रामपुर नगरपालिका दश दिन बन्द

0
741

सुशीला रेग्मी

साउन २,२०७७ पाल्पा : रामपुर नगरपालिका भित्र भिडभाड बढ्न थालेपछि कडाई गरिने भएको छ । नगरभित्र खुलेआम मास्क, स्यानीटाइजरको प्रयोग नगरिकन बजार क्षेत्रमा भिडभाड बढ्दै गएपछि दश दिन सम्मका लागि अत्यावश्यक बाहेक सबै क्षेत्र बन्द गरिने भएको हो ।

सोमवार बसेको नगरपालिका कार्यालयको १०२ औँ कार्यपालिका बैठकले मंगलवार राती १२ वजेदेखि आउँदो भदौ १२ गते राती १२ वजे सम्मका लागि नगरभित्र आवतजावत, व्यापार व्यवसाय पूर्ण रुपमा बन्द हुने निर्णय गरेको नगर प्रवक्ता हुमनाथ न्यौपानेले जानकारी दिए ।

दुध, फलफूल, तरकारी पसल बिहान ५ वजेदेखि ९ र साँझ ५ वजेदेखि ७ वजे सम्म खुल्ला गरिने भएको छ भने अन्य व्यापार, पसल, व्यवसाय, उद्योग पूर्ण रुपमा बन्द गरिने भएको छ । औषधी पसल भने निर्बाध रुपमा संचालन हुनेछन् । एम्बुलेन्स बाहेकका अन्य सवारी साधन संचालनमा रोक लगाइएको छ ।

कोरोना भाइरस सङ्क्रमणको जोखिमका बेला बजार क्षेत्रमा सामान किनमेल गर्नेको घुईचो, सवारी साधनमा आवतजावत बढ्दो, बाहिरबाट गाउँ आउने क्रम बढ्न थालेपछि जोखिम न्युनिकरण गर्नका लागि दश दिन सम्म नगरभित्रका (अतिआवश्यक बाहेक) सबैक्षेत्र बन्द गर्न लागेको नगर प्रमुख रमणबहादुर थापाले बताए ।

बित्तिय संघ संस्था बिहान ११ वजे देखि दिउँसो १ वजे सम्म मात्र संचालन हुनेछन् । जनप्रतिनिधि, स्वास्थ्यकर्मी, पत्रकार र बित्तिय संघ संस्थाका कर्मचारीलाई परिचय पत्रका आधारमा मात्र आवतजावत गर्न दिइने निर्णय भएको छ ।

जोखिम बढ्दो रहेको अवस्थामा स्यानीटाइजर, मास्क प्रयोग नगर्ने र सामाजिक दुरी कायम नराखी बजारमा हिड्डुल गर्ने जस्ता गतिबिधि बढेपछि कोरोनाको सजगता अपनाउन नगरभित्र आवतजावत, व्यापार,व्यवसाय बन्द गर्ने निर्णय गरेको हो ।

अति आवश्यक काम परेमा सम्बन्धित वडा कार्यालयको सिफारिसका आधारमा आवतजावत दिइने भएको छ । बिशेषरी चाडपर्वका बेला बजारमा मानिसको भिडभाड हुने र सामाजिक दुरी पनि कायम नगरी आवतजावत गर्ने क्रम रामपुरमा बढ्न थालेपछि स्वास्थ्य संवेदनशिलतालाई मध्यनजर गर्दै बन्द गर्न लागेको प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले बताए ।

नगरपालिकाले ईलाका प्रशासन कार्यालयका प्रमुख अशोककुमार आचार्य, ईलाका प्रहरी कार्यालयका प्रमुख भिमबहादुर कार्की, उद्योग वाणिज्य संघका अध्यक्ष भोजेकन्द्रप्रकाश ढकाल, पत्रकार लगायतको सहभागीतामा बन्द गर्ने सम्बन्धमा जानकारी गराइएको हो ।

SHARE