काम सुरु भएको एक वर्ष नाघिसकेको छ ।

तीन महिनाभित्र प्रिफ्याव मोडेलमा भवन निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । बीचमा डिजाइन फेरेर बनाउन थालिएपछि अर्थ मन्त्रालयले बजेट रोकेको थियो । बजेट रोकिएपछि पुरानै डिजाइनमा बनाउने सम्झौता अनुसारको काम अघि बढेको बताइएको छ । यसअघि प्रदेश सरकारको बैठक स्थायी राजधानीमा राख्ने तयारी गरिएको थियो । तर, प्रदेश सभा भवन निर्माण कार्य सम्पन्न नहुँदा राख्न सकिएको थिएन । अब भदौ महिनापछि प्रदेश सभा भवनमा बैठक राख्न सकिने प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले बताउनुभयो ।

प्राविधिक शिक्षालयमा प्रदेशका संरचना बनाउन थालेपछि सरकारले प्रदेश राजधानी व्यवस्थापनका लागि दाङको देउखुरीमा रहेको राप्ती प्राविधिक शिक्षालयलाई गढवा गाउँपालिकाको सरस्वती माध्यमिक विद्यालयमा स्थानान्तरण काम थालेको छ । उक्त स्थानमा नमुना शिक्षालयको रूपमा विकास र व्यवस्थापन तथा सरस्वती माध्यमिक विद्यालयको भौतिक संरचना निर्माणका लागि सात करोड ५० लाख विनियोजन गरिएको छ ।

हाल शिक्षालय सञ्चालनमा रहेको राप्ती प्राविधिक शिक्षालयको संरचनालाई राजधानीको व्यवस्थापनको रूपमा प्रयोगमा ल्याउने गरी बजेट विनियोजन गरिएको हो । सरकारसँगको सम्झौताअनुसार प्रदेश सभा भवनका लागि आवश्यक पर्ने सबै संरचना १२ हजार स्क्वायर फुट क्षेत्रफलमा तयार हुनेछ । सात हजार स्क्वायर फुटमा प्रदेश सभाको सभाहल बन्नेछ । भवनको भुइँतलामा प्रदेश सभा बैठक कक्ष, सभामुखको रोस्टम, मुख्यमन्त्री, विपक्षी दलका नेताको कार्यकक्ष, कर्मचारीका लागि आवश्यक कक्ष, मर्यादापालक कक्ष, आवश्यक अन्य संरचना बनेका छन ।

भरतपुरमा निशुल्क छोरी जीवन बीमा कार्यक्रम सुरु

0

भदौ १०,२०७९ चितवन : भरतपुरमा जन्मिने छोरीका लागि निःशुल्क छोरी जीवन बीमा कार्यक्रमअन्तर्गत भरतपुर महानगरपालिका र राष्ट्रिय बीमा संस्थानबीच सम्झौता भएको छ।

महानगरपालिकाका तर्फबाट प्रमुख महिला विकास अधिकृत शान्ताकुमारी पौडेल र राष्ट्रिय बीमा संस्थानका प्रशासक कविप्रसाद पाठकले सम्झौता–पत्रमा बिहीबार हस्ताक्षर गर्नुभएको हो।

रेनु दाहाल दोस्रो पटक महानगरप्रमुखमा निर्वाचित भई पदभार ग्रहण गर्दा भरतपुर महागनरपालिकामा जन्मिने छोरीका लागि निःशुल्क जीवन बीमा गर्ने निर्णय गर्नुभएको थियो। गत जेठ ११ गतेका दिन लागू हुने गरी १५ वर्ष अवधिका लागि बीमा कार्यक्रम सुरु गर्ने निर्णयलाई कार्यान्वयन गर्न सम्झौता गरिएको हो। सरकारी स्वास्थ्य संस्थामा जन्मेका छोरीहरूले मात्र यो सेवा लिन पाउने छन् ।

छोरी जीवन बीमा गर्न महानगरपालिको स्थायी बासिन्दा हुनुपर्नेछ। बीमाका लागि जन्मदर्ताको प्रमाण पत्र र फोटोसहित वडा कार्यालयमा जानुपर्ने छ। यो बीमा योजनाको बीमाङ्क रकम ५० हजार छ। बीमा कार्यक्रममा सहभागी भएका छोरीहरूले १५ वर्षमा प्रचलित बोनस दरका आधारमा एकमुष्ट रकम प्राप्त गर्नेछन्।

महानगर प्रमुख दाहालले छोरीलाई प्रोत्साहन र संरक्षित गर्ने उद्देश्यसहित छोरी जीवन बीमा कार्यक्रम लागू गरिएको बताउनुभयो। यो कार्यक्रमले छोरा र छोरीबीच हुने सामाजिक विभेद न्यूनीकरणमा सहयोग पुग्ने प्रमुख दाहालको विश्वास छ। यसअघि सात हजार लिटरसम्म पिउने पानी निःशुल्क उपलब्ध गराउने निर्णय कार्यान्वयन भइसकेको छ। पहिलो कार्यकालमा प्रमुख दाहालले भरतपुर अस्पतालमा महिलालाई निःशुल्क ओपीडी टिकटको व्यवस्था गर्ने निर्णय गर्नुभएको थियो। यो समाचार हामीले गोरखापत्र दैनिकबाट लिएका हौँ ।

पचपन्न झ्याले दरवार दाङमा पनि

0

दिवाकर पोख्रेल
भदौ १०,२०७९ दाङ : पचपन्न झ्याले दरवार,भक्तपुर होइन दाङमा पनि छ । बरु भक्तपुर जस्तो चर्चामा छैन । नीजी स्वामीत्वमा रहेको पचपन्न झ्याले दरवारको नत कुनै प्रचारप्रसार छ नत कोही यसको बारेमा अध्यन अनुसन्धानकै लागि आउने गरेका छन् । बरु दिन प्रतिदिन दरवार भत्कदै जिर्ण बन्दै गइरहेको छ । घर पूर्ण रुपमा बस्न मिल्ने खालको छैन ।

दाङको गढवा गाउँपालिका वडा नं ३ गोवरडीयामा रहेको पचपन्न झ्याले दरवारसंग एकसय ३२ बर्षे लामो इतिहाँस जोडिएको छ । बि.स. १९४७ सालमा शुरु गरेर १० बर्षेमा निमाण सम्पन्न भएको उक्त दरवार तत्कालिन राजपरिषदका स्थायी समितिका सभापति परसु नारायण चौधरीका वुजा जोखन चौधरीले निर्माण गर्नुभएको हो । ब्यत्तिगत रुपमा शोखको लागि निर्माण गरिएको उक्त दरवार बनाउनको लागि भारतका विभिन्न स्थानबाट दक्षकर्मीहरु ल्याएर बनाएको स्थानीय पल्लु चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“हामीहरुले पनि हजुरवुवा(जोखन चौधरी) को कुरा सुन्दा भारतबाट दक्ष मिस्त्री ल्याएर निर्माण गरिएको र नेपालकै नमूना दरवार बनाउने योजनाका साथ शुरु गर्नुभएको हो ।”

खासमा दरवार तीन तले हो । १०९० को भुकम्पले माथिल्लो तला ढलायो । जसबाट ५५ झ्यालको पहिचानलाई कम गरायो । अहिले रहेको दोस्रो तल्लामा पनि सिहं र हात्तीका मुत्र्तीहरु राखिएका छन् । अहिलेनि भवनको स्वरुप हेर्दा उच्च पदस्थ व्यक्ति बस्ने खालको देखिन्छ । हनुमान ढोका, कुमारी घर जस्तै काष्ठकला नि उक्तदरवारमा देख्न सकिन्छ । घरको नजिकै ठूलो हंसेश्वर महादेव मन्दिर छ । स्थानीय आशाराम चौधरीका अनुसार उक्त मन्दिर दरवार भन्दा पाँच बर्षे निर्माण गरिएको हो ।

दरवार देदा एकलो र सिङगो देखिन्छ तर उक्त दरवार निर्माण भएको पुस्तौँ वितिसक्दा त्यसको स्वामीत्व पनि सर्दै आइरहेको छ । अंशियार पनि धेरै हुँदै गइरहेका छन् । जोखनबाट उनिहरुका छोरा परसुनारायण उनका भाइहरु र छोराहरु हुर्दै अहिले चार पुस्तामा प्रवेस गरेको छ । तर दरवारलाई आ–आफ्नै हिसावले प्रयोग गर्दा संरक्षणमा थपिएको पारिवारिक सदस्यहरु नै बताउँछन । परसुनारायण चौधरीका नाती मनोज चौधरीले दरवार संरक्षणमा चासो दिएपनि यसलाई सङग्रालयको रुपमा विकास गर्न नसकिएको बताउनुभयो । यसको अंशियार धेरै भयौ, सबैको कुरा मिल्दैन सङ्ग्रालय बनाउने सफल भएको छैन,उहाँले भन्नुभयो ।

उक्त दरवार निर्माण गर्दा चौधरी परिवारले मुद्धा खेप्नु परेको छ । ठूलो,पचपन्न झ्यालको र सिंहको आकृति लगायतले निर्माण गर्दा राजपरिवार, राँणाहरुसंग टक्कर गर्न खोजेको भन्दै जोखन प्रसाद माथि मुद्धा समेत चलेको स्थानीय जेष्ठ नागरिकहरु बताउँछन । मुद्धा चलेर दुःख पाउन थालेपछि पचपन्न झ्याल मध्ये केहि झ्याल र आकृति हटाएपछि साम्य भएको थियो ।

उक्त दरवारलाई मर्मत सम्भार गर्दै थारु सङग्रालयको रुपमा विकास गर्न सरकारले प्रयास गर्दापनि घरजग्गाको स्वामीत्व धेरै हुंदा समस्या हुने गरेको छ । गढवा गाउँपालिका वडा नं ३ का वडाअध्यक्ष तुलसी अधिकारीलाई दरवारको संरक्षण गर्न पहल गरेपनि सबै अंशियार जम्मा नहुने भएपनि आन्तरिक विवादका कारण सफल नभएको बताउनुभयो । लुम्बिनी प्रदेश सरकारबाट दरवारलाई थारु सङ्ग्रालय निर्माणको लागि बजेट विनियोजन गरेपनि अंशियार धेरै भएका कारण काम हुन सकेन ।

भीरमा महिलाको शव

0

भदौ १०,२०७९बागलुङ : जैमिनी नगरपालिका( १ कुश्मीशेराको भण्डारमा ८४ वर्षीया खिपकला पाध्या कमेरे पाखाको भीरमा अड्किएको अवस्थामा फेला परेकी छिन्।

बुधबार साँझ परिवारसँगै खाना खाएर बिस्तरामा गएकी पाध्यालाई बिहिबार बिहान बिस्तरामा नदेखेपछि परिवारले खोजी गरेको थियो।

स्थानीयको सकृयतामा खोजी गर्ने क्रममा उनको शव भिरमा अड्किएको अवस्थामा फेला परेको प्रहरी चौकी कुश्मीशेराका हवल्दार गोविन्द थापाले जानकारी दिए।

उनी भिरमा कसरी पुगिन् भन्ने विषयमा खोजी भैरहेको थापाले बताए। कुश्मीशेरा प्रहरी चौकीबाट घटनास्थल पुगेको प्रहरी टोलीले घटनास्थल सुरक्षित गरेर अनुसन्धानको टोलीलाई खवर गरेको छ।