मुसिकोट नगरपालिकाद्धारा किसानलाई कृषि उपकरण वितरण

0
551

सागर भण्डारी
साउन २३, २०७७ गुल्मी : गुल्मीको मुसिकोट नगरपालिकाले कृषकलाई आधुनिक प्रविधिका कृषि यान्त्रिकरण वितरण गरेको छ । खेतीमा प्रविधि र यान्त्रिकीकरण गर्दै राष्ट्रिय समृद्धि हासिलका लागि उत्पादनमा बृद्धि गर्न कृषि उपकरण वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले चालु आर्थिक वर्षको कार्यक्रम अन्तर्गत ९ वटै वडाका कृषकलाई ५० प्रतिशत अनुदानमा जोत्नेदेखि कुटानी पिसानीसम्मका उपकरण उपलब्ध गराएको हो । वडा कार्यालयले उपभोक्ताहरुको प्राथमिकिकरणको आधारमा छनोट गरेका कृषकहरुलाई कृषि उपकरणहरु वितरण गरिएको मुसिकोट नगरपालिकाका प्रमुख प्रकाशकीय अधिकृत नवराज भण्डारीले बताउनुभयो । जसमध्ये ३१ वटा हातेट्याक्टर, ३१ वटा कुटानी पिसानी मिल, खाडल खन्ने मेसिन र ह्याचिङ मेसिन वितरण गरिएको मुसिकोट नगरपालिका कृषि शाखाले जानकारी दिएको छ ।

मुसिकोट ७ तिम्लेचौरका किसान गोकुल रानाले हाते ट्याक्टर पाएपछि खेत जोत्ने गोरु र हलीको चिन्ता हटेको बताउनुभयो । एक त गाउँमा गोरु नै पाउन छाडेको र अर्कोतर्फ गोरु र हलिको पैसा बचत हुनुका साथै समयको पनि बचत भएको उहाँको भनाई थियो ।

मुसिकोट ४ आरुपाटाका राजेश अधिकारी पनि प्रविधिका कारण निक्कै खुसी हुनुहुन्छ । नगरपालिकाले कृषकहरुको आयस्तर सुधार गर्न र उत्पादन वृद्धि गर्ने उद्धेश्यले वितरण गरेको हातेट्याक्टरले समय र पैसा दुबैको बचत हुने उहाँले बताउनुभयो । युवाहरु बिदेशिने क्रम बढी रहेकाले गाउँका बासिन्दाले काम गर्ने जनशक्तिको अभाव झेलिरहेका बेला यस्ता कृषि उपकरणबाट किसानहरुले कम जनशक्तिबाट पनि धेरै काम गर्न सक्ने उहाँले बताउनुभयो ।

नगरपालिकाले प्रत्येक वर्ष कृषकहरुलाई अनुदानमा कृषि उपकरणहरु वितरण गर्दै आईरहेको छ ।

SHARE