सुशीला रेग्मी
असोज ५,२०७७ पाल्पा :रोजगारको शिलशिलामा बहरानमा ज्यान गुमाउन पुगेका स्याङ्गजा जिल्ला चापाकोट नगरपालिका वडा नं ६ साँखर केलादीका स्वर्गीय अशोक भट्टराईको परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।
एनआरएन बहराइन संस्थाका अध्यक्ष लक्ष्मी गिरीको नेतृत्वमा रकम सङ्कलन गरी सहयोग हस्तान्तरण गरिएको हो । स्वर्गीय भट्टराईको परिवारलाई वैदेशिक रोजगारमा कार्यरत नेपालीबाट सङ्कलित ६० हजार चार सय ४५ रुपैयाँ सहयोग स्वरुप रकम पठाएको एनआरएन बहराइनका कोषाध्यक्ष विष्णु आचार्यले जानकारी दिए ।
सहयोग रकम रामपुर नगरपालिका पाल्पाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य र चापाकोट नगरपालिका वडा नं ६ का अध्यक्ष एकदेव भट्टराईले स्वर्गीय भट्टराईको घरमै पुगेर उनका बुबा रविलाल भट्टराई र आमा लुकमाया भट्टराईलाई हस्तान्तरण गरिएको हो ।
रोजगारको शिलशिलामा बहराइनमा १६ महिना अघि पुगेका भट्टराईको गत साउन ८ गते मृत्यु भएको थियो । उनको गत भदौ २८ गते शव नेपाल ल्याएर कालीगण्डकीमा वैदिक परम्परा अनुसार दाह संस्कार गरिएको छ ।
वैदेशिक रोजगारमा रहेका नेपालीले दुखमा परेको भट्टराई परिवारमा सानो भएपनि रकम पठाएर सहयोग गरेकोमा रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले धन्यवाद दिइन् ।