कार्तिक १,२०७७ दाङ : प्रहरीले दाङमा चाडपर्व लक्षित सुरक्षा योजना लागु गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङले शुक्रबारदेखि सुरक्षा योजना लागु गरिएको जानकारी दिएको छ।
दशैं, दिपावली तथा छठ पर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागु गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख गणेश चन्दले बताए। विभिन्न २८२ युनिटमा एक हजार नौजना सुरक्षाकर्मी परिचालन गरिएको चन्दले जानकारी दिए।
प्रहरीले दाङमा पर्व विशेष सुरक्षामा एउटा कमाण्ड पोष्ट, एउटा रिजर्भ फोर्स, १० वटा मोबाइल गस्ती, ५० वटा क्युआरटी, ५६ वटा पैदल गस्ती, ३० वटा पिकेट, ३० वटा ट्राफिकसहितको चेकिङ, आठवटा सरप्राइज चेकिङ, आठवटा सादा पोशाकमा सुरक्षाकर्मी परिचालन गरेको चन्दले बताए।