
तिलाचन पाण्डे
वैशाख २०,२०८३ गुल्मीः गुल्मीमा छ सय बढी छाडा तथा घरपालुवा कुकुरको बन्ध्यकरण गरिएको छ
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख हुमाकान्त पाण्डेका अनुसार कालीगण्डकी गाउँपालिकामा १०२, सत्यवतीमा ६७, छत्रकोटमा ६७ र गुल्मीदरबारमा दूई सय, रेसुङगामा १०६ र मुसिकोटमा ७४ गरी कुल ६१६ कुकुरको बन्ध्याकरण र रेविज बिरुद्धका खोप लगाइएको हो । जसमध्ये २८५ भाले र ३३१ पोथी कुकुरहरु रहेका छन् ।
यस अभियानमा हिमालयन एनिमल रेस्क्यु ट्रस्ट (हार्ट) नेपाल, पोखराको प्राविधिक सहयोग रहेको छ । अनुभवी पशु चिकित्सकहरूको टोलीले स्थानीय स्तरमै पुगेर कुकुरको बन्ध्याकरण तथा रेबिज खोप सेवा प्रदान गरेको हो । रेसुङगा नगरपालिकाको पशु सेवा शाखाका अनुसार सदरमुकाम तम्घासमा गाउँबाट कुकुरहरु मान्छेसँगै आउने र फर्केर नजाने भएका कारण पनि तम्घासमा कुुकुरको सङख्यामा वृटि भएको छ । कुकुर ब्यबस्थापनका लागि नगरपालिकाले पनि योजना बनाउँदै आएको जनाएको छ । तम्घासका मुख्य सडकहरुमै भुस्याहा कुकुर बढी भए पनि सडकमा यात्रा गर्न पनि असहज हुने गरेको र रातमा भुकेर राम्रोसँग सुत्न पनि नपाएको स्थानीय जनक पन्तले गुनासो गर्नुभएको छ ।

जिल्लामा करिब आठ हजार कुकुर रहेको अनुमान गरिएको छ । जसमध्ये आधा सामुदायिक (छाडा) र आधा घरपालुवा छन् । गत वर्ष मात्रै चार सय कुकुरको बन्ध्याकरण र रेबिज बिरुद्धको खोप गरिएको थियो भने करिब एक हजार मानिसले कुकुरको टोकाइपछि रेबिज विरुद्धको खोप लगाउनुपरेको तथ्यांक छ ।
गत वर्ष गुल्मीदरबार गाउँपालिकामा कुकुरको टोकाइका कारण एक महिलाको रेबिजबाट ज्यानसमेत गएको थियो । साथै गाईभैंसी जस्ता चौपायामा पनि कुकुरको आक्रमण बढेको स्थानीयले बताएका छन् ।
नेपाल सरकारले सन् २०३० सम्ममा कुकुरबाट सर्ने रेबिज रोग उन्मूलन गर्ने लक्ष्य लिएको छ ।











