रामपुरमा फोहोर प्रशोधन मेसिन उद्घाटन

0
393

सुशीला रेग्मी

रामपुर (पाल्पा), १ कात्तिक : पाल्पाको रामपुर नगरपालिका भित्र निस्कने फोहोरजन्य पदार्थ प्रशोधन गर्ने मेसिनको उद्घाटन गरिएको छ ।
शनिवार नगर प्रमुख रमणबहादुर थापाले वैदिक विधि अनुसार मेसिनको शुभारम्भ गरे । नगरपालिका परिषरमा राखिएको मेसिनको बडादशैको घटस्थापनको शुभ साइत पारेर मेसिन उद्घाटन गर्दै नगर प्रमुख थापाले रामपुर नगरपालिका भित्र अव्यवस्थित रुपमा फालिएका कुहिने फोहोरजन्य पदार्थलाई प्रशोधन गरेर प्राङ्गारिक मल उत्पादन गर्ने बताए ।
उनले केही समयका लागि नगरपालिका परिषरमा परिक्षण गर्ने र दीर्घकालीन रुपमा पछि अन्यत्र जग्गा व्यवस्थापन गरी काम गर्दै जाने बताउुदै रामपुरको मुख्य समस्या पोहोरलाई मोहोरमा परिणत गर्ने लक्ष्य रहेको बताए ।
मेसिन शुभारम्भ गरी नगर प्रमुख थापाले नगरका विभिन्न बजारबाट संकलन गरी ल्याइएका कुहिने फोहोजन्य पदार्थ मेसिनमा राखेर फोहोर प्रशोधन मेसिन संचालन कार्य सुरु भएको छ ।

रामपुर नगरमा फालिएका फोहोजन्य पदार्थमध्ये कुहिने फोहोरलाई मेसिनबाट प्रशोधन गरी प्राङ्गारिक मल निकाल्ने र अन्य फोहोरजन्य सामग्रीलाई बिक्रि गरी नगरको आयस्रोत भित्र्याउने लक्ष्य रहेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले जानकारी दिए ।
रामपुर नगरपालिकाले उद्यम चौतारी प्राली र सूर्योदय क्लव स्याङ्गजाको सहकार्यमा फोहोरमैला व्यवस्थापनको काम सुरु भएको हो । उद्यम चौतारी प्रालीका प्रबन्ध निर्देशक रिखिराम पौडेल र सुर्योदय क्लवका अध्यक्ष अनन्तराज श्रेष्ठले मेसिन संचालन प्रबिधिबारे सहजिकरण गरे ।

फोहोर प्रशोधन मेसिनबाट एक पटकमा पाँच क्वीन्टल फोहोरजन्य पदार्थलाई मेसिनले प्रशोधन गरी करिव १५ देखि २० प्रतिशत मल उत्पादन गर्न सकिन्छ । मासुजन्य, हड्डी जस्ता पदार्थ प्रशोधन हुनका लागि करिव २० घण्टा समय लाग्छ भने अन्य फोहोरजन्य पदार्थ करिव १० घण्टा देखि १५ घण्टा सम्ममा प्रशोधन भई मल उत्पादन गर्न सकिने उद्यम चौतारी प्रालीका प्रबन्ध निर्देशक रिखिराम पौडेलले बताए ।
फोहोरजन्य नकुहिने पदार्थलाई बिक्रि गरेर राम्रो कमाई गर्न सकिने सुर्योदय क्लवका अध्यक्ष अनन्तराज श्रेष्ठ बताउछन। केही समय अगाडी रामपुरमा फोहोरमैला व्यवस्थापनमा समस्या भन्ने शीर्षकमा विभिन्न संचारमाध्यममा समाचार प्रकाशन तथा प्रसारण भएपछि रामपुरमा फोहोरमैला व्यवस्थापनको काम भएको हो ।

SHARE