सुशीला रेग्मी
रामपुर (पाल्पा), २३ भदौ : समुदायस्तरमा कोरोना सङ्क्रमण देखिएपछि पाल्पाको तिनाउ गाउँपालिका एक हप्ताका लागि बन्द गरिएको छ । यहाँको वडा नं २ मा आईतवार समुदायस्तरमा एकै पटक आठ जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएपछि आईतवार देखि नै गाउँपालिका बन्द गरिएको छ ।
स्वास्थ्य सुरक्षालाई मध्यनजर राख्दै गाउँपालिका कार्यालय, वडा कार्यालयका कामहरु, दोभान बजार क्षेत्र सबै बन्द गरिएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती मगरले जानकारी दिए ।
“अत्यावश्यक पर्ने सेवाहरु स्वास्थ्य सुरक्षा सामग्री प्रयोग गरी दिनेछौँ भने आवतजावत, बजार, व्यापार, व्यवसाय भने सबै बन्द गरेका छौँ” उनले भने ।
कोरोना पोजेटिभ देखिएकालाई दोभान स्थित सामुदायिक भवनमा तयार पारिएको आइसोलेशनमा राखिएको छ । यस भन्दा अघि पनि यस गाउँपालिकामा भारतबाट फर्केका छ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।
यसैगरी जिल्लाकै बगनासकाली गाउँपालिका वडा नं ७ र ८ का केही भाग बन्द गरिएको छ । भारतबाट फर्केर होमक्वारेन्टिमा बसेका वडा नं ७ निवासी ३० वर्षीय एक पुरुषमा कोरोना पोजेटिभ देखिएपछि केही क्षेत्र बन्द गरिएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले जानकारी दिए ।
“कोरोना पोजेटिभ देखिएका पुरुषसंगै अर्का सोही ठाउँका पुरुष संगसंगै बसेको भन्ने सुचनाका आधारमा समुदायस्तरमा फैलियो कि ? भन्ने डरले संगै बसेका साथीको स्वाव परिक्षणको रिपोर्ट नआउँदा सम्म केही क्षेत्र बन्द गरेका छौँ” अध्यक्ष बस्यालले भने ।
वडा नं ७ को कार्यालयबाट हुने सेवा पनि बन्द गरिएको छ । देउराली बजार, नेपानेडाँडा, वडा नम्बर ७ को कमेरे हुँदै वडा कार्यालय लगायतको क्षेत्रमा आवतजावत, व्यापार, व्यवसाय सबै बन्द गरिएको छ ।
पिसिआर परीक्षणमा आइतवार साँझ र सोमवार गरी तानसेनका एक जना र माथागढीका ३ जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
तानसेन नगरपालिका ११ घर भई वडा ४ मा बस्ने एक महिला, माथागढीका वडा सदस्य, शिक्षक, भारतीय सेना रहेका छन् । हालसम्म जिल्लामा सङ्क्रमितको संख्या ६१० पुगेको छ । पाँच सय ६७ जनाले कोरोना जितेर घर फर्किएका छन् भने २ जनाको निधन भएको छ ।