
रमेश विश्वकर्मा
गुल्मी, असोज २९ : नारीहरु असुरक्षित रहेको भन्दै गृहमन्त्रीलाई गुल्मीका प्रमुख जिल्ला अधिकारी मार्फत ध्यानाकर्षण गराईएको छ ।
पछिल्लो समय देशैभरी बलात्कारका घटना बढेको बेला सरकार भने मौन रहेको भन्दै गुल्मीका युवतीहरुले ध्यानाकर्षण गराएका हुन् । ६ महिना देखी ७५ वर्ष सम्मका निर्दोष चेलीहरु बलात्कृत हुँदा सिङ्गो राष्ट्रमा भय उत्पन्न भएको उल्लेख गर्दै विभिन्न मागहरु सहित ध्यानाकर्षण गराएका हुन् ।
उनीहरुले उचित यौन शिक्षा दिने कार्यक्रम गर्नुपर्ने, अपराधिलाई राजनितिक संरक्षणको अन्त्य गर्नुपर्ने, बलात्कारीलाई आजीवन करावासको सजाय दिनुपर्ने, परिचय सहित बलात्कारीलाई समाजबाट बहिष्कार गरिनुपर्ने लगायतका माग सहित ध्यानाकर्षण गराएका हुन् । यसको सुनुवाइ नभएमा सिहदरबार घेर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।
सदरमुकाम तम्घासमा कालो पोशाक लगाएर उनीहरुले बलात्कार बिरुद्धको अभियान शुरु गरेका छन् । देशभर बालिका तथा किशोरी बलात्कारका घटनाहरु बढेपछि सामाजिक सञ्जालमा पनि कालो रङ्गको प्रोफाइल राखेर विरोध चलिरहेको बेला तम्घासको सडकमा प्लेकार्ड सहित युवतीहरु बिरोधमा उत्रिएका हुन् ।









