तानसेनमा कोरोना सङ्क्रमण देखिएपछि समुदायस्तरमा परीक्षण

0
294
फाइल तस्बिर

सुशीला रेग्मी

भदौ २,२०७७ पाल्पा : तानसेनमा गृहणीमा कोरोना सङ्क्रमण देखिएपछि विशालबजार क्षेत्रका प्रत्येक घरको एक जना गरी तीन सय ३५ जनाको स्वाब संकलन गरिएको छ ।

घरमै बसेकी महिलामा गत साउन २९ गते कोरोना देखिएपछि प्रशासनले शिल गरेको क्षेत्रका नागरिकको स्वाब संकलन गरी भैरहवा पठाइएको जनस्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

तानसेन नगरपालिका वडा नं ४ बस्ने ४० वर्षीय एक महिलामा कोरोना सङ्क्रमण पुष्टी भएपछि गत साउन २९ गते साँझ ८ वजेदेखि सिल गरिएको छ ।

तानसेन बजारको बिशालबजारदेखि पूर्वमा हुलाकचोक, पश्चिममा गौरीशंकर होटल, उत्तरमा टक्सारको माछापसल र दक्षिणमा माथिल्लो पेट्रोल पम्पसम्मको क्षेत्र सिल गरिएको छ । सो क्षेत्रमा आवतजावतमा रोक लगाइएको छ ।
समुदायस्तरमा सङ्क्रमण देखिएको तानसेनको यो पहिलो घटना हो । महिला लुम्विनी मेडिकल कलेज प्रभासमा आफन्तको उपचारका लागि खटिएकी थिइन् ।
बुधबार पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएकोमा ती महिलाको बिहीबार रिपोर्ट पोजेटिभ आएको हो । उनीसँगै खटिएका श्रीमानको भने रिपोर्ट नेगेटिभ आएको छ । समुदायस्तरमै कोरोना सङ्क्रमण देखिएपछि स्थानीय त्रसित बनेका छन् ।

SHARE