गुल्मीमा दोब्बर भाडा लिदैँ सवारी

0
432

हुमाकान्त पोखरेल
असोज १६,२०७७ गुल्मी : गुल्मीमा यातायातका साधनहरुले सरकारले तोकेभन्दा बढी भाडा लिन थालेका छन् ।

कोरोना महामारि र सरकारले नै भाडा बढाएको बाहानामा उनीहरुले यात्रुहरुसँग तोकिएभन्दा दोब्बरभन्दा बढी भाडा असुल्दै आएका छन् । अहिले ग्रामिण भेगका अधिकाशं सडक बिग्रिएका छन् । बस, हाइस लगायतका बढी यात्रु बोक्ने सवारी पूर्ववत ढङ्गले चल्न सकेका छैनन् । जसले गर्दा जीप र केही ठाउँमा पुगेका बसले मनपरि भाडा असुल्न थालेका हुन् ।

जिल्लाको मुसिकोट नगरपालिकाको वामीबाट सदरमुकाम तम्घाससम्मको भाडा अहिले ३७० तोकिएको छ । तर त्यहाँबाट सदरमुकाम आउने जिपले भने सात सय लिने गरेका छन् । ‘तम्घास आउनैपर्ने थियो, बाटोमा पहिरो गएको र कोरोनाको बाहाना बनाएर दुईजनाको १४ सय ति¥यौ ।’ मुसिकोटबाट तम्घास आएकी हिमा राना मगरले भनिन्, ‘लकडाउनपछि मनपरि भाडा लिन थालेका छन् ।’

धुर्कोट गाउँपालिका ७ वाग्लाकी लक्ष्मी घिमिरेले पनि अहिले सवारीले सरकारले तोकेभन्दा बढी भाडा लिने गरेको बताइन् । बन्दाबन्दीभन्दा अगाडी तम्घासदेखि वाग्ला द्धानेटासम्मको बसको १५० र जिपको १७५ थियो । तर अहिले चारसय देखि पाचँसयसम्म लिने गरेको घिमिरेले बताइन् । ‘गाउँबाट सदरमुकाम आवात–जावत गर्नको लागि चर्को भाडा तिनुपर्छ, हामीले पनि दुईजनाको आठ सय ति¥यौ ।’ उनले भनिन्, ‘बाटोमा अनुगमन गर्ने कोहि छैन, सवारीले मनपरि भाडा असुलेका छन् ।’ भाडाको बारेमा कुरा गर्दा यात्रुका कुरै नसुनी व्यवसायीले भाडा लिने गरेको उनले गुनासो गरिन् ।

सवारीमा कायम हुँदैन सामाजिक दुरी
सवारीले बढी भाडा लिएपनि सवारी साधनमा सरकारले तोकेको सामाजिक दुरी भने काम भएको छैन ।
गाउँगाउँसम्म पुग्ने सवारीको सङ्ख्या अत्यन्तै कम भएको तथा बस र हाइस सबै ठाउँको लागि संचालनमा नआएको कारण सवारीमा सामाजिक दुरी कायम नभएको हो ।

अधिकाशं सवारी बढी भाडाको आशमा टाढा गई त्यहिबाट यात्रु भर्छन । जसले गर्दा नजिकका नागरिकले सवारी पाउदैँनन् । पाइहाले पनि राम्रो सिट पाउदैँनन् । ‘जसरी पनि बुटबल पुग्नुपर्ने थियो, तम्घाससम्म आउनको लागि जिपले ल्याउन मानेनन् ।’ जैसिथोकबाट बुटबल जान हिडेका कृष्ण कुँवरले भने, ‘अन्तिममा कुनै उपाय नभएर बसमा आए ।’ बसमा आफुले सामाजिक दुरीको पालना नगरेको तथा गर्ने वातावरण नभएको उनले बताए ।

मुसिकोटका ओम बहादुर क्षेत्री बसका मालिक हुन् । उनले विगत लामो समयदेखि तम्घास–धुर्कोट, सिमलटारी लगायतका क्षेत्रमा बस चलाउछन् । उनको बस ३२ सिट क्षमताको छ । अहिले सरकारले जारि गरेको नियमअनुसार उनले १६ जनामात्र यात्रु बोक्न पाउछन् । तर आजकाल उनले ३० देखि माथिको सङ्ख्यामा यात्रुहरुलाई सवार गराएको स्वीकार्छन । ‘सरकारले भाडा बढाइदिएको छ, १६ जनामात्रै लिएर हिड्न पनि तयार छौ ।’ उनले भने, ‘यात्रुकै आवश्यकताले सामाजिक दुरीको कायम नभएको हो ।’ आफुहरुले बसमा सामाजिक दुरीको पालना गर्न खोजेपनि सम्भव नभएको उनकोे भनाई छ ।

‘माक्स र सेनिटाइजर त प्रयोग गरेकै छौ, तरपनि खचाखच यात्रु राख्दा कोरोनाको जोखिम बढेको छ ।’ क्षेत्रीले भने, ‘गाउँमा भएका कम सवारीका कारण बढी यात्रु राख्ने बाध्यता भएको छ ।’

काउन्टरबाट टिकल काट्नुस : व्यवसायी संघ
लामो समयको बन्दाबन्दीपछि लामो तथा छोटो दुरीका सवारीसाधन चल्न थालेका छन् ।

गत बर्ष भाद्र १० गते जिल्ला प्रशासन कार्यालय गुल्मीले तोकेको भाडामा यातयात व्यवसायी पनि सहमत भएका थिए । जसअनुसार केही समय भाडादर घट्यो पनि । तर अहिले उक्त भाडादरमा दोब्बरभन्दा पनि बढी लिने गरेको यात्रुहरुले गुनासो गरेका छन् ।

सदरमुकाम तम्घासको उदिनढुङ्गा जिपपार्कबाट जिल्लाको धुर्कोट, मदाने, मुसिकोट, मालिका लगायतका क्षेत्रको लागि टिक विक्रि हुन्छन् । भने भगवती मन्दिरमा रहेको काउन्टरबाट चन्द्रकोट, गुल्मीदरबार, रुरुक्षेत्र, छत्रकोट लगायतका स्थानको लागि टिकट विक्रि हुन्छन् ।

यातायात व्यवसायिहरुको छाता संगठन गुल्मी यातायात व्यवसायी संघका कार्यालय प्रमुख डोर बहादुर कुँवरले यात्रुहरुलाई टिकट काटेर मात्र सवारी प्रयोग गर्न आग्रह गरे । ‘सरकारले ५० प्रतिशत भन्दा बढी भाडा लिन नपाउने गरी नियम बनाएको छ, काउन्टरबाट सोही शुल्कमा टिकट दिन्छौ ।’ उनले भने, ‘तोकिएकोभन्दा बढी शुल्क लिने कुनै पनि सवारीलाई कारवाहि गर्छौ ।’ तर अहिलेसम्म कुनै पनि सवारीलाई कारवाही भने भएको छैन ।

अधिकाशं ठाउँमा बस नै चल्दैनन
अत्याधिक बर्षाका कारण जिल्लामा बिग्रिएका सबै सडक बनिसकेका छैनन् । जसले गर्दा कतिपय ठाउँमा जिप पनि जान सकेका छैनन् भने अधिकाशं ठाउँमा बस र हाइस चल्न सकेका छैनन् ।

अहिले मालिका गाउँपालिकाको गङगरे, कालिगडकी गाउँपालिकाको पूर्तिघाट लगायतका ठाउँमा यातायतका कुनै पनि साधन चल्न सकेका छैनन् । भने मुसिकोट, अर्खबाङ्ग, सिर्सेनी, इस्मा, छापहिले लगायतका दर्जनौ ठाउँमा बस चल्न सकेका छैनन् । जसले गर्दा त्यहाँ पुगेका साना सवारीले मनपरि भाडा असुल्ने गरेका छन् । काउन्टरले सिट क्षमताको आधा यात्रुको लागि मात्र टिकट दिने गर्दछ ।
तर गाउँ जाने सावरीले बीच बाटोबाट यात्रु राख्ने गर्दछन् । यातायात व्यवसायी संघका कार्यालय प्रमुख डोर बहादुर कुँवरले पूर्ववत स्थितिमा सवारी चल्न दिए लकडाउनभन्दा पहिलेकै भाडादरमा सवारी संचालन गर्न आफुहरु तयार रहेको बताए ।

अनुगमनलाई तिब्रता दिनुपर्छ : नागरिक समाज
जिल्लामा अनुगमन गर्ने प्रहरी जशक्ति सदरमुकाम केन्द्रित छ । जसले गर्दा गाउँबाट सदरमुकाम भित्रने सवारीले दुरी कायम गराउनको लागि सदरमुकाम नजिकैबाट यात्रु ओरालेर पठाउने गर्छन ।
नागरिक समाज गुल्मीका संयोजक पदम प्रसाद पाण्डेले बढी भाडा लिने तथा यात्रु ओरालेर पठाउने समस्यालाई समाधान गर्नको लागि अनुगमनलाई तिब्रता दिनुपर्ने बताउछन् । ‘सवारीमा सामाजिक दुरी भएन, ग्रामिण भेगमा चल्ने सवारीको लागि त्यो सम्भव पनि देखिएन ।’ उनले भने, ‘जिल्लामा अनुगमनको पाटो फितलो भएको छ, यसमा सक्रियता बढाउनुपर्छ ।’

त्यसका साथै नागरिकमा चेतनाको कमी, अनुगमन गर्ने निकायले चासो नदेखाउने जस्ता कारणले व्यवसायीहरुले मनपरी गर्न पाएको र यात्रुहरु ठगिएको उनले बताए । ग्रामिण भेगका सडकहरु तत्काल बनाउन र ठुला सवारीहरु संचालन गर्नुपर्ने उनको भनाई छ ।

ट्राफिक प्रहरीमा जनशक्ति छैन
सवारीले बढी भाडा लिएको गुनासो आएपछि ट्राफिक प्रहरीले अनुगमन पनि गरेको छ । तर ट्राफिक जनशक्ति पनि कम भएकोले गर्दा अनुगमनमा समस्या परेको छ । जिल्लामा अनुगमन र जाचँ गर्नुपर्ने ठाउँ धेरै छन् ।
ट्राफिक प्रहरीले अहिले सदरमुकाम तम्घासको बाघमारे, देउराली, रुरुक्षेत्र गाउँपालिकाको रिडी, जुहाङ्ग र ऋङ्गामा मात्रै ट्राफिक जाचँ हुँदै आएको छ । जिल्लामा नौ जनाको ट्राफिक दरबन्दी भएकोमा १२ जना कार्यरत छन् ।
तरपनि मुख्य ठाउँसम्म पनि ट्राफिक पुग्न सकेको छैन । भएका ट्राफिकमध्ये सदरमुकाम तम्घासमा सातजना, रिडीमा तीनजना, जुहाङ्ग र ऋङ्गामा एक÷एक जना कार्यरत रहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख जगन्नाथ पाण्डेले जानकारी दिए । ‘जिल्लाको भौभोलिक क्षेत्र ठुलो र विकट छ, सबै ठाउँमा चेकजाचँ गर्न सकिरहेका छैनौ ।’ उनले भने, ‘जनशक्ति थोरै भएपनि सकेजति काम गरिरहेका छौ ।’

जिल्लास्तरकै निर्णय कार्यान्वयन भएन
बिग्रेका सडक बनाउने र सबै ठाउँमा पूर्ववत स्थितिमा सवारी चलाउने उदेश्यले असौज १ र २ गते जिल्लास्तरमा बैठक बस्यो ।
जिल्लाका सबै कार्यालय प्रमुख, जिल्ला समन्वय समति र स्थानीय तहका प्रमुख–उपप्रमुखको सहभागिता भएको बैठकले १५ दिनभित्र बिग्रेका सबै ग्रामिण सडक बनाउने र बस चलाउने निर्णय ग¥यो । तर उक्त निर्णय अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । ‘अत्याधिक बर्षाका कारण काम हुनै पाएन, समस्या जस्ताको त्यस्तै छ ।’ जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुललीले भने, ‘यो बीचमा कोरोनाले गर्दा केहि स्थानीय तहका वडा पनि शिल भए, त्यसले पनि काममा बाधा पु¥यायो ।’
त्यसका साथै उनले अब छिट्टै सबै स्थानीय तहहरुलाई बिग्रेका सडक बनाउन ताकेता गर्ने बताए । प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले बढी भाडा लिने सवारीलाई कारवाही गर्ने बताए । अब सिभिल पोशाकमा सुरक्षाकर्मी खटाउने र चेकजाचँ कार्यलाई थप कडाई गर्ने उनले बताए ।

SHARE