Friday, June 5, 2026

प्रहरी निरीक्षकमाथि जबरजस्ती करणी मुद्दा दर्ता

0

असोज २०,२०७९ धादिङ : आफू मातहतको कार्यालयमा कार्यरत महिला प्रहरी माथि जबरजस्ती करणी प्रयासमा धादिङको इलाका प्रहरी कार्यालय, खानीखोलामा कार्यरत प्रहरी निरीक्षक अपूर्व ढुङ्गानामाथि मुद्दा दर्ता भएको छ ।

जबरजस्ती करणी उद्योगमा पीडित पक्षको मौखिक उजुरीको आधारमा आइतबार फूलपातीको दिन बिहान ढुङ्गानालाई प्रहरीले पक्राउ गरेको हो ।

लिखित उजुरी परेपछि जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए। शनिबार बिहान करिब १ बजे कार्यालय परिसरभित्रै करणी प्रयास भएको उनको भनाइ छ ।

ढुङ्गानालाई अहिले जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा राखिएको छ । ढुङ्गानामाथि १० महिना अघिदेखि इलाका प्रहरी कार्यालय खानीखोलामा प्रमुखको जिम्मेवारीमा थिए । पक्राउ परेका प्रहरी निरीक्षक ढुङ्गानामाथि थप अनुसन्धान भइरहेको डिएसपी खत्रीले जानकारी दिए ।

गुल्मीमा दशै दशाः टीका थाप्न माइत जाँदा खोलाले बगाएर कुँवरको मृत्यु

0

असोज १९,२०७९ गुल्मी : गुल्मीमा टीका थाप्न माइत हिँडेकी ४१ वर्षीय महिलालाई खोलाले बगाएर मृत्यु भएको छ ।

जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्वर पाँचकी ४१ वर्षीय लक्ष्मी कुँवर सोही पालिकाको वडा नम्वर २ को पिपलधारामा टीका थाप्न माइत जाने क्रममा अरौदी खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

 

शबको स्थलगत मुचुल्का तयार गरी तम्घास ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक श्यामप्रकाश यादवले जानकारी दिए ।

 

निरन्तर पानी परेकाले बीच बीचमा सडकहरु अवरुद्ध भएको बताउँदै यादबले शवलाई आज तम्घास ल्याउन नसके बिहीबार बिहानै तम्घासमा ल्याई पोष्टमार्टम गरिने र आफन्तको जिम्मा लगाइने जानकारी दिए ।

करेन्ट लागेर निलमको मृत्यु

0

असोज १९,२०७९ : इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लाग्दा तेह्रथुममा  युवकको मृत्यु भएको छ।

करेन्ट लागेर आठराई गाउँपालिका–४ इवाका २४ वर्षीय निलम इङनामको मृत्यु भएको इलाका प्रहरी कार्यालय सङ्क्रान्ति बजारका प्रहरी निरीक्षक योगराज सुवेदीले जानकारी दिए।

उनको घटनास्थलमै मृत्यु भएको हो।

इन्टरनेट जडानका लागि बिजुलीको पोलमा चढ्दा इङनामलाई करेन्ट लागेको प्रहरीले जनाएको छ।

दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती घाइते

0

असोज १९,२०७९ चितवन : चितवनमा जिपको ठक्करले श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन् ।

 

भरतपुर महानगरपालिका –२९ सेतीदोभानमा नारायणगढबाट मुग्लिनतर्फ जाँदैगरेको बा १५ च ७४७९ नम्बरको जिपले मुग्लिनबाट नारायणगढतर्फ आउँदैगरेको बागमती प्रदेश ०२–०३६ प ११७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई मध्ये एकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

पर्वतको महाशिला गाउँपालिका –५ का ४८ वर्षीय मित्रलाल पङ्गेनीको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

टाउकोमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा भरतपुरको पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

घाइते राधाको पुरानो मेडिकलमा उपचार भइरहेको छ ।

पाल्पामा सडक बनाउन घर–टहरा हटाइयो, सडक बनेन

0

असोज १९,२०७९ पाल्पा :दुई वर्षअघि सिद्धार्थ राजमार्ग छेउमा बनाइएका अबैध संरचना हटाइयो । सडक बिस्तार गर्ने भन्दै सडक छेउमा बनेका घर टहरा डोजर र लोडर लगाएर हटाइयो थियो । तर दुई वर्षपछि पनि सडक बिस्तारको काम हुन नसक्दा स्थानीय आक्रोशित भएका छन् ।

 

सडक डिभिजन कार्यालय पाल्पाले दुई वर्ष अघिदेखि नै सडक बिस्तार गर्न भन्दै सडक छेउका घर टहरा हटाउन सुरु गरेको थियो । कार्यालयले डेढ वर्षअघि बगनासकालीको आर्यभन्ज्याङ्देखि राइडाँडासम्मका १५० बढी घर तथा टहरा हटाएको थियो । तर सो सडकखण्डमा हालसम्म पनि सडक बिस्तारको काम सुरु हुन नसकेको बगनासकाली–१, घोरबन्दाका स्थानीय बासिन्दा मुक्ति बस्यालले गुनासो गरे ।

 

बाटो बिस्तार गर्न भनेर सडक छेउको घर हटाइयो, बस्यालले भन्नुभयो, “बाटो बनाउन अझैँ सुरसार छैन ।” सडकबीच भागदेखि दायाँ र बायाँ २५ २५ मीटरभित्र पर्ने घर तथा टहरा हटाएर सडक डिभिजन कार्यालयले बाटो बनाउन नसकेको स्थानीय बासिन्दाको आरोप छ ।

 

‘बाटो तत्काल बनाउने हो भनेर हाम्रो जीवनभरको कमाइले बनाएको घरमा डोजर चल्यो स्थानीय बासिन्दा खुमबहादुर गाहाले भन्नुभयो, “बाटो बन्छकि भनेर कुर्दा पनि अहिलेसम्म बाटो बनेन ।”

 

सडक छेउका घर टहरा भत्काए पनि सडक बिस्तारको काम भने तत्काल गर्न नसकिने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख प्रदीपमणी निरौलाले जानकारी दिनुभयो । अहिले तत्कालै बाटो बिस्तार गर्ने कुनै योजना नरहेको निरौलाको भनाई छ ।

 

सिद्धार्थ राजमार्गको राम्दीदेखि रुपन्देहीसम्ममा ७०० घर टहरा सडकको क्षेत्राधिकारभित्र बनेका छन् । तीमध्ये अझैँ ५०० बढी घर टहरा हटाउन बाँकी रहेको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

डुबेर दुई बालकको मृत्यु

0

असोज १९,२०७९दाङ : दाङको लमहीस्थित खोलामा डुबेर दुई जना बालकको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ४ अर्नवा निवासी अन्दाजी १० वर्षीय गुइठे कुमाल र सोही ठाउँ निवासी १२ वर्षीय ललित कुमाल रहेको प्रहरीले जनाएको छ।

 

मङ्गलवार दिउँसो साढे ३ बजे लमहीको अर्जुनखोला पुल मुनि नुहाउन गएको बेला खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

 

मृतकको शव अहिले लमही अस्पतालमा राखिएको छ।

‘हिले’ दशै,द्वादशीसम्म पानी पर्ने

0
फाइल फोटो

असोज १९,२०७९काठमाडौं :यसपालिको विजयदशमी ‘हिले’ हुने भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले नवमीदेखि द्वादशीसम्म पानी पर्ने प्रक्षेपण गरेको हो।

महाशाखाले दशैँका लागि विशेष मनसुन बुलेटिन जारी गर्दै असोज १८ गते नवमीदेखि मनसुनी वर्षा सक्रिय हुने जनाएको छ।

महाशाखाका अनुसार हाल बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय क्षेत्र उत्तर पश्चिमतर्फ सर्दै जाने क्रममा देशभर वर्षाको सम्भावना देखिएको हो। नवमीका दिन प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

टीकाको दिन अर्थात् आज देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। ​

एकादशी र द्वादशीका का दिन पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको प्रक्षेपण महाशाखाले गरेको छ।

आज विजयादशमी, बिहान ११:५१ मा मुख्य साइत

0

असोज १९,२०७९काठमाडौं : दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ।

दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः५१ बजेको साइत उत्तम रहेको जनाएको छ। विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए।

‘राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साह शक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ‘, उनले भने ।

टस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ। आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ। आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन्।

समितिले घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत आज बिहान १०ः३४ बजे रहेको छ।

लगाइमाग्ने पश्चिम, लगाइदिने पूर्व फर्कनुपर्ने

विजयादशमीको दिन आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्ने बताउनुहुन्छ धर्मशास्त्रविद् एवं समितिका सदस्य प्रा डा देवमणि भट्टराई।

टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ। चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने उहाँले सुनाउनुभयो । टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुनेछ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ। जमराले विभिन्न रोग व्याधमा औषधिको रूपमा काम गर्ने तथ्य वैज्ञानिकरूपमा समेत पुष्टि भइसकेको छ। कोरोना भाइरस एवं डेङ्गुको सङ्क्रमण फैलिरहेकाले जमराको जुस सेवन गर्नाले रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने आयुर्वेदका चिकित्सकको भनाइ छ।

घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडा दसैँको सबैभन्दा महत्वपूर्ण दिन हो।

त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ। यसैले आजको दिनलाई विजयको प्रतीकका रूपमा पनि लिइन्छ।

आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ।

विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ–

आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायण ।।

अर्थात् द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होस्, अयोध्याका राजा दशरथको जस्तो श्री होस्, दशरथका छोरा रामको जस्तो शत्रु नाश होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस्, भीष्मको जस्तो शुरता होस्, बलरामको जस्तो बल होस्, कुन्तीका छोरा कर्णको जस्तो दानशीलता होस्, विदुरको जस्तो ज्ञान विज्ञान होस्, नारायणको जस्तो कीर्ति होस् भनी आशीर्वाद दिने गरिन्छ।

यो मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिन भनिन्छ । महिलालाई भने दुर्गा देवीको स्वरूप मानेर निम्न लिखित मन्त्रले आशीर्वाद दिइन्छ ।

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमो स्तुते ।।

आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद थाप्न हिँड्ने मानिसको बाटामा भीड लाग्छ।थाहाबाट

मूर्ति विसर्जन र जल भर्ने क्रममा मृत्यु

0

असोज १८,२०७९ रुपन्देही : मूर्ति विसर्जन र जलभर्ने क्रममा नदीमा डुबेर प्रत्येक वर्ष मानिसहरूको मृत्यु हुने गरेको छ। मर्चावरको दुइमोहानघाटमा धार्मिक मान्यताअनुसारको मूर्ति विसर्जन र जलभर्ने क्रममा डुबेर मानिसहरूको मृत्यु हुँदा सुरक्षा र बचाउका लागि प्रभावकारी पहल भने भएको छैन।

विसं २०७८ असोज ३० गते शनिबारका दिन दुर्गामूर्ति विसर्जनका लागि जानुभएका कोटहीमाई–४,कदमहवाका १९ वर्षीय अनिल कुर्मी खेल्दाखेल्दै नदीमा डुब्नुभयो। दसैँमा पूजाका लागि बनाइएको दुर्गामूर्ति विसर्जनका क्रममा दिउँसो २ बजे बेपत्ता हुनुभएका उहाँको शव सोही दिन राति ८ बजे फेला परेको थियो।

विसं २०७७ असोजमा पनि कोटहीमाई–५ स्थित सोही ठाउँमा डुबेर अर्को एक जनाको मृत्यु भएको थियो। साथीहरूको लहैलहैमा दुर्गामूर्ति विसर्जनका लागि गएका सम्मरीमाई–६ महदेइयाँका सोही उमेर समूहका मुकेश कुर्मी हेर्दाहेर्दै बेपत्ता भई डुबेको २० घण्टापछि मात्र स्थानीयवासीले उहाँको शव फेला पारेका थिए।

विसं २०७६ मा कोटहीमाई–१ पुर्निहवाबाट मूर्तिस्थापनाका लागि जलभर्न गएको टोलीसँगै रहेका एक भारतीय युवकको डुबेर मृत्यु भएको थियो। प्रहरीको रेकर्डलाई हेर्ने हो भने सोही वर्ष कोटहीमाई–५, भंगहियाका करुणा चौबेका छोरा १८ वर्षीय मुनिक्का चौबे र २०७५ सालमा जलभर्ने क्रममा कोटहीमाई(५ का एक बालिकाको डुबेर मृत्यु भएको थियो।

यसरी सो ठाउँमा डुबेर मृत्यु हुनेको सङ्ख्या हरेक वर्ष बढ्दो छ। सोही ठाउँमा डुब्दै गर्दा उद्धार भई ज्यान बाँचेकाको सङ्ख्या पनि उत्तिकै छ। विसं २०७५ मा गैडहवा गाउँपालिकाकी २० वर्षीय एक युवतीलाई डुब्दै गर्दा उद्धार गरिएको र अन्य धेरैलाई पौडीबाजले उद्धार गरी ज्यान जोगाएको स्थानीय सञ्चारकर्मी मुकेश चौधरीले बताउनुभयो।

“धार्मिक प्रयोजनका लागि जलभर्ने कार्य होस् या मूर्ति विसर्जनलगायतका कार्यक्रम, बर्सेनिजसो एक वा दुई जनाको एउटै ठाउँमा डुबेर मृत्यु भइरहँदा स्थानीय सरकारको व्यवस्थापनमाथि प्रश्न तेर्सिन्छ”, कोटहीमाई–५ तेलियागढका राजेन्द्र यादवले भन्नुभयो, “स्थानीय सरकारसँगै स्थानीय प्रहरी प्रशासनसमेतले यसको जिम्मेवारी लिनुपर्छ।”

धार्मिक प्रयोजनका लागि भन्दै जलभर्ने क्रममा सोही ठाउँमा बर्सेनि युवा युवतीहरू डुबेर मृत्यु भइरहँदा केहीको उद्धार गर्न सकिए पनि धेरैलाई बचाउन सकिएको छैन। कम्तीमा पनि बर्सेनि एक या दुई जनासम्मको ज्यान जाने गरेको इलाका प्रहरी कार्यालय मर्चावरको भनाइ छ।

दानव र तिनाउनदीको सङ्गमस्थल भएको त्यो ठाउँमा पानीको गहिराइ र बहाव उच्च छ। कुनै पनि कारणले नदीको पानीमा डुब्ने जो कोहीको पनि ज्यान जोगिने सम्भावना कमै हुन्छ। त्यसैले सो ठाउँ सबैका लागि जोखिमपूर्ण रहेको भन्दै इलाका प्रहरी कार्यालय मर्चावरका प्रहरी नायब निरीक्षक एनपी साउदले त्यसो हुन नदिन यस वर्ष स्थानीय पालिकासित सहकार्य गरेर व्यवस्थित गर्ने बताउनुभयो।

जिम्मेवार निकायले सुरक्षा तथा बचाउका लागि गम्भीर बन्नुपर्ने आग्रह गर्दै सामुदायिक विपत् व्यवस्थापन राष्ट्रिय सञ्जालका अध्यक्ष जगन्नाथप्रसाद कुर्मीले भन्नुभयो, “यति भन्दैमा हामी आम नागरिक पनि हाम्रा कर्तव्यबाट विमुख हुन मिल्दैन। जोखिमपूर्ण ठाउँमा मूर्ति विसर्जनलगायतको कार्य गर्न रोक लगाई अलि कम पानी भएको ठाउँमा सतर्कताका साथ मात्र गर्न दिनुपर्छ।”

“अभिभावले पनि आफ्ना बच्चालाई जोखिमयुक्त ठाउँमा जानीजानी जान दिनु भनेको मृत्युको मुखमा धकेल्नु हो भन्दा फरक पर्दैन”, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले भन्नुभयो, “मैले मातहतका प्रहरी कार्यालयहरूलाई सहयोग, सुरक्षा र उद्धारका लागि आवश्यक निर्देशन दिएको छु।” दसैँ तिहारलक्षित जनचेतनामूलक कार्यक्रमहरू पनि भएको उहाँले बताउनुभयो।

“हामीसँग विज्ञ जनशक्ति छैन, चाडपर्वका बेला प्रायः मानिसहरू उत्तेजित रहन्छन्, त्यसैले सक्दो प्रयासका बाबजुद घटनाक्रम रोक्न नसकिनु निकै नै दुःखद हो”, कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले भन्नुभयो, “खुसी साटासाट गर्नुपर्ने चाडपर्वका बेला त्यस ठाउँमा बर्सेनि मान्छे डुबेर मृत्यु हुने गरेकोले यस वर्ष त्यस्तो हुन नदिन विशेष व्यवस्था गरिने छ।”

घाँटीमा मासु अड्किएर धनबहादुरको मृत्यु

0

असोज १८,२०७९चितवन :मासु खाँदा घाँटीमा अड्किए पछि चितवनका एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री रहेका छन् ।

सोमबार साँझ मासु खाने क्रममा घाँटीमा अड्किए पछि उनलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज ल्याइएको थियो।

उनको पुरानो मेडिकल कलेज पुर्‍याउनासाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

क्षेत्रीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।