कृषिले बनायो आत्मनिर्भर : रक्सी बेच्ने महिला अहिले दुध बेच्छन्

0
620

सागर भण्डारी
असोज २८,२०७७ गुल्मी :कुनै बेला रक्सी पारेर जिविकोपार्जन गर्ने सत्यवतीका महिलाकोे दैनिकी अचेल भने फेरिएको छ । पहिले पहिले उनीहरुलाई रक्सी बेचेर मात्रै आम्दानी गर्न सकिन्छ भन्ने लाग्थ्यो । तर विस्तारै भैँसीपाल्न थालेपछि अचेल उनीहरुको सोँच बदलिएको छ । दिनरात रक्सी पारेर प्रहरीको आँखा छली बजार सम्म पुर्याउनुपर्ने टन्टा पनि अहिले सकिएको छ ।

गुल्मीको सत्यवती गाउँपालिका ४ लिम्घाकी मगर समुदायमा जन्मिएकी ईन्द्रा रानालाई पहिले रक्सी पार्न खुबै जाँगर चल्थ्यो । रक्सी स्वास्थ्यका लागि हानिकारक हो भन्दा भन्दै पनि अरु व्यवसाय गर्नुपर्छ भन्ने उनको दिमागमा कहिल्यै आएन् । पुर्खौँ देखि बाबु बाजेले गर्दै आएको रक्सी पार्ने काम गर्न जति सजिलो थियो त्यो भन्दा अफ्ठयारो पसलमा रक्सी खान आएका ग्राहकहरुलाई रिजाउनु थियो ।

उनी जस्तै त्यसक्षेत्रका महिला यो समस्याले निकै तनावमा थिए ।तर बिस्तारै पशुपालन तिर आकर्षण बढ्न थालेपछि अहिले भने उनीहरुलाई रक्सीको नाम सम्झदा पनि खिन्न महसुस हुन्छ । एकातिर रक्सीको अवैद्य बजारीकरणको समस्या अर्को तर्फ रक्सी बेचेर भन्दा दुध बेचेरै राम्रो आम्दानी हुन थालेपछि ईन्द्रले अहिले एउटा उन्नत जातको भैँसी पालेकी छिन् । विभिन्न तनाव र लान्छनाकाबीच रक्सी बेचेर मासिक दुई देखि तीन हजारसम्म मात्रै बचत गर्ने उनले अहिले भने मासिक न्यूनतम १० हजार रुपैयाँ सम्म बचत गर्ने गरेको सुनाईन् ।

ईन्द्रा राना जस्तै अहिले त्यस क्षेत्रका मगर समुदायका महिला रक्सी बेच्न छाडेर भैँसी पालन गरी दुध बेच्न थालेका छन् । गाउँपालिकाले उत्पादनमा आधारित अनुदानसगैं पशुपालनका क्षेत्रमा थुप्रै अनुदान र बजारीकरणको ग्यारेन्टी गरेपछि सोही ठाउँकी जया गाहा मगर पनि अहिले पशुपालन तर्फ लागेकी छिन् । उनका श्रीमान परदेशमा मजदुरी गर्छन् । घर खर्च चलाउन उनलाई अहिले श्रीमानलाई गुहार्नुपर्दैन् । बरु आफुले पनि गाउँमै भैँसी पालेर कमाएको केही पैसा र श्रीमानले परदेशमा कमाएको पैसा बचत गर्न थालेको अनुभव सुनाईन् । उनको गोठमा पनि अहिले एउटा उन्नत जातको भैँसी छ । आम्दानी राम्रो हुन थालेपछि अझै एउटा भैँसी थप्ने बिचारमा उनी छिन् । बिहानै उनी अहिले भैँसीलाई कुँडोफाँडो गरेर घाँस काट्न निस्कन्छिन् । रक्सी पार्ने काम भन्दा निकै आनन्द र सुखको पेशा रहेको भन्दे उनले अन्य महिलालाई पनि कृषि पेशामा लाग्न सुझाव दिन्छिन् ।

सत्यवती गाउँपालिकाले पनि अहिले गाउँपालिकालाई दुधमा आत्मनिर्भर बनाउन कृषिमा आधारित विभिन्न अनुदानका कार्यक्रमहरु ल्याएको छ । किसानको लागी खोर सुधारको अन्तर्गत १५ हजार, भकारो सुधारको लागी १० हजार र उन्नत गाईभैसी पालन गर्नेेलाई २० हजार अनुदान दिँदै आएको गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले बताए ।
गाउँपालिकाले ल्याएको अनुदानका कार्यक्रम खासगरी बेसहाराहरुका लागि आर्थिकोपार्जनको गतिलो माध्यम बनेको छ । वडा नं ६ की एकल महिला सरला ढकालले अहिले दुध बेचेरै आफ्ना सात सन्तानको लालनपोषण र पढाई खर्च धान्दै बचत गर्न सफल भएको बताईन् ।
महिलाहरुले दुघ बेच्न थालेपछि आफु त आत्मनिर्भर बनेका छन् नै गाउँपालिकालाई समेत दुधमा आत्मर्नीभर बनाई बाहिर निर्यात गर्न समेत सक्षम बनाएका छन् । अहिले त्यस गाउँपालिकाबाट दैनिक २ सय लिटर भन्दा धेरै दुध अन्यत्र ठाउँमा निर्यात हुने गरेकोे गाउँपालिकाका पशुशाखा प्रमुख नारायण खनालले बताए । उनले घरेलु मदिरा नियन्त्रणका लागि मदिरा नष्ट गर्ने अभियानमा लाग्नु भन्दा पनि बाध्यताले त्यस क्षेत्रमा लागेकाहरुलाई कृषि पेशामा आकर्षित गर्न सके अवैद्य घरेलु मदिरा उत्पादन र बेचबिखन गर्ने कार्य समेत न्यूनिकरण हुने बताए । उनले मदिराको कारोबार समेत विस्तारै कम हुन थालेपछि घरेलु तथा महिला हिशांका घटना समेत घट्दै जान थालेको बताए ।

 

 

 

SHARE