लुम्बिनी प्रदेश सभाको भवन निर्माण सकियो, रङरोगन बाँकी

0
161

दिवाकर पोख्रेल
देउखुरी, भदौ १० गते : लुम्बिनी प्रदेश सरकारले दाङमा बनाउन थालेको प्रदेश सभा भवन निर्माणको काम सम्पन्न भएको छ । भवन निर्माणको काम सकिएपनि रङरोगन लगायतको बाँकी रहेको हो । दुई वर्षअघि वाईबी ईन्फ्रास्टक्चर एण्ड सप्लायर्सले निर्माण ठेक्का लिएको यो काम प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत फेरबदलमा विवाद हुँदा केही समय ढिला भएको हो । अहिलेसम्म भवनको काम सकिएपनि भित्री काम बाँकी छ ।

प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलका अनुसार प्रदेश सभा भवन निर्माणको ९५ प्रतिशत काम सकिएको छ । उहाँले भन्नुभयो,‘अब लाइट र साउण्ड सिस्टम जडान गर्न बाँकी छ’,भवनको काम सकिएको छ ।’

प्रदेशसभा भवन आगामी असौजसम्म निर्माण सम्पन्न गरिसक्नु पर्ने सम्झौतामा उल्लेख छ । त्यतिबेलासम्म काम सकेर प्रदेश सरकारलाई हस्तान्तरण गर्ने कार्यकारी अधिकृत पोख्रेलले जानकारी दिनुभयो । प्रदेश सरकारले पाँच करोड २१ लाखको लागतमा भवन निर्माण गरेको हो । प्रदेश सभा भवन दाङको राप्ती गाउँपालिकाको राप्ती प्राविधिक शिक्षालय परिसरभित्र बनिरहेको छ । प्रदेश सभा भवन निर्माणको काम सुरु भएको एक वर्ष नाघिसकेको छ ।

तीन महिनाभित्र प्रिफ्याव मोडेलमा भवन निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । बीचमा डिजाइन फेरेर बनाउन थालिएपछि अर्थ मन्त्रालयले बजेट रोकेको थियो । बजेट रोकिएपछि पुरानै डिजाइनमा बनाउने सम्झौता अनुसारको काम अघि बढेको बताइएको छ । यसअघि प्रदेश सरकारको बैठक स्थायी राजधानीमा राख्ने तयारी गरिएको थियो । तर, प्रदेश सभा भवन निर्माण कार्य सम्पन्न नहुँदा राख्न सकिएको थिएन । अब भदौ महिनापछि प्रदेश सभा भवनमा बैठक राख्न सकिने प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले बताउनुभयो ।

प्राविधिक शिक्षालयमा प्रदेशका संरचना बनाउन थालेपछि सरकारले प्रदेश राजधानी व्यवस्थापनका लागि दाङको देउखुरीमा रहेको राप्ती प्राविधिक शिक्षालयलाई गढवा गाउँपालिकाको सरस्वती माध्यमिक विद्यालयमा स्थानान्तरण काम थालेको छ । उक्त स्थानमा नमुना शिक्षालयको रूपमा विकास र व्यवस्थापन तथा सरस्वती माध्यमिक विद्यालयको भौतिक संरचना निर्माणका लागि सात करोड ५० लाख विनियोजन गरिएको छ ।

हाल शिक्षालय सञ्चालनमा रहेको राप्ती प्राविधिक शिक्षालयको संरचनालाई राजधानीको व्यवस्थापनको रूपमा प्रयोगमा ल्याउने गरी बजेट विनियोजन गरिएको हो । सरकारसँगको सम्झौताअनुसार प्रदेश सभा भवनका लागि आवश्यक पर्ने सबै संरचना १२ हजार स्क्वायर फुट क्षेत्रफलमा तयार हुनेछ । सात हजार स्क्वायर फुटमा प्रदेश सभाको सभाहल बन्नेछ । भवनको भुइँतलामा प्रदेश सभा बैठक कक्ष, सभामुखको रोस्टम, मुख्यमन्त्री, विपक्षी दलका नेताको कार्यकक्ष, कर्मचारीका लागि आवश्यक कक्ष, मर्यादापालक कक्ष, आवश्यक अन्य संरचना बनेका छन ।

SHARE