मृगौला पीडित विकलाई उपचारमा समस्या

0
456

सुशीला रेग्मी

रामपुर (पाल्पा), ५ भदौ :  दुबै मृगौलाले काम नगरेपछि रम्भा गाउँपालिका वडा नं ३ बस्ने २५ वर्षीय रवि विकलाई उपचारमा समस्या परेको छ । सवारी चालकको काम गर्दै परिवार धान्ने विक आफै बिरामी परेपछि परिवार बिचल्लीमा परेको छ ।

विकको दुबै मृगौलाले काम नगरेपछि हालसम्म उपचारका लागि करिव रु सात लाख रकम खर्च भइसकेको छ । परिवारको आर्थिक अवस्था नाजुक हुदा उपचारमा खर्च जुटाउन समस्या परेको छ । विकका श्रीमती र चार वर्षीय एक छोरा छन् ।

“गाउँघरमा गाडी चलाएर परिवार पाल्ने म आफै अहिले बिरामी परेपछि परिवारमा बिचल्ली छाएको छ, कतैबाट सहयोग मिलेमा उपचारमा सजिलो हुने थियो” पीडित विकले भने ।

मृगौला प्रत्यारोपणका लागि धेरै रकम खर्च लाग्ने स्वास्थ्यकर्मीले बताएपछि परिवारलाई आर्थिक स्रोत जुटाउन समस्या परेको छ । स्थानीय र आफन्तबाट सङ्कलित सहयोगले अहिले काठमाण्डौँ पुगेर डायलायसिस गराउँदै आएका छन् ।

यसैबीच विकको उपचारमा मैत्री क्लव तानसेनले रु दश हजार ५०० रकम सहयोग गरेको छ । क्लवका निवर्तमान अध्यक्ष बेशान्तर शाक्य, कार्यकारी सदस्य सुरेस श्रेष्ठ र तेजेन्द्रलाल शाक्य पीडित विकको घरमै पुुगेर राहात रकम सहयोग गरेका छन् ।

गाडी चलाउने क्रममा एक्कासी आँखामा समस्या देखिएपछि उपचारका निम्ति अस्पताल पुग्दा विकलाई मृगौलाको समस्या भएको जानकारी स्वास्थ्यकर्मीले दिएका थिए । सरकारले डायलायसिस निशुल्क गर्ने भनेएपनि अहिले सम्म कुनै पनि सहयोग नभएको पीडित परिवारको गुनासो छ ।

SHARE