पाल्पामा सडक बनाउन घर–टहरा हटाइयो, सडक बनेन

0
142

असोज १९,२०७९ पाल्पा :दुई वर्षअघि सिद्धार्थ राजमार्ग छेउमा बनाइएका अबैध संरचना हटाइयो । सडक बिस्तार गर्ने भन्दै सडक छेउमा बनेका घर टहरा डोजर र लोडर लगाएर हटाइयो थियो । तर दुई वर्षपछि पनि सडक बिस्तारको काम हुन नसक्दा स्थानीय आक्रोशित भएका छन् ।

 

सडक डिभिजन कार्यालय पाल्पाले दुई वर्ष अघिदेखि नै सडक बिस्तार गर्न भन्दै सडक छेउका घर टहरा हटाउन सुरु गरेको थियो । कार्यालयले डेढ वर्षअघि बगनासकालीको आर्यभन्ज्याङ्देखि राइडाँडासम्मका १५० बढी घर तथा टहरा हटाएको थियो । तर सो सडकखण्डमा हालसम्म पनि सडक बिस्तारको काम सुरु हुन नसकेको बगनासकाली–१, घोरबन्दाका स्थानीय बासिन्दा मुक्ति बस्यालले गुनासो गरे ।

 

बाटो बिस्तार गर्न भनेर सडक छेउको घर हटाइयो, बस्यालले भन्नुभयो, “बाटो बनाउन अझैँ सुरसार छैन ।” सडकबीच भागदेखि दायाँ र बायाँ २५ २५ मीटरभित्र पर्ने घर तथा टहरा हटाएर सडक डिभिजन कार्यालयले बाटो बनाउन नसकेको स्थानीय बासिन्दाको आरोप छ ।

 

‘बाटो तत्काल बनाउने हो भनेर हाम्रो जीवनभरको कमाइले बनाएको घरमा डोजर चल्यो स्थानीय बासिन्दा खुमबहादुर गाहाले भन्नुभयो, “बाटो बन्छकि भनेर कुर्दा पनि अहिलेसम्म बाटो बनेन ।”

 

सडक छेउका घर टहरा भत्काए पनि सडक बिस्तारको काम भने तत्काल गर्न नसकिने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख प्रदीपमणी निरौलाले जानकारी दिनुभयो । अहिले तत्कालै बाटो बिस्तार गर्ने कुनै योजना नरहेको निरौलाको भनाई छ ।

 

सिद्धार्थ राजमार्गको राम्दीदेखि रुपन्देहीसम्ममा ७०० घर टहरा सडकको क्षेत्राधिकारभित्र बनेका छन् । तीमध्ये अझैँ ५०० बढी घर टहरा हटाउन बाँकी रहेको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

SHARE