क्‍वारेन्टाइनबाट भागेर गाउँ छिरेका युवामा कोराना पुष्टि

0
426

साउन २५, २०७७ पाल्पा : जिल्लाको रम्भा गाउँपालिका ५ ताहुका स्थानीय यतिबेला निकै त्रसित भएका छन्।

क्वारेन्टाइनबाट भागेर घरमा पुगेका युवाको कोरोना रिपोर्ट पोजेटिभ आएपछि सिंगो गाउँ नै आतंकित बनेको छ। स्थानीय ती युवाको स्वाब संकलन गरेर परीक्षणको लागि भैरहवा प्रयोगशाला पठाइएको थियो। आइतबार विहान उनको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए।

१० दिन पहिले भारतबाट आएका ती युवा रम्भा माध्यमिक विद्यालय ताहुमा निर्माण भएको क्वारेन्टाइनमा बसेका थिए। रिपोर्ट आउन ढिला भएको भन्दै उनी रिसाएर शुक्रबार राती भागेर आफ्नो घर गएका थिए।

शनिबार दिउँसो ती युवालाई प्रहरीले नियन्त्रणमा लिएर पुनः क्वारेन्टाइनमा राखेको गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले बताए। उनी पुगेको टोल ओम भञ्ज्याङलाई अहिले पूर्ण रुपमा शिल गरिएको छ। सानो बजार रहेको टोलमा करिब १५ घर रहेका छन्। यहाँका मानिसलाई बाहिर जान रोक लगाइएको छ। भने बाहिरबाट त्यहाँ जान निषेध गरिएको छ।

अहिले शिल गरिएको ओम भञ्ज्याङमा प्रहरी परिचालन गरिएको उनले बताए। सोमबार स्वास्थ्यकर्मीको टोली पुगेर कन्ट्याक्ट ट्रेसिङ गरेर स्याम्पलको रुपमा स्वाब संकलन गर्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष भण्डारीले बताए।

उनीहरूको रिपोर्ट नआउँदासम्म टोललाई शिल गर्ने कार्य जारी रहने उनले बताए।

SHARE