गाउँपालिका अध्यक्षकी बुहारीलाई प्रधानाध्यापक बनाएको भन्दै काँग्रेसद्धारा बिद्यालयमा ताला

0
414

हुमाकान्त पोखरेल
असोज ९,२०७७ गुल्मी : जिल्लाको इस्मा गाउँपालिको एक विद्यालयमा नेपाली काङ्ग्रेस इस्मा गाउँकमिटीले विद्यालयमा ताला लगाएको छ ।
गाउँपालिकाको वडा नम्बर ३ दर्लामचौरमा रहेको सुन्तलादेवी निम्न माध्यमिक विद्यालयमा विगत एक हप्तादेखि काङ्ग्रेसले ताला लगाएको हो । विद्यालयमा प्रध्यानाध्यापक नियुक्ति गर्दा गाउँपालिकाले शिक्षा नियमावलीलाई मिचेर मनपरि तरिकाले गाउँपालिका अध्यक्ष लक्षमण विष्टकी बुहारीलाई नै प्रध्यानाध्यापक बनाएको भन्दै त्यसैको विरोधमा काङ्ग्रेसले ताला लगाएको हो ।
विद्यालयमा प्रध्यानाध्यापकका रुपमा काम गर्दै आएका निर बहादुर विष्टले भदौ १४ गते अवकाश पाए । शिक्षा नियमावलीकाअनुसार विद्यालयमा नयाँ प्रध्यानाध्यापक बनाउदाँ शिक्षा शाखाले सूचना आह्वान गर्नुपर्छ । इच्छुक उम्मेद्धारले विद्यालय विकास प्रस्तावसहित आवेदन फारम भर्नुपर्छ । त्यसैका आधारमा उत्कृष्ट उम्मेद्धारलाई शिक्षा शाखाको सिफारिसमा सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतले सम्झौता गर्ने व्यवस्था छ ।
त्यत्तिञ्जेलसम्म निमित्त प्रध्यानाध्यापकको जिम्मेवारी विद्यालयमा रहेको सिनियर शिक्षकलाई दिनुपर्छ । त्यसो गर्दा विद्यालयमा रमेश जिसीले निमित्त प्रध्यानाध्यापकको जिम्मेवारी पाउनुपर्ने हो । तर गाउँपालिकाले गाउँपालिका अध्यक्षकी बुहारी शोभा विष्टलाई सिधै प्रध्यानाध्यापक नियुक्त गरेकोले आफुहरुले त्यसको विरोधमा तालाबन्दी गरेको काङ्ग्रेस इस्मा गाउँपालिकाका नेता चन्द्र बहादुर महतले बताए ।

विद्यालमा तीनपटक ताला
सुन्तलादेवी निम्न माध्यमिक विद्यालमा तीन पटक ताला लागेको छ । सुरुमा असौज २ गते नेपाली काङ्ग्रेसले विद्यालयको तालामाथि ताला लगायो । त्यसपछि असौज ३ गते काङ्ग्रेसले लगाएको ताला विद्यालयका अभिभावकहरुले तोडे । त्यसको अर्को दिन असौज ४ गते काङ्ग्रेसले उक्त ताला तोडेर अर्को ताला लगाएको छ ।
गाउँपालिका अध्यक्ष लक्षमण विष्टले आफ्नी बुहारी मात्र नभएर शैक्षिक योग्यताको आधारमा प्रध्यानाध्यापक नियुक्त गरेको बताए । अर्का शिक्षक जिसी एस्.एल्.सि. मात्र उत्तिर्ण भएको र शोभा विष्ट स्नातक उत्तिर्ण भएकोले शैक्षिक योग्यताको आधारमा विष्टलाई नै गाउँकार्यपालिकाले प्रध्यानाध्यापक नियुक्त गरेको बताए ।
न्यून योग्यता भएको व्यक्तिलाई प्रध्यानाध्यापक बनाउने काङ्ग्रेसको एजेण्डा गाउँपालिकालाई मान्य नहुने उनले बताए । विद्यालयको ताला तोडेर आफुले ताला लगाएको भन्दै अहिले जिल्ला प्रशासन कार्यालयमा अर्को मुद्धा दर्ता भएको छ । ताला खोल्ने बिषयमा पनि अब गाउँपालिकाले वार्ता नगर्ने र प्रशासन कार्यालयमा बार्ता गरी सहमती खोज्ने विष्टले बताए ।
यताप्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले यसभन्दा अगाडी बोलाएको बैठकमा काङ्ग्रेसबाट प्रनिधित्व नभएको र अर्को बैठक आइतबार बोलाइएको जानकारी दिए ।

SHARE