बराहदेवी स्मार्ट कृषि गाउँका कृषकलाई कृषि सामग्री वितरण

0
344

सुशीला रेग्मी

साउन २६,२०७७ पाल्पा : रामपुर नगरपालिका वडा नं १० मा संचालित बराहदेवी स्मार्ट कृषि गाउँ कार्यक्रमका कृषकलाई कृषि सामग्री वितरण गरिएको छ ।

घर घरमा टनेल निर्माण गरिएपछि तरकारी बाली उत्पादनका लागि प्लाष्टिक टनेल, ट्यांकी, थोपा सिंचाई पाइप, तरकारी राख्ने क्यारेट ८३ घरपरिवारलाई एक÷एक वटा वितरण गरिएको छ ।
संस्थाका अध्यक्ष नोलराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रामपुर नगरपालिकाका कार्यवाहक प्रमुख तथा वडा नं ४ का वडा अध्यक्ष एकबहादुर नेपालीले कृषि सामग्रीको सही सदुपयोग गरी उत्पादन बढाउने खालका तरकारी लगाएर आत्मनिर्भर बन्न अनुरोध गरेका छन् ।

रामपुर नगरपालिकाका प्रवक्ता तथा आर्थिक विकास समितिका संयोजक हुमनाथ न्यौपानेले स्मार्ट कृषि कार्यक्रमका लागि रामपुर नगरपालिकाले गत आर्थिक वर्षमा रु पाँच लाख वजेट छुट्टाएपनि काम नभएर फ्रिज भएर गएको बताउँदै यस वर्ष नगरपालिकाबाट विनियोजित रु दश लाख रकम समयमा नै काम गरी भुक्तानी लिन अनुरोध गरे । कार्यक्रम सफल बनाउन आयोजक संस्था र नगरपालिकाको सहकार्य अपरिहार्यता रहेकाले नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने बताए ।

रामपुर नगरपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत तथा कृषि शाखा प्रमुख रामहरी पाण्डेयले स्मार्ट कार्यक्रमको उद्धेश्य र कार्ययोजना अनुसार काम गरेमा सफल हुने बताउँदै कृषकको ईच्छा र चाहना अनुसार खेती गरियो भने आर्थिक लाभ लिन सकिने बताए ।

रामपुर नगरपालिका १० का अध्यक्ष लिलबहादुर गाहाले यस कार्यक्रमले यहाँका कृषकमा कृषि कार्यमा आधुनिक प्रबिधिबाट खेती गर्नुपर्ने धारणा बसेको बताउँदै आम्दानी बढाउने कार्यमा कृषकको आकर्षण बढेको बताए ।

समितिका अध्यक्ष नोलराज भण्डारीले पाँच सय २१ रोपनी क्षेत्रफलमा तरकारी, धान, मकै जस्ता बालीमा कार्यक्रम संचालन गरिएको बताउँदै ८३ घरमा संचालित यस कार्यक्रम अहिले सबैका घरमा एक÷एक वटा तरकारी टनेल निर्माण गरिएको बताए ।
टनेलभित्र कृषकले विभिन्न जातका तरकारीका वीउ विजन लगाउने तयारी गरेका छन् । सोही अवसरमा गत वर्ष भए गरेका कामको समिक्षा र आगामी आर्थिक वर्षका कार्यक्रमको योजना सम्बन्धमा छलफल समेत भएको छ ।
छलफलका क्रममा यस कार्यक्रमका लागि कृषकले श्रम दिन सक्ने तर आर्थिक लगानी गर्न नसक्ने गुनासा राखेका छन् । समितिका सचिव हरिप्रसाद भण्डारीको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन पत्रकार दामोदर तिमिल्सिनाले गरेका हुन्।
कार्यक्रममा रामपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, पत्रकार लगायतको सहभागीता रहेको थियो ।

SHARE