रामपुर आधारभुत विद्यालयमा सूर्यमुखी र तील खेती सुरु

0
751

सुशीला रेग्मी
साउन २३,२०७७ पाल्पा : रामपुर आधारभुत विद्यालयले कृषिलाई जोड दिदै सूर्यमुखी र तील खेती सुरु गरेको छ । विद्यालय नजिकै रहेको करिव छ रोपनी क्षेत्रफलमा सूर्यमुखी फूल र तील खेती लगाइएको छ ।

विद्यार्थी खेल्ने विद्यालयको खेलकुद मैदान अहिले हरियाली तीलले भरिएको छ । पठनपाठन बन्द भएपछि करिव तीन रोपनी खेलमैदानमा तील लगाइएको छ भने विद्यालय नजिकै रहेको राधा दामोदर मन्दिरको नाममा रहेको तीन रोपनी जग्गामा सूर्यमुखी फूल खेती सुरु गरिएको हो ।

विश्वभर महामारीको रुपमा फैलिएको कोराना भाइरसका कारण विद्यालय बन्द हुन पुगेपछि सूर्यमुखी र तील खेतीको सुरुवात गरिएको छ । खाली जग्गा सदुपयोग गर्दै आयस्रोत बढाउन विद्यालयले नयाँ कार्यका रुपमा सूर्यमुखी फूल र तील खेतीको सुरु गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद गौतमले जानकारी दिए ।

यहाँका विद्यालयका व्यवस्थापन समिति तथा शिक्षक मिलेर शिक्षण कार्यको बन्द समय सदुपयोग गर्दै सूर्यमुखी फूल, तील लगाउने तथा गोेडमेल गर्ने कार्य भइरहेको शिक्षक रिता भट्राईले बताइन् ।

यस विद्यालयले नयाँ अभ्यासका रुपमा थालनी गरेको सूर्यमुखी फूल र तील खेतीले चर्चा पाएसंगै अहिले अवलोकन गर्न जानेको चहलपहल छ । शैक्षिक संस्थाले शिक्षण कार्य मात्र नभई कृषिलाई महत्व दिदै गरेको यस कार्य नमुना रहेको स्थानीय पीताम्बर गौतमले बताए ।

आगामी दिनमा विद्यालयले विभिन्न कृषि बाली लगाएर आयस्रोत बढाउने योजना बनाएको छ । रामपुर नगरपालिका क्षेत्रमा व्यवसायीक रुपमा सूर्यमुखी फूल र तील खेतीमा कृषक नलागेपनि शौख र घरको सौन्दर्य बढाउन घर वरिपरी आँगनका डिल बारीमा यसको खेती गरिएको कृषि शाखा प्रमुख रामहरी पाण्डेय बताउछन् । व्यवसायीक रुपमा खेती गरेमा यसबाट कृषकले राम्रै आर्थिक लाभ लिन सक्ने उनको भनाई छ ।

विद्यालयको आयस्रोत बढाउन बाँझो रहेका जमिनमा तरकारी, फलफूल लगायतका विभिन्न कृषि बाली लगाउन सकिन्छ । यसरी नै अन्य विद्यालयले पनि पठनपाठनका अलवा कृषिमा जोड दिएर खेती गरेमा आयसं्रोत जुटाउन सजिलो पर्ने रामपुर नगरपालिकाका कार्यपालिका तथा वडा नं ५ का वडा सदस्य सावित्रा गौतमले बताइन् ।

SHARE