
असोज ३,२०७७ गुल्मी : जिल्लाका तीन स्थानीय तहले नीजि प्रहरी नियुक्ति गरेका छन् ।
जिल्लाको रेसुङगा नगरपालिकाले ७ जना , धुर्कोट गाउँपालिकाले ५ जना र मालिका गाउँपालिकाले ६ जना प्रहरी नियूक्ति गरेका छन् ।
स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार सेवा सर्त र सुबिधाको लागि नगरसभाबाट कार्यबिधि पारित गरी नगरप्रहरी छनोट गरिएको रेसुङगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए । जस अनुसार एक जना हबलदारलाई १५ हजार र ६ जना जवानहरुलाई १३ हजारका दरले पारिश्रमिक दिने गरेको बताए । त्यो संगै मासिक तीन हजार खाजा खर्च र बार्षिक रुपमा पोशाक उपलब्ध गराउने उनले जानकारी दिए ।
उनीहरुले स्थानीय बजार अनुगमन , गाउँपालिका र नगरपालिकाको सुरक्षा बजार अनुगमन , आन्तरिक राजश्व उठाउने लगायतका कामको जिम्मेवारी दिइएको मालिका गाउँपालिका वडा नं ६ अर्जेका वडा अध्यक्ष एवं गाउँपालिकाका प्रबक्ता शोभाखर गिरीले जानकारी दिए ।
बिपदको बेला पनि नेपाल प्रहरीहरुसंग समन्वय गरी उद्धारका कार्य संगै स्थानीय शान्ती सुरक्षा कायम गर्नका लागि उनीहरुको ठुलो भूमिका रहने धुर्कोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीले बताए ।
यस्तै रेसुङगा नगरपालिकाका नगरप्रहरीहरुले नगरपालिका कार्यलयको सुरक्षा, हाटबजार लगायतका स्थानहरुमा सुरक्षा दिइरहेका छन् ।








